देउसी–भैलोसँगै भित्रिएको तिहार पर्व र नेपाल संवत् ११४५

ऋतुको परिवर्तनसँगै सशन्त, शीतल र प्रकृतिको सुन्दरता बोकी हिन्दूहरुको दोस्रो महान पर्व शुभदीपावली÷तिहार (यमपन्चक) हाम्रो घरआगन मा भित्रिएको छ । सामाजिक सद्भाव कायम गरी एकअर्का बिच आपसी विश्वास र भरोसा राख्दै मनाइने उज्यालो पर्व तिहार, भाइटीका म्हःपूजा नेपाल सम्बत र छठ पर्व २०८१ बिछोडपछिको मिलनको साइत मिलाउँदै खुसी साथ रमाउँदै भित्रिएको छ । दाजुभाइले दिदीबहिनीप्रति निभाउनु पर्ने दायित्वबोध गराउँदै विश्वासको धरातल बलियो बनाउन आएको यस खुसियालीको पर्व र नेपाल संवत् ११४५ को सुखद् अवसरमा सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना ।

गर्मी र वर्षा ऋतुले सरिरमा ल्याएको सिथलता हटाइ सरिरमा ःस्फूर्त जगाउन तथा जिवनमा अपनाउनु पर्ने आत्म सत्यको पहिचान सङ्गै गतिसिल जिवनको पवित्रता बोध गराउन यो पर्व सबैको प्रेरणाको स्रोत बनोस् । शरीरमा नया उत्साहा र उमङ्ग जगाउँदै खेतको गहरामा झुलेका धानका बाला काट्दै घरभित्र भिœयाउँदै थाकेको शरीरमा शक्तिको सञ्चय गर्न यो पर्व हाम्रो मनमन्दिरमा खुसी र आनन्द लिएर आएको छ । यसैगरी वर्षभरि खाने अन्न भण्डारनपछि परिवार, समाजमा नयाँ उत्साहको सञ्चार गराउँदै आपसी प्रेम र स्नेह जगाउन कोशेढुङ्गा सावित होस् ।

विगत वर्षमा गरिएका कर्म र व्यवहारले आजसम्म सामाजिक संस्कार र संस्कृतिमा के–कति निखार आयो, सद्भाव कायम गर्न के–कति मलजल भयो त्यसको समीक्षा गर्दै अब हामी सबैले यस पर्वलाई मिरमिरेलाई चिर्दै उदाउँदो सूर्यको उज्यालो, न्यानो तथा पवित्र आत्माको सुन्दर पक्षको आत्मचिन्तन गरी मनाउनु परेको छ । घरआँगन कोठाचोटा, सडक–गल्ली सबैतिर सफा गराउँदै सुन्दर बगैँचा सरी सामाजिक परम्परालाई जीवनको मार्गनिर्देशनको रुपमा मनाउन परेको छ । स्वच्छ, सफा, हराभरा मनमोहक प्रकृतिको रसस्वादन गर्दै रमाउनु परेको छ । एकले अर्काको चियोचर्चामा नभई आपसी सुमधुर सम्बन्ध बढाउँदै मनाउनु परेको छ ।

लामो समयको पर्खाइपछि वर्षमा एक पठक आउने भाइटीका सबैको मनमा खुसी लिएर आएको छ । देउसी र भैलीको रमाइलो क्षणलाई आमन्त्रण गर्दै, नाच्दै–गाउँदै हाम्रो आँगन रमाइलो बन्दै छ । सेल रोटी र मखमली फूलको माला तयार गर्दै छन् हाम्रा दिदीबहिनी । विदेश गएका भाइको आगमनको प्रतीक्षा गर्दै कति चेलिबेटी घरआँगनको डिलमा कुरिरहेकी छिन् सप्तरङ्गी टीका लगाइदिने रहरसँगै मखमली फूलको मालाले भाइको दीर्घायुको कामना गर्न दिदीबहिनी समयको प्रतीक्षा गरिरहेकी छिन्, धनकी देवी लक्ष्मीको पूजा गर्ने सुरमा घरआँगन, कोठाचोटा, सहरबजार झिलिमिली बत्तीले उज्यालो भएको छ । बजार किन्ने र बेच्नेको भिडले खचाखच छ ।

रङ्गीचङ्गी मिठाइ, फूलमालाले बजार ढपक्कै छ । दाजुभाइ कोही दिदीबहिनीकोमा जाने तयारी गर्दैछन् भने कोही दिदीबहिनीलाई माइत ल्याउन आतुर भएर रहेका छन्, बातावरण उत्साह र उमङ्गले उत्साहित बन्दै छ । यसरी नेपालीको महान दोस्रो पर्व दीपावली, भाइटीका, देउसी–भैलोको मिठोसँग्गीतसँगै आएको छ । विछोड पछिको मिलनले हुने उत्साहित मन मस्तिष्कलाई रमाइलो वातावरणमा पुलकित गराउँदै यो तिहार नेपाली आदर्शको चिनारी भएर प्रस्तुत हँुदैछ । दिदीबहिनी, दाजुभाइको सम्बन्धलाई अझ प्रगाढ गराउँदै संस्कृति र संस्कार हाम्रो जीवनको मूलधार हो भनी रमाइलो पर्वको रुपमा यो पर्व देखापरेको छ । सुन्दर, शान्त र पवित्र विचार बोकेको पर्वको रुपमा मनाइने यस पर्वमा घरआँगन चारैतिर सफा राख्ने संस्कृतिको कारण यस बेला वातावरण समेत स्वच्छ बनेको छ ।

गाउँघर त साँच्चिकै सुन्दर र मनमोहक बनेको देखिन्छ । ऋतुको परिवर्तनले ल्याउने खुसियाली र वर्ष दिनको लागि चाहिने अन्न भण्डारनले मानव जीवन आफैँमा पुलकित र उमङ्गले भरिएको छ । भौगोलिक र प्राकृतिक सत्यभित्र रमाउन चाहने नेपाली मन माया र स्नेह बोकी खुसी साटासाट गर्ने अवसर यस पर्वको देउसीभैलोले जुटाउँदै छ । एकले अर्कालाई सहयोग, सद्भाव र प्रेम पनि बाँडिरहेको छ, प्रत्येकको घरमा दाजुबहिनी, दिदी र भाइ बिचको माया र ममता पनि त्यस अवसरमा देख्न र सुन्न पाइन्छ । अन्धकारलाई उज्यालोले ढपक्क ढाक्दै जीवनको सत्यलाई उजागर गरेको यस पर्वले विभिन्न पौराणिक सत्यको उद्घाटन पनि गर्दै गरेको स्थिति छ । प्रेम र पवित्रतालाई बोकेर प्रत्येक वर्ष आउने यस पर्वको विशेषता भनेकै स्वच्छता, सुन्दरता अनि आत्मियता बढाउने संस्कृति भएकाले यस बेला धनकी देवी लक्ष्मीको आराधनासँगै पशुपन्छीको सम्झना गरिन्छ ।

सफा, सुन्दर, शान्त स्थानमा लक्ष्मीको बास रहने पौराणिक मान्यताले यस बेला सबैलाई आकर्षित गरेको छ । गाईको महिमालाई उजागर गर्दै नैतिकता र इमानदारिता नै जीवन जिउने संस्कृति र संस्कार हो भनी कुकुरले प्रस्तुत गर्ने इमानदारितालाई सम्झिएर यस बेला पुज्ने गरिन्छ । नेपाली मौलिक संस्कृति र संस्कार बोकेको यस पर्वले ‘डे अफ लाइट’को रुपमा विश्व सामु आफ्नो पहिचान बढाएको छ । समन्वयवादी संस्कृतिभित्र यो पर्वमा नेवार समुदायको म्हः पूजा पनि पर्ने र जनताको सम्पूर्ण ऋन चुक्ता गरी राष्ट्रय विभूतिको पहिचान बनाएका शङ्खधर साख्वाले प्रचलनमा ल्याएको राष्ट्रिय मान्यतामा ल्याएको नेपाल संवत् यसै वर्षदेखि नया वर्षको रुपमा मनाइँदा यसको आफ्नै सांस्कृतिक महत्व बढेको छ ।

अविनाशी आत्माको पहिचानसँगै देहाभिमानी नबनी सबैलाई प्रस्तुत हुन यस पर्वले प्रोत्साहित गर्न खोजेको छ । हेर्दामा केही नदेखिने तर यस पर्वले बोकेको संस्कृति र संस्कारलाई हेर्ने हो भने तथा पौराणिक कथासँग जोडिएको बलिराजा र उनको बैहिनी जमिनाको कहानी, काली नाग र दिदीभाइबिचको करुणामय कथा, यमराजले आफ्नी बहिनी यमुनासँग टीका थाप्न विश्राम लिएको कथा, एवम् बामन अवतार लिएर विष्णुले बलिराजासँग मागेको वरदान, देउसिरी भन्ने शब्दको उत्पत्तिको कथा एवम् मृत्यु सत्यपनि डगमगाएको परिवेश सुन्दा बुझ्दा सच्चिकै यो पर्व निराशाभित्र आशाको किरण झल्काउने, प्रेम र सद्भाव नै जीवनको उत्कृष्ट आचरण रहेछ भन्ने पुष्टि हुन्छ । दिदीभाइ र दाजु–बहिनीको सम्बन्धमा अझ प्रगाढ गराउँदै संस्कृति र संस्कारलाई अविछिन्न गतिशील बनाउन यसले मद्दत गरेको पाइन्छ ।

न्हुदया बिन्तुना ः कार्तिक कृष्ण पक्षको रुमा एकादसीपछिको त्रयोदशी तिथि (धन्वन्तरी जयन्ती) देखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म मनाइने यो पर्वसँग गाँसिएको कहानी निकै रोचक र ज्ञानवर्धक भएको पाइन्छ । बिरामी दाजु बलिराजालाई टीका लगाउन भनी बहिनी जमुना दाजुकहाँ पुग्दा बिरामी दाजुलाई लिन यमराज पनि पुगेका रहेछन्, यसरी दाजुलाई लिन आएको देखी जमुनाले विन्ति गर्दै भनिन्– दाजु यमराज निकै लामो समयपछि हामी दुई भाइबहिनासँग भेट भएको छ, म दाजुलाई टीका लगाउँछु, केही फलफूल, फूलमाला पनि दिन्छु, मिठाइ, फलफूल ग्रहण गरिसकेपछि लैजानुहोला– भनी वाचाबन्धन गराइ जमुनाले बलि राजालाई यमराजको सामुन्ने राखी, तेलको रेखीले घेरी तालुमा तेल लगाई तथा घरको शृङ्गारमा ओखर फोडी, सप्तरङ्गी टीका लगाई सयपत्री र मखमली फूलको माला पहिराइ फलफूल दिइन् ।

टीका समापन गरेपछि यमराजलाई विन्ति गरिछिन्– हे यमराज ! जबसम्म यो तेलको रेखी र मखमली फूल सुक्दैन तबसम्म मेरो दाजुलाई फलफूल खान देऊ त्यसपछि लैजाउ– भनिछिन् । बहिनी जमुनाको चतु¥याइँदेखि यमराजले जमुनाझैँ सबका दिदीबहिनी हुन् भनी आशीर्वाद दिई आफू पनि बहिनी यमिनासँग टीका लगाउन पाँच दिन आराम गर्न हिँडेछन् । त्यही पाँच दिन यमपञ्चकको रुपमा यो पर्व मनाइएको हो पनि भनिन्छ । यसैगरी रामले लङ्का विजय गरी सीतालाई साथमा लिई अयोध्या फर्किएको खुसीमा दीपावली गरेको कहानी पनि यहाँ जोडिएको देखिन्छ ।

बलिराजाको दान दातव्यले तर्सिएका देवताको पुकार सुनी विष्णु भगवान्ले बामन रुप धारण गरी बलिराजासँग वर माग्दा पहिलो स्वर्ग, दोस्रो पृथ्वी र मृत्यलोक मागिसकेपछि अब के दिन्छौ अब त कुनै ठाउँ छैन यति कुरा विष्णुले भनेपछि बलिराजाले के माग्छौ त्यही दिन्छु भनी भनेपछि विष्णुले शिर थापिदेऊ भनी मागेका र लौ ! लैजाउ भनी बलिराजाले शिर दिइ पाताल भासिएका र पछि विष्णुलाई दया जागी पाँच दिन पृथ्वीमा राज गर्ने वरदान दिएको कारण बलिराजा पाँचदिन पृथ्वीमा घुमेको हँुदा यमपञ्चकको नाम राखिएको पनि भनिन्छ । विष्णुले बलिसँग शिर देउ भनी मागेको कारण शब्द परिमार्जित भई देउशिरे भनी नामाकरण गरी देउसी–भैले खेल्ने गरिएको पनि भनिन्छ ।

यसैगरी कालीनागको कथा पनि रोचक छ । दिदीको हातबाट टीका थाप्न लड्दैपड्दै हुरी–पानी सहँदै भाइ दिदीको घरमा जाँदा बाटोमा उसलाई काली नागले छेकेछ र भने छ–आज तिमी मेरो आहारा बन्न आएका हौ, तिमीलाई जान दिँदैन– भनी बाटो छेकेपछि भाइले निकै अनुनयविनय गर्दै दिदीको हातको टीका लगाउन हिँडेको, आज पाँच दिन भयो मेरी दिदी मलाई पर्खिरहेकी छिन्, मलाई नखाउ बरु म दिदीको हातको टीका लगाइ यही बाटो फर्किउँला, तिमीले मलाई आहार बनाउनु भनी बिन्तिभाउ गरी वाचा कसम खाएपछि कालीनागले हुन्छ भनी बाटो छोडेको र प्रतीक्षामा बसेकी दिदीकहाँ पुगेछन् ।

निकै दुःखी र निन्याउरो मुख लगाइ भाइ आएको देखी दिदीले सोध्दा भाइले– बाटोमा भएको सबै कथा खुलस्त भनेछन् । यति कुरा सुनेपछि धन्दा नमान भाइ तिम्री दिदीसँग धेरै शक्ति छ भनी भाइलाई आसनमा बसाली पानी तेलको रेखीले घेरी तालुमा तिल र तेल राखी तामाको भाँडामा पूजा सामग्री सहित घरको दैलोमा गई पूजा गर्दै भनिछन्– मेरो भाइको शत्रूको यसरी नै टाउको फुटिजाओोस् भनी ओखर फोडी टीका लगाइ फूल प्रसाद दिएकी र पछि यही प्रसादले काली नागको शिर फुटेर भाइको आयु लम्बिएको तथा मखमली फूलको मालाले भाइ चिरञ्जीवी भएको कहानी पनि यस पर्वसँग जोडिएको पाइन्छ ।

यसरी मानवीय जीवनमा पर्ने समस्यालाई सुल्झाउँदै विकृति हटाई तनावमुक्त जीवन निर्वाह गर्न र निराशाभित्र आशाको किरण झल्काइ प्रेम र उत्साहपूर्वक यस पर्वलाई मनाउन तिहार पर्वले उत्साहित गराएको छ । तसर्थ मनोरञ्जन प्रदान, (जुवा तास) जस्ता विकृति नबढाई प्रेम र सद्भाव बढाइ यसले दिन खोजेको सन्देश ग्रहण गरौँ ‘डे अफ लाइट’को रुपमा नयाँ वर्ष मनाउँदै दिदीबहिनी आमा धर्ती हुन्, यिनको सम्मान गर्दै रमाइलो गरौँ ।