अन्धोपन न्यूनीकरणका विषयमा कार्यशाला

गोरक्ष समाचारदाता
तुलसीपुर, २२ कात्तिक । अन्धोपन न्यूनीकरणका विषयमा तुलसीपुरमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आयोजनामा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको अन्धोपन न्यूनीकरणका विषयमा एकदिने कार्यशाला गोष्ठी भएको हो ।

कार्यक्रममा सहभागीले कर्णाली र लुम्बिनीमा अन्धोपन न्यूनीकरणका लागि दातृ निकायले सहयोग गरेको भन्दै थप सहयोग आवश्यक रहेको बताएका थिए । दातृ निकाय सिबिएम अस्ट्रेलियाका प्रतिनिधि जता, नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्त, केन्द्रीय सदस्य आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी तथा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, सिबिएमका प्रतिनिधिलगायतको सहभागिता रहेको गोष्ठमा अन्धोपन न्यूनीकरणका लागि भावि योजना, हाल गरिएका प्रयास र कामका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शम्शेर थापाले नेपाल नेत्रज्योति संघ तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज र आँखा उपचार केन्द्रहरूले लुम्बिनी र कर्णाली प्रदेशमा हालसम्म पु¥याएका सेवाबारे जानकारी गराएका थिए । उनले अन्धोपन न्यूनीकरणका लागि गरेका कामबारे जानकारी गराएका थिए । गोष्ठीमा सिबिएम नेपालका राजेश मरासिनीले हालसम्म गरेका कार्यक्रम र भावि योजनाको विषयमा गोष्ठीमा जानकारी गराएका थिए । उनले हालसम्मका उपलब्धि र भावि कार्यक्रमका विषयमा पनि जानकारी दिएका थिए ।

कार्यक्रममा दातृ निकाय सिबिएम अस्ट्रेलियाका प्रतिनिधि जताले कर्णाली प्रदेशमा आँखा तथा कान स्वास्थ्य सेवाका लागि आफूहरूले कार्यक्रम लागु गरेको भन्दै आगामी दिनमा पनि कार्यक्रमलाई बढाउँदै लैजान योजना रहेको बताइन् । उनले नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल र अन्य अस्पतालसँग सहकार्य गरी कार्यक्रमलाई थप प्रभावकारी बनाउन आफूहरू तयार रहेको बताइन् ।

कार्यक्रममा भावि योजनाको विषयमा विस्तृत रूपमा छलफल भएको थियो । यसैगरी नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले नेपाल नेत्रज्योति संघले विभिन्न दातृ निकायसँग सहयोग जुटाएर आँखा तथा कान स्वास्थ्य अस्पताल र उपचार केन्द्रहरूमार्फत् नेपालका विभिन्न जिल्लामा गएर नागरिकलाई सेवा दिएको बताए । उनले कर्णाली र लुम्बिनीको अन्धोपन न्यूनीकरणका लागि भएको छलफल उपलब्धिमूलक हुने अपेक्षा व्यक्त गरे । उनले विभिन्न स्थानमा उपचार केन्द्र स्थापना गरेर आँखाको सहज उपचार सेवा पु¥याउन आफूहरू लागेको बताएका थिए ।

यसैगरी नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीले आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत विभिन्न सहयोगी दातृ निकायहरूसँग सहकार्य गरी आफुहरूले अन्धोपन न्यूनीकरणको अभियानमा लागिरहेको भन्दै आगमी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गरे । उनले लमही आँखा अस्पतालमा कान अस्पताल र राप्ती आँखा अस्पताललाई थप विशिष्टीकृत सेवा प्रवाह गर्ने अस्पतालको रूपमा विकास गर्ने योजना रहेको भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताएका ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशका प्रमुख मानबहादुर कुवँर, नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्का, सहकोषाध्यक्ष प्रणवकुमार खड्का, सदस्य शारदा चौधरी, ध्रुव गौतम, लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक लीला शाहलगायतले सुझाव राखेका थिए ।