गोरक्ष समाचारदाता
दाङ, १४ कात्तिक । दाङको प्रशिद्ध धार्मिक स्थलका रूपमा रहेको पर्यटकीय गन्तव्यका रूपमा रहेको बाह्रकुने दहको विकास गर्न चार वर्ष अघि लुम्बिनी प्रदेश सरकारले छ करोड छ लाख रुपैयाँ बजेट विनियोजन ग¥यो । दहमा रहेको ताललाई ठुलो बनाउने, जैविक पार्क निर्माण गर्ने तथा मन्दिर निर्माणका लागि विनियोजन भएको रकमले स्थानीयको असहमतिका कारण लक्षित काम हुन सकेन तर दुई वर्षसम्म काम सम्पन्न गर्ने गरी चयन भएको योजनाको काम सम्पन्न गर्न पटक–पटक म्याद भने थप भइरहेको छ । बाह्रकुने दहमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले चार वर्ष अघि छनोटमा रहेको योजनालाई निरन्तरता दिन वर्तमान प्रदेश सरकारले चासो राखेको छ ।
यहाँ निर्माण हुने भनिएका संरचनाको निर्माणमा भइरहेको ढिलाइबारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सिँचाइ मन्त्री सीता चौधरीले जानकारी लिन स्थलगत अनुगमन समेत गरेका छन् । दह परिसरको स्थलगत अनुगमन गर्दै विवाद नहुने ढङ्गबाट काम गर्न उनीहरूले सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । ‘प्रदेश सरकारबाट छनोटमा परेको यो योजनाको काम स्थानीयको विमतिका कारण ढिलाइ बन्दै आएको अवस्था रहेछ’, उद्योग, पर्यटन तथा यातायात मन्त्री न्यौपानले भने, ‘जिल्लामा पर्यटक भित्राउन सकिने बाह्रकुने दहको विकासका लागि कसरी काम गर्न सकिन्छ ?
कसरी चार वर्ष अघि बनेको योजना अनुसार काम गर्न सकिन्छ ? भन्ने विषयमा छलफलका लागि मुख्यमन्त्रीज्यूलाई समेत स्थलगत अनुगमन गराएर समस्याको निकासका लागि पहल गरेका हौँ, स्थलगत अध्ययन र छलफलबाट यो कामलाई गति दिने र यो वर्षभित्रै योजना निर्माणको काम सम्पन्न गर्ने सहमति भएको छ ।’ मन्त्री न्यौपानेका अनुसार चार वर्ष अघि बनेको योजना अनुसार दह परिसरमा तालको आकार फैलाउने भन्ने थियो तर दहको आकार बदलिँदा बाह्रकुनेको ऐतिहासिक महत्व नासिने भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । यही विरोधका कारण चार वर्ष अघिको डिपिआर अनुसार काम नहुने भएकाले काममा बिलम्व हुँदै आएको थियो तर वर्तमान सरकारले दह परिसरमा रहेको तालको आकार नफेरिने गरी बाँकी कामहरू गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । त्यसका लागि कानुनी बाटो सहज बनाउने काम सरकारले गर्ने भएको छ ।
अनुगमनमा पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताए । निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिँदै उनले ढिलासुस्तीलाई नसहने स्पष्ट पारे । पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने, अटेरी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गरिने समेत चेतावनी समेत दिए । बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना अघि बढे पनि त्यो कामले गति नलिएबारे स्थलगत अनुगमकनका लागि मुख्यमन्त्री आचार्य पुगेका हुन् ।
‘निर्माण व्यवसायीको आफ्नो इज्जत र प्रतिष्ठा बचाउनको निमित्त पनि यो काम समयमा सम्पन्न गर्नु पर्छ’, उनले भने ‘काम नगरेका कारण सरकारले निर्माण व्यवसायीलाई कालोसूचीमा राख्छ । त्यसैले समयमा काम सक्नुस् ।’ उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन डिभिजन कार्यालयबाट छ करोड छ लाखमा निर्माणको अघि बढेको हो । नागाअर्जुन÷शिव निर्मल जेभी सल्यानले जिम्मेवारी पाएको थियो । बहुउदेश्यीय पार्क अन्तर्गत दहको मूलगेट, ड्यामलगायतका पूर्वाधार निर्माणको काम गर्ने गरी सम्झौता गरिएको थियो तर निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम अघि बढाउन नसकेको गुनासो आएपछि मुख्यमन्त्री र विभागीय मन्त्रीले यसबारे गम्भीर चासो दिएका हुन् ।
लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर एक आपसमा जोड्ने सङ्कल्प प्रदेश सरकारले लिएको छ । त्यही सङकल्प अन्तर्गत पर्यटन पूर्वाधारहरूको निर्माण गरिन थालिएको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलमा पु¥याउने र धेरै दिनको भ्रमण गराउने गरी पर्यटन सर्किटको अवधारणा अघि सारिएको हो । प्रदेश सरकारले यस वर्ष घुमौँ बर्दियाको अभियान पनि चलाएको छ । उद्योग, पर्यटन तथा यातायातमन्त्री न्यौपानेका अनुसार अब यो पर्यटकीय स्थलमा पार्क, मन्दिरसँगै ड्याम निर्माणको काम हुने छ ।
डुङ्गा सञ्चालन गर्ने गरी ड्याम निर्माण हुनेछ भने जङ्गली जनावर अवलोक गर्न सकिने गरी पार्क निर्माणको काम यसै वर्ष सम्पन्न गरिने छ । घोराही–१३ मा रहेको बाह्रकुने दह दाङको प्रमुख धार्मिक गन्तव्य मध्यको एक हो । जिल्लाको प्रमुख पिक्निक थलोसँगै धार्मिक महत्व बोकेको यो स्थलमा आन्तरिक पर्यटकको भिड रहने गर्दछ । यहाँ माघमा ठुलो मेला समेत लाग्ने गर्दछ । आन्तरिकसँगै बाह्य पर्यटकलाई समेत भित्राउन सकिने गरी यो दह क्षेत्रको विकासका लागि प्रदेश सरकारले योजना बनाएको हो ।