गोरक्ष समाचारदाता
दाङ, २४ कात्तिक ।आधारभूत विद्यालय गिठेपानी विद्यालयको सुधार तथा विकासका लागि श्रीमद्भागवत् ज्ञानमहायज्ञको आयोजन गरिएको छ । महायज्ञको शुक्रवार एक कार्यक्रमको आयोजन गरेर उद्घाटन गरिएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको आधारभूत विद्यालय गिठेपानीले विद्यालयको सर्वाङ्गीण विकासका लागि श्रीमद्भागवत् ज्ञान महायज्ञ सञ्चालन गरेको हो ।
महायज्ञ कात्तिक २३ देखि ३० गतेसम्म सञ्चालन गरिने विद्यालयले जनाएको छ । विद्यालयमा माध्यमिक तह सञ्चालन, खेलकुदका सामग्री, भौतिक पूर्वाधर निर्माण, अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले जानकारी दिएका छन् । ‘हामीले गुणस्तरीय शिक्षा दिनका लागि आवश्यक सामग्री खरिद गर्ने तथा पूर्वाधार विकासका लागि महायज्ञ सञ्चालन गरेका हौँ’, अध्यक्ष वलीले भने ।
विद्यालयको अन्य आम्दानीको स्रोत नहुँदा दाताको भरमै विद्यालय सञ्चालन गर्नु पर्ने बाध्यता रहँदै आएको छ । विद्यालय सबैको भएकाले सहयोगको अपेक्षा रहेको उनले बताए । विद्यालयको आम्दानीको स्रोत नहुँदा विद्यालय सञ्चालनमा समस्या हुदै आएको अध्यक्ष वली बताउँछन् । विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भए पनि साधन स्रोतको कमी रहेकाले स्रोत जुटाउन महायज्ञको आयोजना गर्न थालेको विद्यालयले जनाएको छ । स्रोत व्यवस्थापन गरेर विद्यालयको विकासमा अगाडि बढिने उनको भनाइ छ । महायज्ञका कथा वाचक पं अमृतशरण देवाचार्य रहेका छन् ।
महायज्ञ उद्घाट कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमका सहभागीले विद्यालयको विकासका लागि थालेको यो अभियानमा आ–आफनो स्थानबाट सबैले सहयोग गर्नु पर्ने बताएका थिए । सबैको सहयोग रहे मात्र विद्यालयको विकास गर्न सकिने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख नारायणप्रसाद पौडेल, महायज्ञका कथावाचक पं अमृतशरण देवाचार्य, मात्रिकाप्रसाद पाण्डेलगायतले भनाइ राखेका थिए । विद्यालयका प्रधानाध्यापक गिरिप्रसाद भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण भरतमणि पौडेलले गरेका थिए । उद्घाटनपूर्व विभिन्न झाँकी सहित ¥याली निकालिएको थियो । विद्यालयबाट सुरु भएको ¥याली भरस्थान, पुलचोक, बजारका विभिन्न भागको परिक्रममा गरी आर्मी व्यारेक, ढोडेनी, फुर्सेखाली हुँदै विद्यालयमा पुगेको थियो ।