आफैँलाई रेडियोमा सुन्दा …

कानै छोपिने गरी टाउकोमा हेडफोन, शान्त स्टुडियो, जहाँबाट मेरो आवाज तरङ्गमार्फत् श्रोतामाझ पुगेको थियो । सायद मेरो सबैभन्दा खुसीको अविस्मरणीय क्षण त्यही दिन थियो । तिथि र मिति त हेक्का छैन अहिले, सायद विसं २०७० को वैशाख महिनाको पहिलो साता हुनु पर्छ ।

मेरो सानैदेखि रेडियो सुन्ने बानी । खोल हालेर जतनसाथ राखिएको फिलिप्स रेडियो घरमै थियो । हामी बुवाआमा तथा उपलब्ध भएका परिवारसँगै बसेर रेडियो सुन्थ्यौँ । त्यसमा पनि एफएम रेडियो बढी सुन्ने । रेडियो हाम्रो पहुँच सुन्दै थियौँ । एउटा सूचना सुन्यौँ, हाम्रो पहुँच रेडियोमा पत्रकारिता तथा उद्घोषण तालिम खुलेको । मलाई पनि रेडियोमा बोल्ने रहर, बुवाआमाको पनि छोरीलाइ उद्घोषण कला सिकाउने चाहना । म र मेरा अभिभावक बुवाआमाको पनि चाहना मिलेपछि मलाई बुवा उमेश भुसालले दुई हजार रुपैयाँ दिएर तालिम लिन पठाउनु भयो । त्यो पैसा फर्म शुल्क थियो ।

विसं २०६९ चैत महिनामा मैले एसएलसी दिएर बसेकी थिएँ । एसएलसीको रिजल्ट आउँदासम्मको खाली समय केही गरौँ भन्ने लागेको थियो । त्यही क्रममा म बुवाले दिएको दुई हजार रुपैयाँ लिएर तुलसीपुरको हाम्रो पहुच रेडियोमा पुगेँ । फर्म भरिसकेपछि हामी ४० जना तालिममा सहभागी भयौँ ।

त्यसपछि रेडियोमा बोल्न स्वर परीक्षण गर्दा म टप–१० भित्र परेँ अर्थात् स्वर परीक्षामा पास भएँ । त्यसको करिब दुई सातापछि मलाई बाल कार्यक्रम चलाउन दिइयो । सुरु–सुरुमा त कार्यक्रम रेकर्ड गरेर प्रशारण गर्न भनियो । मेरो कार्यक्रम रेकर्ड भयो । साँझ ५ बजे रेडियो हाम्रो पहुचमा प्रशारण हुने अघिल्लै दिन निश्चित भइसकेको थियो । यो खबर मैले घरमा पनि सुनाइसकेकी थिएँ ।

त्यो दिन मेरो घरमा रहेको फिलिप्स रेडियोमा नयाँ ब्याट्री फेरिएको थियो । घरपरिवारलगायतका आफन्त मेरो स्वर रेडियोमा सुन्न घरमा रेडियो खोलेर जम्मा हुनुभएको थियो । जब मेरो स्वर अनएयर भयो त्यो नै मेरो सबैभन्दा खुसीको क्षण थियो । लेखिदिनुहोला मेरो खुसी रेडियोमा आफैँलाई सुन्दा … ।

किनकि मलाई रेडियोमा सुनिने अधैर्य प्रतीक्षा थियो । त्यसो त मेरा धेरै अविस्मरणीय क्षण पत्रकारितासँगै जोडिएका छन् । तिथि मिति त अहिले मलाइ याद छैन । रेडियोमा काम गर्दागर्दै मैले पत्रपत्रिकामा पनि भोलेन्टियरका रूपमा समाचार पठाउन थालेँ । जुन बेला मेरा समाचार गणतन्त्र राष्ट्रिय दैनिक र तुलसीपुर अनलाइनमा छापिन्थे । मैले लेखेको ग्वारखेलामा गिट्टी कुट्ने वृद्धको कथा ।

जुन अत्यन्तै मार्मिक थियो । त्यो समाचार गणतन्त्र दैनिक पत्रिकाको पहिलो पानामै ठुलो साइजमा छापिएको थियो । त्यो पत्रिकामा छापिएको कटिङलाई मैले अझै पनि लेमिनेसन गरेर सुरक्षित राखेकी छु । भोलिपल्ट तुलसीपुर अनलाइनमा पनि प्रकाशन भयो । ती गिट्टी कुट्ने वृद्ध आमा पनि मेरो पत्रकारिताकी प्रेरणाकी स्रोत हुन् । जसका कारण म विगत १० वर्षदेखि निरन्तर पत्रकारितामा जोडिएकी छु । पैसा धेरै नभए पनि आत्मसन्तुष्टि र समाजसेवाको अनुभूति भइरहेको छ, पत्रकारितामा मलाई ।

त्यसो त पत्रकारितामा पैसा छैन भन्ने थियो तर पनि मलाई त्यस्तो कहिल्यै अनुभूति भएन । मैले त्यो बेला रेडियोमा साप्ताहिक बाल कार्यक्रम चलाएको एक वर्षपछि स्टेशन म्यानेजरले मलाई एकमुष्ठ २० हजार रुपैयाँ पारिश्रमिक दिनुभएको थियो । जुन कमाइ मैले घरमा लगेर बुवालाई बुझाएँ । किनकि त्यो मेरो पहिलो कमाइ थियो, जुन कमाइको प्रेरणाको स्रोत मेरो बुवा नै हुनुहुन्थ्यो । केही पैसाको मिठाइ पनि किने र घरछिमेकमा बाँडेकी थिएँ ।

मैले सुरुमा बाल कार्यक्रम चलाएकी थिएँ । मलाई त्यो बेला प्रशिक्षण दिने हाम्रो पहुँचकै टिम हुनुहुन्थ्यो । सुरुमा भोलेन्टियरकै रूपमा काम गरेका थियौँ । त्यसपछि केही पारिश्रमिक लिएकी थिएँ । त्यसो त मेरो पत्रकारिताको प्ररणाको स्रोत भनेकै मेरा बुवा उमेश भुसाल र आमा गंगा भुसाल नै हुनुहुन्छ । किनकि उहाँहरूले नै मलाई अहिले यो अवस्थामा ल्याउनु भयो । त्यही काम गर्दागर्दै मैले बिना पारिश्रमिक पत्रिकामा समाचार पठाउँथे ।

त्यसो त त्यो बेला पत्रिकामा बाइलाइन समाचार आउँदाको खुसी नै बेग्लै हुन्थ्यो । जुन ताकाका पत्रिकाका कटिङ अझै सुरक्षित राखेकी छु । त्यसो त रेडियोमा पनि पत्रिकामा छापिएको समाचार रेडियोबाट पनि प्रसारण हुन्थ्यो । त्यो आफूले लेखेको समाचार फेरि रेडियोले पड्दाको खुसी पनि बेग्लै हुन्थ्यो । मलाई लाग्दै छ पत्रकारिता पनि एउटा नसा रहेछ । हत्पत्ति छाडिहाल्न नसकिने रहेछ । अहिले यही नसामै छु, अर्थात् पत्रकारिताको नसामा ।

पत्रकारितालाई अगाडि बढाउँदै जाँदा मलाई पत्रकार महासंघ दाङ शाखाले अघिल्लो साल वर्ष उत्कृष्ट महिला पत्रकारिता पुरस्कारबाट सम्मानित ग¥यो । त्यो पनि मेरो खुसीको अविष्मरणीय क्षण हो । यही सिलसिलामा म पत्रकार महासंघको कार्यसमितिमा निर्वाचित भएँ । मलाई कार्यसमिति सदस्य बन्न हौस्याउने अग्रज पत्रकार प्रेस युनियनका सबैसबैलाई नमन गर्न चाहन्छु ।

किनकि कार्यसमितिमा पुगेपछि हामीले कम्तिमा पत्रकार महिलाका समस्र्या राख्न सक्ने भएका छौँ । पेसागत मर्यादाका कुरा र पत्रकार आचारसंहिताका विषयमा पनि केही कुरा राख्ने अवसर पाएका छौँ । लेखिदिनुहोला मेरो खुसी पत्रकार महासंघ । पत्रकार महासंघ दाङ शाखाको कार्यसमिति सदस्य चुनिन १६ जना खुल्ला सदस्यमध्येमा प्रतिस्पर्धामा मैले पनि सम्मानजनक मत ल्याएर विजयी भएकी थिएँ ।

माथि उल्लिखित खुसीका अविस्मरणीय क्षण हुन्, क्रियाशील महिला पत्रकार यमकला भुसालका । फरककोण अनलाइन र गवणतन्त्र राष्ट्रिय दैनिकमा आबद्ध यमकला भुसाल हाल पत्रकार महासंघ दाङको कार्यसमिति सदस्य हुन् । प्रेस युनियन दाङमा पनि उनी सक्रिय रूपमा क्रियाशील छिन् । अर्घाखाँचीको मालारानी गाउँपालिका—९ माझाहल्देमा विसं २०५५ सालमा जन्मिएकी एमकलाले प्राथमिक शिक्षा सोही गाउकै श्री माध्यमिक विद्यालय देउरालीमा थालिन् ।

कक्षा ६ मा पढ्दै गर्दा उनको परिवार दाङ बसाइँ स¥यो । त्यसपछि उनको माध्यमिक तहको पढाइ मावि कालाखोलामा । स्नातक तहको पढाइ राप्ती बबई क्याम्पस तुलसीपुरबाट पूरा गरिन् । भन्छिन्, खुसी भनेकै आत्मसन्तुष्टि र समाजसेवा रहेछ । पत्रकारिताले मलाइ यी दुवै थोक दिएको छ ।

प्रस्तुति : खेमराज रिजाल