Goraksha

National Daily

दाङमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

घोराही,१४ कात्तिक । चाडपर्वको समयमा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले रातीको १० बजेसम्म मात्र देउसी–भैलो खेल्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले दीपावलीको अवसरमा जिल्लामा देउसी–भैलो खेल्ने समुहलाई राति १० बजेसम्म मात्र खेल्न अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बुधबार सूचना प्रकाशित गर्दै दीपावली पर्वका अवसरमा राति १० भन्दा पछि देउसी–भैलोलगायत नाचगान कार्यक्रम नगर्न आग्रह गर्नुभएको छ ।

त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी पुनले देउसी–भैलो तथा नाचगानका नाममा सार्वजनिक यातायात र जनजीवनमा असर नपर्ने गरि खेल्न आग्रह गर्नुभएको छ । जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई कडाई गर्दै चाडपर्व मनाउँदा शान्ति सुरक्षा र सुव्यवस्थित समाज कायम राख्न सवैलाई आग्रह गरेको छ ।

प्रशासन कार्यालयले पटका, आतिशबाजी, विष्फोटक पदार्थको उत्पादन, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउनका साथै मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, झगडा, जुवा तथा तास जस्ता अवैध गतिविधिहरूमा संलग्न नहुन नागरिकहरुमा अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी पुनले जानकारी दिनुभएको छ ।

भैलो तथा देउसीको नाममा कुनै पनि व्यक्ति वा संस्थाले जबर्जस्ती आर्थिक दबाब नलिन समेत आग्रह प्रशासनले गरेको छ ।