धनपति सहकारी सस्थाको १४औँ साधारणसभा,चार करोड बढी निक्षेप सङ्कलन

गोरक्ष समाचारदाता
दाङ, ११कात्तिक । धनपति बचत तथा ऋण सहकारी संस्थाले चार करोड बढी निक्षेप सङ्कलन गरेको छ । सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा एक हजार ५५ शेयर सदस्यबाट चार करोड तीन लाख १९ हजार आठ सय १४ रुपैयाँ बचत सङ्कलन गरेको हो ।

संस्थाले अघिल्लो आर्थिक वर्षमा तीन करोड ३२ लाख ९४ हजार २० रुपैयाँ ९५ पैसा सङ्कलन गरेको थियो । सहकारीले आर्थिक वर्ष २०८०÷०८१ मा चार करोड ४९ लाख नौ हजार सात सय ९३ रुपैयाँ ऋण लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाले चार करोड छ लाख ४८ हजार छ सय २० रुपैयाँ लगानी गरेको सहकारी संस्थाका कोषाध्यक्ष बसन्त पोख्रेलले संस्थाको १४औँ साधारणसभामा जानकारी गराएका थिए । कोषाध्यक्ष पोख्रेलका अनुसार सहकारीले आर्थिक वर्ष २०८०÷०८१ मा७० लाख ७१ हजार सात सय ६१ रुपैयाँ आम्दानी गर्दा ५६ लाख एक हजार छ सय ४४ रुपैया खर्च गरेको छ । अघिल्लो समय संस्थाको छ लाख ५४ हजार दुई सय ५९ रुपैया आम्दानी थियो भने खर्च ५५ लाख ३८ हजार तीन सय आठ रुपैयाँ थियो ।

६० लाख २६ हजार शेयर पुँजी रहेको सहकारीले आर्थिक वर्ष २०८१÷०८२ मा शेयर पुँजी ७० लाख पु¥याउने लक्ष्य लिएको छ । यसैगरी सोही आर्थिक वर्षमा पाँच करोड बचत सङ्कलन गर्ने लक्ष्य राखेको सहकारीले तीन सय ५० जनालाई पाँच करोड बढी ऋण लगानी गर्ने लक्ष्य लिएको कोषाध्यक्ष पोख्रेलले जानकारी गराएका थिए । उनका अनुसार ७६ लाख ५२ हजार आम्दानी गर्ने लक्ष्य राखेको सहकारीले यस वर्ष शेयर लाभांश आठ प्रतिशत वितरण गर्ने जनाएको छ । सहकारी संस्थाका चार सय ५० जना महिला र छ सय पाँच जना गरेर एक हजार ५५ जना शेयर सदस्य रहेका छन् ।

यसैबिच धनपति बचत तथा ऋण सहकारी संस्थाको १४औँ साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले सहकारीलाई सहज तवरले अघि बढाउन सहकारीको मूल्य, मान्यता र सिद्धान्तमा टेकेर काम गर्नु पर्ने सुझाव व्यक्त गरेका थिए । सहकारीको नीति र सिद्धान्तभन्दा बाहिर जाने र महत्वाकाङ्क्षी योजना अघि सार्दा कतिपय सहकारी संस्थाहरू समस्यामा परेको भन्दै त्यसमा नेतृत्वले ध्यान दिनु र्पेमा जोड दिएका थिए ।

सहकारी संस्थाका अध्यक्ष बल्लु शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता एवम् राष्ट्रिय सहकारी बैंक दाङ शाखा प्रमुख प्रदीप अर्यालको विशिष्ट आतिथ्यतामा भएको साधारणसभामा उत्कृष्ट बाल बचतकर्ताका रूपमा मानतिसा पौडल र समृद्धि नेपाली, ज्येष्ठ नागरिक उत्कृष्ट बचतकर्ताका रूपमा खिमा सुवेदी, दैनिक बचतकर्ता पवित्राकुमारी केसी, सञ्जय विक र डाँसीराम आचार्य, नियमित मासिक बचतकर्ता गोपाल श्रेष्ठ र भीमा घर्ती, असल ऋणी विपना घर्ती र अपाङ्गता भएर व्यवसाय सञ्चालनसँगै सहकारीमा नियमित बचत गर्दै आएका वीरबहादुर रेउलेलाई नगद, प्रमाणपत्रसहित विशेष सम्मान गरिएको थियो ।

साधारणसभामा लेखा समिति सदस्य नारायणप्रसाद पाण्डेयले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बसन्त पोख्रेलले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक कुमार केसीले लेखा सुपरीवेक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा जिल्ला सहकारी संघ दाङका लेखा सुपरीवेक्षण समितिका संयोजक होमलाल भुसाल, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष गिरिराज अधिकारी, नेफ्सुन फिल्ड कार्यालय घोराहीका कर्मचारी दिनेश महरालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शिक्षा उपसमिति संयोजक उषा सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभाको सहजीकरण उपाध्यक्ष खगेश्वर पौडेलले गरेका थिए ।