पाँच वर्ष अघिसम्म देउखुरीको लमही नगरपालिकाका–८ जहरे निवासी २० वर्षीय रामनारायण चौधरीलाई हिडडुल गर्न ह्विलचेयरको सहरा चाहिन्थ्यो । सात वर्षको उमेरमै खुट्टाका हड्डी भाँचिएर अपाङ्गता जीवन बिताउन बाध्य चौधरीले लामो समयसम्म ह्विलचेयरको सहरामा हिड्डुल गर्थे थिए ।
जीवनको करिब दुईदशकको अवधिमा १३ पटक खुट्टा र सात पटक हात भाँचिएपछि चौधरीले दुःखदायी जीवन बिताउनु परेको थियो । त्यो जीवन सम्झँदा अहिले पनि मन रने गरेको बताउने चौधरीले जीवनलाई कति अन्धकार र दुःखदायी बनाइराख्ने भनेर सकारात्मक सोचासँगै ध्यान र योग गरे । त्यसले गोडा कमजोर भए पनि आत्मविश्वास बलियो बनाउने काम गरेको बताउँछन् । त्यही आत्मविश्वासले चौधरी हातले मात्र टेकेर गरिने पुसअप ‘प्लान्च पुस अप’ मा नयाँ विश्व कीर्तिमान कायम गर्ने तयारीमा छन् ।
जर्जियाका नागरिक तैमुर दडियानीको रेकर्ड तोडेर एक मिनेटमा सबैभन्दा धेरै प्लाञ्च पुस–अप गरेर कीर्तिमान राख्ने तयारीमा रहेका चौधरी ह्विलचेयरबाट उठेर विश्व कीर्तिमानका लागि प्रयास नै आफ्नो खुसीको क्षण भएको बताउँछन् । ‘दुवै खुट्टा भाँचिएपछि सुरुमा जीवन सकियो झैँ लागेको थियो’, उनी भन्छन्, ‘जीवन फरक हुँदोरहेछ, आफूमा चाहना र आत्मविश्वास हुने हो भने धेरै कुरा गर्न सकिने रहेछ, ह्विलचेयरबाट उठेर विश्व कीर्तिमानीका लागि प्रयास गरिहँदाका क्षणलाई अनुभूति गर्न सिकाएको छ, यो पनि मेरा लागि खुसीको कुरा र्नै हो ।’
चौधरीका अनुसार जन्मेदेखि गोडा कमजोर थिए । हुर्कँदै जाँदा उनका गोडा बाङ्गिँदै गए । अस्पताल जाँदा डाक्टरले गोडाको हड्डी धेरै नै कमजोर भएको बताएका थिए । विस्तारै गोडाका हड्डी पनि भाँचिन थाले । ‘सामान्य रूपमा लड्दा पनि हड्डी भाँचिन्थे, धेरै परिश्रमको काम गर्न सक्ने अवस्था भएन’, उनले भने, ‘हड्डी टुट्दा–टुट्दा खुट्टाको सन्तुलन बिग्रँदै गयो र हिँडडुल गर्न पनि नसक्ने भएँ । त्यसैका कारण पढाइ पनि छुट्यो ।’ खुट्टाका हड्डी टुट्दा ११ वर्षको उमेरदेखि चौधरी ह्विलचेयरको सहारामा हिडडुल गर्थे ।
सानै उमेरमा शारीरिक अशक्तता व्यहोर्नु पर्दा उनी विक्षिप्त भए । आफन्त र साथीभाइले गर्ने सहयोग नगर्ने गरेको विगत सम्झँदै भन्छन्, ‘दुवै खुट्टाका हड्डी टुट्दा त्यो बेला मलाई बाँच्नुको कुनै अर्थ छैन झैँ लाग्थ्यो । त्यसपछिका धेरै वर्षहरू निराशामै बिताएँ ।’ कक्षा १० सम्म अध्ययन गरेका चौधरीले पढाइलाई निरन्तरता दिन सकेनन् ।
दुःख र निराशाको जीवनबाट उनले केही उपाय खोज्ने प्रयास गरे । बिहान उठेर हातले गर्न सक्ने व्यायाम गर्न थाले । ‘सुरुमा म उभिन पनि सक्दैनथेँ, मैले केही गर्न सक्दैनथेँ’, उनले भने, ‘हात चल्ने भएकाले हातले गर्न मिल्ने व्यायामहरू दिनहुँ गर्न थालेँ, युटुव हेर्दै गर्न सक्ने काम सिक्न थालेँ र अहिलेको अवस्थामा आइपुगेको हुँ ।’
करिब एक वर्षसम्म नियमित व्यायामले शरीरमा केही शक्ति बढेको र मानसिक रूपमा पनि बलियो भएको उनी बताउँछन् । त्यसपछि ह्विलचेयर छोडेर बैसाखी टेकेर हिँड्न थाले । दिमागमा नकारात्मक सोचाइ आउन छाडेको भन्दै उनी भन्छन्, ‘सकारात्मक कुरा बढी सोच्न थालेँ । मैले गर्न नसक्नेभन्दा गर्न सक्ने कामको खोजी गर्न थालेँ । त्यसपछिका दिनमा मेरो जीवन नै बदलिए झैँ लाग्छ । यो पनि मेरो जीवनको खुसी हो ।’ व्यायामले आफ्नो आत्मविश्वास बढाएको उनी बताउँछन् । खुट्टा गुमे पनि अरू काम गर्न सक्छु भन्ने आत्मविश्वास व्यायामले दिएको उनी बताउँछन् ।
अपाङ्गता भएका व्यक्तिले गरेका अद्भूत कामहरू इन्टरनेटमा खोजी गरेँ । एक दिन उनले जर्जियाका दुवै खुट्टा नभएका व्यक्तिले ‘प्लान्च पुस अप’ अर्थात् हातले मात्र टेकेर गरिने पुसअपबाट गिनिज बुक अफ वल्र्ड रेर्कड बनाएको थाहा पाए । जुन पुसअपको अभ्यास उनी आफैँ पनि गरिरहन्थे ।
जर्जियाली नागरिकले एक मिनेटमा ३६ पटक प्लान्च पुसअप गरेर गिनिज बुक अफ वल्र्ड रेर्कड कायम गरेका थिए । उनी त्यसलाई तोड्न चाहन्थे । उनले घरमा नियमित अभ्यास गर्न थाले । गत वैशाख १५ गते काठमाडौंको गुह्येश्वरी स्थित बागमति पार्कमा भएको एक खेलकुद कार्यक्रममा उनले विश्व कीर्तिमानका लागि प्लान्च पुसअप गरे । त्यहाँ दुई जना विदेशी प्रशिक्षक साक्षी राखेर नयाँ रेकर्ड बनाउन लागे । एक मिनेटमा उनले ३७ पटक प्लान्च पुस अप गरेर नयाँ रेकर्ड बनाए । उनले जर्जियाली नागरिकलेभन्दा एक पटक बढी गरेका हुन् ।
प्राविधिक गल्ती नभएमा उनले नयाँ विश्व कीर्तिमान बनाउने छन् तर अहिलेसम्म गिनिज बुक अफ वल्र्ड रेकर्डले यसलाई मान्यता दिन बाँकी छ । उनले नयाँ विश्व रेकर्ड बनाएको दाबी गर्दै वैशाख २० गते नै गिनिज बुक अफ वल्र्ड रेर्कडमा सबै विवरणहरू बुझाएका थिए तर गिनिज बुक अफ वल्र्डले त्यसको जवाफ अझै नपठाएको उनी बताउँछन् । ‘प्राविधिक गल्ती भएको रहेनछ भने पुरानो रेकर्ड ब्रेक भएको छ’, उनले भने, ‘सबै कुरा राम्रो भाएको छ । नयाँ विश्व कीर्तिमान कायम हुन्छ भन्नेमा विश्वस्त छुँ ।’ यो काम अपाङ्गता भएका व्यक्तिको आत्मविश्वास बढाउन गरेको उनी बताउँछन् । अपाङ्ता हुँदैमा जिन्दगी सकिँदैन भन्ने उदाहरण दिन आफूले चाहेको भन्दै उनले भने, ‘निराशामा बाँचेका म जस्तै धेरै साथीहरू हुनुहुन्छ, उहाँहरूलाई थोरै भए पनि केही हौसला दिन सकुँ भनेर लागेको छु ।’ आफ्नो रेकर्ड कायम भए अपाङ्गता भएका व्यक्तिलाई मात्र होइन, खेलाडीलाई पनि आफ्नो कीर्तिमानले प्रेरणा मिल्ने चौधरी बताउँछन् । २०६१ पुसको ९ गते बुवा स्व. कुजुराम चौधरी र आमा अनिता चौधरीका जेठो सन्तानको रूपमा रामनारायण जन्मिएका थिए ।
प्रस्तुती :लीलाधर वली