प्रतियोगितालाई व्यापक बनाउने गरी तयारीमा जुटेका छौं : संयोजक थापा [अन्तर्वार्ता]

घोराहीमा प्रथम गोरखा नगर इन्टर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हँुदै छ । हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्नका लागि गोरखा स्कुल हाप्किडो डोजाङको आयोजनामा कात्तिक ३० र मंसिर १ गते घोराही उपमहानगरपालिका–१४ स्थित गोर्खा इन्टरनेसनल पब्लिक स्कुलमा प्रतियोगिता हुने भएको छ । घोराही नगर क्षेत्रका ३४ बढी विद्यालयका आठ सय बढी खेलाडीको सहभागितामा भव्य र सभ्य रुपमा प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ । यसै सन्दर्भमा प्रतियोगिताका संयोजक तथा गोरखा स्कुल हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक विशाल थापासँग गरिएको कुराकानीको सार सङ्क्षेप ।
पहिलो पटक आयोजना हुन लागेको घोराही नगर इन्टरस्कुल स्तरीय हाप्किडो प्रतियोगिताको तयारी कसरी भइरहेको छ ?
प्रतियोगिता आउन अझै करिब तीन साता बाँकी छ । तैपनि हामी प्रतियोगिता कसरी सभ्य र भव्य रूपमा व्यापक बनाउन सकिन्छ भनेर लागिपरेका छौँ । प्रतियोगिताका लागि नेपाल हाप्किडो संघ तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष आदरणीय कालीबहादुर घर्ती मगर गुरु, गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका प्रधानाध्यापक आदरणीय गुरु मानसिंह घर्तीलगायत अग्रजहरूसँग सरसल्लाह गरेर प्रतियोगिताको तयारीमा जुटेका छौँ । प्रतियोगिताका लागि नेपाल हाप्किडो संघ र जिल्ला खेलकुद विकास समितिबाट स्वीकृति लिनेदेखि आन्तरिक तयारीको काम गरिरहेका छौँ । यसमा सबै खेलाडीको साथ र सहयोगबाट भइरहेको छ ।
प्रतियोगिताका लागि गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले डोजाङलाई सहयोग गरिरहेको छ । यसैगरी प्रतियोगिताका लागि हाप्किडो संघका केन्द्रीय सचिव टीका घर्ती गुरुले पनि सहयोग गरिरहनुभएको छ । यसका साथै देश तथा विदेशमा रहनुहुने खेलप्रेमीहरूबाट प्रतियोगिताका लागि आर्थिकलगायतका सहयोग गरिरहनुभएको छ । यो अभियानमा हामीलाई आदरणीय समाजसेवी देवीराम जिसी साथ दिइरहनुभएको छ । यसका साथै नगर क्षेत्रमा भएका स्कुलहरूमा पत्राचार गर्ने, प्रतियोगिताका लागि आर्थिक स्रोत जुटाउनेलगायतका काम भइरहेका छन् ।
प्रतियोगिता आयोजनाको उद्देश्य के हो ?
स्थानीय स्कुलमा हाप्किडो खेलको विकास, खेलाडीको क्षमता विकाससँगै नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेका छौँ । यसले घोराहीमा खेलकुद क्षेत्रलाई निरन्तर चलायमानसँगै खेलाडीलाई पर्याप्त अनुभव र अवसर प्रदान गर्ने छ । त्यससँगै नगर क्षेत्रमा भएका स्कुलहरूमा खेलकुदको वातावरण निर्माण हुने र त्यसले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने विश्वास छ ।
घोराहीमा हाप्किडो खेलको विकास कसरी भइरहेको छ, हाप्किडोप्रति खेलाडीहरूको रुचि कस्तो छ ?
हाप्किडो खेलप्रति घोराहीमा राम्रो माहोल छ । खेलप्रति खेलाडीको उत्साह छ नि । घोराही नगर क्षेत्रमा भएका ३० बढी स्कुल तथा विभिन्न डोजाङमा आठ सय बढी खेलाडी आबद्ध भएर हाप्किडो सिकिरहेका छन् । जिल्लामा हाप्किडो खेल सुरुवात भएको करिब ५÷६ वर्षको अवधिमा खेलको राम्रो क्रेज देखिएको छ । अझै पनि विभिन्न स्कुलमा खेल सिकाउने दक्ष हाप्किडो खेलाडीका लागि अवसरहरू आइरहेका छन् । ती स्कुलहरूमा प्रशिक्षक खटाएर खेललाई अघि बढाइरहेका छौँ । आत्मरक्षासँगै स्वास्थ्य दृष्टिले उत्तम र पठनपाठनमा समेत सहयोग गर्ने भएकाले खेलप्रति विद्यार्थीको उत्साह नै छ ।
गोरखा स्कुल हाप्किडो डोजाङले खेलाडीको क्षमता विकासका लागि कस्ता अवसर प्रदान गर्दै आएको छ ?
गोरखा स्कुलमा करिब ५०÷६० जना खेलाडीले हाप्किडो खेल सिकिरहेका छन् । जसमा पुरुषभन्दा महिला धेरै छन् । प्रशिक्षार्थी विद्यार्थीका लागि प्रशिक्षकको व्यवस्था गरेर प्रशिक्षण गरिरहेका छौँ । हाप्किडोको प्रशिक्षण दैनिक रूपमा हुने गरेको छ । यसका साथै जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा हुने सेमिनार तथा प्रतियोगिताहरूमा खेलाडीहरूलाई सहभागी गराउने र खेलकुदसँगै अनुशासनबारे सिक्ने अवसर दिइरहेका छौँ ।
केन्द्रीय प्रशिक्षक झिकाएर डोजाङका खेलाडीहरूलाई प्रशिक्षण दिइरहेका छौँ । यसै अन्तर्गत यही कात्तिक ३० र मंसिर १ गते दुई दिनका लागि ‘गोरखा स्कुल हाप्किडो डोजाङ घोराही नगर इन्टर स्कुल च्याम्पियनसिप–२०२४’ को तयारीमा जुटेका छौँ । यसले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ । त्यसका लागि खेलाडीहरूले अहिले तयारी गरिरहनुभएको छ, यसले खेल क्षेत्रमा अघि बढ्नसँगै शिक्षाका लागि समेत सहयोग पु¥याउने गर्दछ ।
स्कुलहरूमा हाप्किडोलाई कसरी समावेश गर्दै हुनुहुन्छ र यसले खेलाडी उत्पादनमा कस्तो प्रभाव छ ?
विद्यालयसँगै खेलाडीको माग अनुसार हामीले खेलकुदका गतिविधि गरिरहेका छौँ । त्यही अनुसार घोराहीका विभिन्न विद्यालयसँगै जिल्लाका विभिन्न ठाउँमा रहेका विद्यालयमा हाप्किडो खेललाई समावेश गरेर प्रशिक्षण दिइरहेका छौँ । प्रशिक्षणले नयाँ प्रतिभावान खेलाडी उत्पादन हुँदै गरेको अवस्था छ । यसरी उत्पादन हुने खेलाडीले नगर, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरलमा हुने विभिन्न प्रतियोगिताहरूमा सहभागी भएर मेडल समेत जितिरहेको अवस्था छ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो नामसँगै देशको नाम समेत चिनाउने काम भइरहेको छ । समग्रमा खेलाडी उत्पादनमा सकारात्मक प्रभाव परेको मान्नु पर्छ ।
आगामी दिनमा हाप्किडो खेलको प्रगतिका लागि तपाईँका मुख्य योजना र उद्देश्य के छन् ?
हाम्रो गोरखा स्कुल हाप्किडो डोजाङ नयाँ भएकाले पहिलो पटक नगर इन्टर स्कुलस्तरीय प्रतियोगिता आयोजना गरेका छौँ । यसमा घोराही उपमहानगरपालिकाभित्र रहेका खेलाडीहरू मात्र सहभागी हुने छन् । यस प्रतियोगितामा हामी सफल भएपछि आगामी दिनहरूमा जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरका प्रतियोगिताहरू दाङमै गर्ने उद्देश्य रहेको छ । त्यसका पहिले डोजाङलाई बलियो बनाउनु पर्ने आवश्यक छ । त्यसका लागि टिमको पनि साथ र सहयोग हुन आवश्यक छ ।
हाप्किडो खेललाई अझ व्यापक बनाउन के गर्नु पर्ला, बताइदिनुस् न ?
हाप्किडो खेल मार्शल आर्टसम्बन्धी खेल मात्र नभएर समाज रूपान्तरण गर्ने खेल पनि हो । यसले व्यक्तिगत आत्मसुरक्षासँगै स्वास्थ्यका लागि अत्यन्त लाभदायक छ । यसका साथै खेल क्षेत्रबाट आफ्नो नामसँगै जिल्ला र राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने अवसर प्रदान गर्दछ । यही उद्देश्यले अहिले धेरै बालबालिकाहरू हाप्किडो खेलसँग जोडिइरहेको अवस्था छ । यसलाई व्यापक बनाउनका लागि थप दक्ष प्रशिक्षकको व्यवस्था गर्ने र धेरैभन्दा धेरै खेलाडीहरूलाई हाप्किडोमा सहभागी गराएर अन्य अवसरहरू पनि खोजिनु जरुरी छ ।
हाप्किडो खेलको विशेषता र यो खेल खेलेपछि खेलाडीलाई हुने फाइदा के हो ?
खेल स्वास्थ्य र राष्ट्रको लागि खेल्ने कुरा त छँदैछ । त्यो बाहेक अन्तर्राष्ट्रियस्तरमा पदक जितेर राष्ट्रको झण्डा फहराउने नै मुख्य लक्ष्य हो । चुरो कुरो के हो भने भविष्यमा खेलबाट टाढा भए पनि खेलाडीलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो । खेलाडीको भविष्य उज्ज्वल होस् भनेर रोजगारीको पाटो पनि हामीले खेलमा जोडेका छौँ ।
समग्रमा भन्नुपर्दा खेल खेलेपछि त्यस्तो खेलाडी बनोस् जो शिक्षित होस्, त्यसतर्फ पनि विशेष ध्यान दिएका छौँ । युवा, खेलाडी भनेको देशको मेरुडण्ड हुन् तर देशको भद्रगोल स्थितिले खेलाडीको दिमागमा नकारात्मक असर परिरहेको छ । यसबाट बच्नका लागि पनि खेलकुदमा लाग्न आवश्यक छ । व्यक्तिगत स्वास्थ्यसँगै आत्मसुरक्षा र पहिचानका लागि यो खेल हरेक व्यक्तिका लागि आवश्यक छ ।