जयन्ती चौधरी
तुलसीपुर, २४ कात्तिक । शान्तिनगर गाउँपालिका–५ निवासी ५७ वर्षीया बुधौनी थरूनी हात, खुट्टा, ढाड दुख्ने समस्याबाट पीडित छिन् । बाँके र बुटवलका विभिन्न अस्पतालसम्म पुगेर उपचार गरे पनि उनको समस्या निको भएन । हातखुट्टाको दुखाइले सताएपछि शुक्रवार नेपाली सेनाको रणसिंह दल गणले शान्तिनगर गाउँपालिका–५ बैसामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचार गराउन आइपुगिन् । विशेषज्ञ डाक्टर आउने खबर पाएपछि शिविरमा उपचार गराउन आएको भन्दै उनले भनिन्, ‘शिविरमा स्वास्थ्य जाँचसँगै औषधी पाएकी छु, यसले निको गराउँछ कि भन्ने लागेको छ ।’
यसैगरी दंगीशरण गाउँपालिका–७ सम्त्याना निवासी ६५ वर्षीया माइली थारूनी मृगौलाको समस्याबाट पीडित छिन् । एउटा मृगौला बिग्रिएका र अर्को मृगौलामा पत्थरी छ भने आँखाको पनि उनलाई समस्या छ । आर्थिक अभावका कारण उपचार गर्न नसकिरहेको बेलामा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरले उनलाई राहत मिलेको छ । शिविरमा सहभागी भएर स्वास्थ्य जाँच गराउन पाउँदा आफूलाई राहत भएको उनले बताइन् ।
श्री १९ नं. बाहिनी अड्डाका प्रमुख पदमबहादुर बुढाले नेपाली सेना नागरिकको सेवक भएको बताउँदै, सेनाले नागरिकको हित र सेवामा आफूलाई समर्पित गरेको बताए । उनले नागरिकसँगको घनिष्ठ सम्बन्ध र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै स्वास्थ्य सेवा दिने उद्देश्यले यो निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँगको सहकार्यमा शिविरको आयोजना सम्भव भएकोमा उनले खुसी व्यक्त गरे ।
उनले भने, ‘सेना नागरिकको सेवक मात्र होइन सङ्कटको घडीमा सारथी बनेर सहयोग गर्ने स्थायी साथी पनि हो ।’ स्वास्थ्य शिविरमार्फत् शान्तिनगर र दंगीशरण गाउँपालिकाका बासिन्दाको स्वास्थ्य स्थिति सुधार गर्ने प्रयास गरिएको उनले बताए । यो शिविरले विशेष गरी आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेका, दूरदराजका पहुँचविहीन नागरिकको स्वास्थ्य जाँच र उपचारमा सहयोग पु¥याउने अवसर प्रदान गरेको उनले बताए । उनका अनुसार यस किसिमका कार्यक्रम आयोजनामा सेनाले नागरिकसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आवश्यक सहयोगको हात अघि बढाउने अवसर पाएको छ । शिविरमा विविध क्षेत्रका विशेषज्ञ चिकित्सकको सहयोगले नागरिकलाई स्त्री रोग, छाला रोग, आँखा, दन्त तथा हाडजोर्नीसम्बन्धी स्वास्थ्य सेवा दिइएको र गाउँपालिकाका धेरै बिरामीलाई लाभ पु¥याएको छ ।
बुढाले थपे, ‘यो शिविरले नागरिकको स्वास्थ्य र सेनाको सामाजिक उत्तरदायित्वलाई जोड्ने एउटा पुलको रूपमा काम गरेको छ । सेनाले नागरिकको जीवनस्तर सुधार्न र उनीहरूलाई स्वास्थ्यका लागि सहज पहुँच दिलाउन सधैँ अग्रसर रहँदै आएको छ । हामीले यस क्षेत्रमा बसोबास गर्ने नागरिकको स्वास्थ्यलाई मध्यनजर गरेर यो शिविर आयोजना गरेका हौँ, जसबाट यहाँका नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।’ शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हीिबहादुर पुनले शिविरमा नागरिकको स्वास्थ्य आवश्यकतालाई मध्यनजर गरेर विशेषज्ञ सेवा उपलब्ध गराइएको जानकारी दिए ।
उनले शिविरमा स्त्री रोग, छाला रोग, आँखा, दन्त, हाडजोर्नीलगायतका विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको बताए । शिविरमा १९ जनाको स्वास्थ्य टोलीले सेवा प्रदान गरेको थियो । जसमा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकको सहभागिता थियो । पुनका अनुसार स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सेनाको संयोजनमा स्वास्थ्य टोलीलाई नेपालभरका प्रतिष्ठित संघसंस्थाबाट ल्याइएको थियो । यसले शिविरमा स्त्री रोगको परीक्षण, चर्म रोगको उपचार, आँखा जाँच र दृष्टि सुधार, दन्त स्वास्थ्य तथा हाडजोर्नीसम्बन्धी समस्या समाधानलगायतका सुविधा उपलब्ध गराएको थियो ।
शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले स्थानीय नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर शिविरको आयोजना गरिएको बताए । स्थानीय स्तरमा विभिन्न रोगसम्बन्धी उपचार सहजै उपलब्ध नहुँदा नागरिकले लामो दूरी पार गरेर उपचार गर्न जानु पर्ने बाध्यता झेल्दै आएका थिए र यस शिविरले उनीहरूको आवश्यकता पूरा गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको उनले बताए ।
उनले जटिल अवस्थाका दुई बिरामीलाई आइतवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क अप्रेसन गरिने र अन्य गम्भीर बिरामीका अप्रेसन काठमाडौं मेडिकल कलेज र जिल्लाका अन्य अस्पतालमा गरिने जानकारी दिए । शान्तिनगर गाउँपालिका–५ बैसामा १९ नं. बाहिनी अड्डा र नेपाली सेनाको रणसिंह दल गण भरतपुर, दाङ तथा शान्तिनगर गाउँपालिकाको संयुक्त आयोजनामा भएको एकदिने वृहत स्वास्थ्य शिविरमा सात सय ४२ जनाले सेवा लिएका थिए ।