Goraksha

National Daily

आर्थिक अभावले आँखा उपचार सेवाबाट कोही पनि वञ्चित हुँदैन : अध्यक्ष पन्त [अन्तर्वार्ता]

नेपाल नेत्रज्योति संघ एक गैरनाफामूलक संस्थाको रुपमा २०३५ सालमा स्थापना भएको हो । नेपालको आँखा स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ । नेपाल नेत्रज्योति संघ नेपालको आँखा स्वास्थ्य सेवालाई स्वदेश र विदेश दुवैमा सराहना गरेको पाइन्छ । स्वास्थ्य सेवाको क्षेत्रमा मुलुकले हासिल गरेको सबै भन्दा ठुलो उपलब्धि नै आँखा स्वास्थ्य सेवामा महत्वपूर्ण विकास र विस्तार हो । आँखा स्वास्थ्य सेवा पु¥याउन नेपालमा नेत्रज्योति संघले तथा अन्य संघसंस्था, सरकार, समाजसेवी, दातृ निकाय, चिकित्सक, कर्मचारीको योगदान पनि धेरै छ ।

पहिले नेपालीहरु आँखा उपचारका लागि भारत नै जाने गर्दथे भने आर्थिक अवस्था कमजोर भएकाहरु उपचार नपाएर दृष्टिविहीन भई जीवन कष्टपूर्ण बिताउनु पर्ने समस्या थियो तर अहिले नेपालमा नेपाली र छिमेकी राष्ट्रका नागरिकले नेपालमै विशेषज्ञ सेवा पाइरहेको अवस्था छ । यसै विषयमा नेपालको आँखा स्वास्थ्य सेवा र नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सेवामा पु¥याएको योगदान तथा आँखा स्वास्थ्यसम्बन्धी नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तसँग बालाराम खड्काले गरेको कुराकानीको सार सङ्क्षेप ।

 स्वागत छ यहाँलाई साता वार्तामा ?

 आँखा स्वास्थ्य सम्वन्धी आफ्ना कुराहरू राख्न दिनुभएकोमा यहाँ अनि यहाँको पत्रीकालाई धन्यवाद ।

 आँखा स्वास्थ्य सेवामा कहिलेदेखि लाग्नुभयो, नेपालमा आँखा स्वास्थ्य सेवाको विगतको अवस्था कस्तो थियो ?

 म आँखा स्वास्थ्य सेवामा सन् १९८२ देखि निरन्तर लागिरहेको छु । नेपाल नेत्रज्योति संघको पहिलो आँखाको डाक्टर म नै हो, तत्कालीन सुदूरपश्चिम अञ्चलको गेटमाबाट मैले सेवा सुरु गरकेो थिएँ । अहिले जस्तो पहिले नेपालमा आँखाको सहज उपचार सेवा थिएन । म नेपाल सरकारबाट छात्रबाट अध्ययन गरेको थिएँ । विगत भन्नु पर्दा नेपालमा आँखा स्वास्थ्य सेवा थिएन, मुलुकको यस्तै परिस्थितिमा डा. रामप्रसाद पोख्रेल आँखामा एफआरसीयस पूरा गरी काठमाडौं फकर्नुभयो ।

आँखा स्वास्थ्यमा उच्च शिक्षा अध्ययन गरी नेपाल फर्केपछि डा. पोख्रेलले वीर अस्पतालमा सेवा सुरु गरे । विसं २०३० सालमा नेपाल आँखा अस्पताल स्थापना भए तापनि नेपालमा आँखाका बिरामी र दृष्टिविहीनको चाप अत्यधिक रहेको र आँखा सेवाको उपलब्धता अत्यन्त न्यून रहेको तथा सरकारी क्षेत्रको प्रयासबाट मात्र आँखा उपचार सेवामा आम नेपालीको पहुँच सर्वसुलभ हुन नसक्ने कुरालाई मध्यनजर गरी प्राडा रामप्रसाद पोख्रेलको सक्रियता र अग्रसरतामा तत्कालीन समाजसेवीको प्रयासबाट नेपाल आँखा अस्पतालकै कार्यकारिणी पदाधिकारी भई नेपाल आँखा अस्पताललाई पनि त्यसै अन्तर्गत रहने गरी तात्कालीन ‘सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्’ले नेपाल नेत्रज्योति संघको विधान स्वीकृत भई विसं २०३५ साल चैत्र १३ गते एक मुनाफारहित परोपकारी गैरसरकारी संस्थाको रूपमा नेपाल नेत्रज्योति संघको स्थापना भयो ।

दुर्गम तथा दूरदराजका नेपालीको सेवाका लागि आँखा सेवाको सुविधा पु¥याउने उद्देश्यले नेपाल नेत्रज्योति संघको स्थापनाको दोस्रो वर्षतिर सन् १९८०÷१९८१ मा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको कार्यक्रमको सहयोगमा विश्वकै पहिलो पटक राष्ट्रिय अन्धोपन सर्वेक्षण सुरु भयो । यो सर्वेक्षणको परिणामपछि नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सेवाको गुरुयोजना निर्माण गरी जिल्ला–जिल्लामा अञ्चलस्तरीय सेवा विस्तार सुरु गरेका थियौँ ।

सन् १९८० पछि स्थापित सबै आँखा अस्पतालहरू नेपाल नेत्रज्योति संघको पहलमा नै स्थापित भए । नेपालमा विश्वस्वास्थ्य संगठनको सहयोगमा सन् १९८०÷१९८१ को वृहत अन्धोपनको सर्वेक्षणपश्चात् सन् १९८० र १९९० को बिचमा आँखा सेवाको विकास विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा योजनाबद्ध तरिकाले भएको थियो । यो विकास अहिले पनि चलि नै रहेको छ । नेपाल नेत्रज्योति संघ, स्थानीय समुदाय, नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको अन्धोपन निवारण तथा नियन्त्रण कार्यक्रम, राष्ट्रिय गैरसरकारी संस्थाले एकसाथ काम गरेको र संयुक्त प्रयासले आजको सफलता प्राप्त भएको छ ।

 नेपाल नेत्रज्योति संघले हाल नेपालमा कति प्रतिशत आँखा स्वास्थ्य सेवाको क्षेत्र ओगटेको छ ?

 नेपाल नेत्रज्योति संघले अहिले करिब ८० प्रतिसत सेवा दिएको छ । नेपाल सरकारले नेपाल नेत्रज्योति संघलाई विश्वास गरेर आँखासम्बन्धी सेवा प्रवाह गर्न अनुवद्ध दिएको छ । यसमा नेपाल नेत्रज्योति संघ विगत ४६ वर्षदेखि सहज, सुलभ र गुणस्तरीय आँँखा स्वास्थ्य सेवाको माध्यमबाट मुलुकमा विद्यमान अन्धोपनको समस्यालाई न्यूनीकरण गर्ने अभियानमा क्रियाशील रहेको छ । नेपाल नेत्रज्योति संघले विभिन्न दातृ निकायहरूसँग सहयोग जुटाएर सेवा दिइरहेको अवस्था छ । त्यसमा नेपाल सरकारको साथ र सहयोग पनि प्राप्त भइरहेको छ ।

 हाल नेपालमा कतिवटा आँखा अस्पताल र उपचार केन्द्रबाट सेवा दिइरहनु भएको छ ?

 हालसम्म आइपुग्दा २८ वटा आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र तथा ४३ वटा जिल्लामा नेपाल नेत्रज्योति संघको शाखा सञ्चालनमा छन् । नेत्रज्योति संघको ७५३ वटा पालिकामा आँखा स्वास्थ्य सेवा पु¥याउने लक्ष्य हो । हालसम्म जम्मा २२० स्थानमा मात्र सेवा पु¥याएको छ तर लक्ष्य अनुरूप सेवाको विस्तारमा लागिरहेका छौँ ।

 हालसम्म कतिलाई सेवा दिनुभयो, आँखासँगै कान सेवा पनि सुरु गर्नुभएको छ नि ?

 हो, हामीले हालसम्म नेपाली र अन्य देशका नागरिक गरी करिब साढे चार करोड जनालाई आँखा उपचार सेवा प्रवाह गरेका छौँ । साथै हामीले पछिल्लो समयमा संघले आँखासम्बन्धी विशेषज्ञ उत्पादनमा समेत विशेष ध्यान दिँदै आएको छ । संघको यस प्रयासले आँखाको जनशक्तिमा संघ क्रमशः आत्मनिर्भरतातर्फ उन्मुख हँुदै गएको छ । विसं २०६९ देखि संघले कानसम्बन्धी उपचार सेवा पनि प्रवाह गरेको छ । संघले विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा सन् २०२१ मा नेपालमा अन्धोपनको पछिल्लो अवस्थाको जानकारी प्राप्त गर्न ¥यापिड एसेस्मेन्ट अभोइडेबल ब्लाइन्डनेस सर्भे गरेको थियो ।

उक्त सर्भेको निष्कर्ष अनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को ०.८४ प्रतिशतबाट घटेर सन् २०२१ मा ०.२८ प्रतिशतमा झरेको पाइयो । जनसङ्ख्या वृद्धि, नयाँ–नयाँ किसिमका रोगहरू देखा पर्नु, नेपालीको औसत आयुमा बढोत्तरी आदि कारणले अन्धोपन न्यूनीकरणमा अझ चुनौती थपिँदै छन् । नेपाल सरकारको सहयोगमा नेपाल नेत्रज्योति संघले राष्ट्रिय ट्रकोमा कार्यक्रम सञ्चालन गरी नेपाललाई विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाली क्षेत्रमै जनस्वास्थ्य समस्याको रूपमा रहेको ट्रकोमा निवारण गर्ने पहिलो देशको रूपमा सम्मानित हुने अवसर प्राप्त गरेको छ ।

यो उपलब्धि संघको मात्र नभएर नेपाल सरकारकै उल्लेखनीय उपलब्धि रहेको छ । साथै आँखा स्वास्थ्यको क्षेत्रमा नोवेल पुरस्कार मानिने ‘चम्पालिमोड अवार्ड’ जस्ता अन्तर्राष्ट्रिय पुरस्कारद्वारा संघ सम्मानित हुनु पनि गर्वको कुरा हो । संघले विभिन्न समयमा अनुसन्धान कार्य गराउँदै आएको छ । कतिपय यस्ता अनुसन्धानले राष्ट्रिय स्वास्थ्य नीति निर्माणमा समेत उल्लेखनीय योगदान गरेका उदाहरण छन् ।

 तपाईँ भर्खरै आइएवीपीको बोर्ड अफ ट्रस्टीमा निर्वाचित हुनुभएको छ, यसलाई कसरी लिनुभएको छ ?

 हो, म इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ व्याइन्डनेस (आइएपीबी) को बोर्ड अफ ट्रस्टीमा निर्वाचित भएको छु । विश्वभरका २५० भन्दा बढी सदस्य संस्थाहरू सहगभागी भएका थिए । विश्वभरका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूको छाता संगठनका रूपमा रहेका आइएपिबीले अन्तर्राष्ट्रिय रूपमा आँखा स्वास्थ्यको क्षेत्रको वकालत गर्दै आइरहेको छ । यस्तो संस्थामा सरिक हुन पाउनुलाई अवसरको रूपमा लिएको छु र आइएपिबीको संलग्नाबाट आँखा स्वास्थ्य सेवालाई माथि उठाउनतर्फ सदा तत्पर रहनेछु ।

 अन्त्यमा केही भन्नु छ कि ?

 मेरा कुरा आम पाठक सामु राख्ने यो अवसर दुराइदिनुभएकोमा तपाईँ र तपाइँको पत्रिकार परिवारलाई धन्यवाद दिन्छु । हाम्रो लक्ष्य, उद्देश्य भनेको अन्धोपन न्यूनीकरण गर्नु हो । पैसाको अभावले औषधोपचार नपाएर कोही पनि नेपाली नागरिक अन्धोपनको शिकार नहोस् भन्ने हो । यही अभियानमा लागेका छौँ, यसमा सबैको साथ र सहयोगको अपेक्षा गर्छु । स्वदेश तथा विदेशमा आँखा स्वास्थ्य सेवाका लागि उदाहरणीय सावित भएका छाँै र पनि यसलाई अझ प्रभावकारी बनाउने प्रयासमा छौँ । नेपाल नेत्रज्योति संघ सन् २०३० सम्ममा औषधीबाट उपचार हुन सक्ने अन्धोपन निवारणको प्रयासमा निरन्तर लागेको जानकारी गराउँछु ।