कांग्रेसको सयदिने विशेष अभियान सुरु
गोरक्ष समाचारदाता
दाङ, ७ कात्तिक । नेपाली कांग्रेस दाङले संगठन सुदृढीकरणका लागि सयदिने विशेष अभियान सुरु गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत ‘सय दिने विशेष अभियान २०८१’ को नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले मङ्गलवार दाङमा शुभारम्भ गरेका हुन् ।
नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिका सभापति, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीसहित अगुवा नेता एवम् कार्यकर्ताको सहभागितामा सयदिने विशेष अभियानको सुरुवात गरेका हुन् । केन्द्रीय प्रतिनिधिका रूपमा दाङमा खटिएका नेता स्नेहीले पार्टीलाई संगठित र सशक्त बनाउन पार्टीभित्र भएका गुट–उपगुटको अन्त्य हुन आवश्यक रहेको बताए ।
पार्टीको महाधिवेशनका क्रममा बनेका नेताका गुट–उपगुटका कारण पार्टी कमजोर बन्दै गएको भन्दै पार्टीलाई एकताबद्ध र संगठित बनाउँदै बदलिँदो समयसँगै पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन आवश्यक रहेको बताएका थिए । देश र जनताको चाहना र आवश्यकता अनुसार पार्टीलाई अघि बढाउन आवश्यक रहेको नेता स्नेहीको भनाइ थियो ।
कार्यक्रमका प्रमुख वक्ता समेत रहेका नेता स्नेहीले तल्लो तहदेखि केन्द्रसम्मका नेता एकढिक्का भएर कांग्रेसलाई नवीन र सशक्त पार्टी बनाउनु पर्ने अभियानमा लाग्नु पर्ने बताए । कांग्रेस कमजोर बन्दा स–साना नयाँ पार्टी उदय भएको र नयाँ पुस्ताको समेत त्यतातिर झुकाव देखिएको भन्दै नेता स्नेहीले नयाँ पुस्तादेखि पार्टीमा योगदान गरेका पुराना पुस्तालाई समेट्ने गरी योजना बनाएर पार्टी अघि बढाउनु पर्ने बेला आएको बताए ।
‘कांग्रेसभित्र असन्तुष्ट भएका नेता तथा कार्यकर्तादेखि नयाँ पुस्ताको नयाँ पार्टीप्रति आकर्षण देखिन्छ तर आकर्षण दीर्घकालीन जाने देखिँदैन’, नेता स्नेहीले भने, ‘देश र जनताका लागि आवश्यक पार्टी कांग्रेस नै हो । त्यसैले कांग्रेसलाई बदलिँदो समय अनुरूप परिमार्जन गर्दै नवीन कांग्रेस बनाएर अघि बढ्न आवश्यक छ ।’ त्यसका लागि हरेक नेता तथा कार्यकर्ताले कांग्रेसले गरेका राम्रा कामको प्रचारप्रसारसँगै नयाँ पुस्तालाई आकर्षित गर्ने गरी लाग्नु पर्ने उनले बताए ।
सयदिने अभियानका क्रममा आपूm जिल्लाका सबै भूगोलमा पुग्ने र भ्याएजति नेता तथा कार्यकर्तालाई भेट्ने भन्दै उनले अभियानमा खट्ने सबै नेतालाई इमानदारिताका साथ खटिएर काम गर्न आग्रह गरे । अभियानमा खटिएर पार्टी संगठनको अवस्था, स्थानीय सरकारसँगको समन्वय, नागरिकस्तरमा देखिएका समस्या, अपेक्षा र पार्टीलाई प्राप्त हुने सुझाव सङ्कलन गरिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेयले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेता तथा कार्यकर्ता पार्टी निर्माणमा जुट्नु पर्ने बताए । पार्टी, जनता र देशका लागि योगदान गर्ने भन्दा पनि पार्टीमा लागेपछि अवसर र पद खोज्ने प्रवृत्तिले पार्टीमा समस्या सिर्जना हुने भएकाले त्यसतर्फ ध्यानदिनु पर्ने बताए । सयदिने अभियानका लागि जिल्लामा कांग्रेस दाङका पूर्व सभापति, महासमिति, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई १० स्थानीय तह र एक सय वडाहरूमा प्रतिनिधि खटाएको नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसले सुरु गरेको सयदिने अभियानका क्रममा प्रत्येक वडाका हरेक टोलमा पुग्ने र पार्टीको अवस्था, जनताका गुनासा, तीनै तहका सरकारप्रति भएका जनताका धारणा बुझ्नेदेखि विकास निर्माणका काममा सहजीकरण गर्ने, कार्यालयलाई व्यवस्थित गर्ने, वार्षिक कार्ययोजना बनाउने, संगठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाएर लैजानेलगायतका कार्यक्रम सञ्चालन हुने भएका छन् ।
यसैगरी भ्रातृ र शुभेच्छुक संगठनमा रिक्त पदपूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारलाई सम्मानलगायतका कार्यक्रम हुने भएका छन् । करिब तीन महिना सञ्चालन हुने अभियान आगामी पुस १६ गते वीपी जयन्तीका दिन समापन हुनेछ ।
नेपाली कांग्रेस दाङका जिल्ला सभापति शङ्करप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व सभापतिहरू विरकेशरी गौतम, घनश्याम रेग्मी, कीर्तिबहादुर खड्का, मोहनलाल वलीलगायतले बोल्दै पार्टीलाई संगठिन, सशक्त र आउने निर्वाचनमा जित निकाल्नका लागि पार्टीभित्र भएका असन्तुष्टि हटाउनु पर्ने, भ्रातृ तथा शुभेच्छुक संघसंगठनलाई चलायमान बनाउनु पर्ने, जनताका समस्या बुझ्दै समाधानको बाटो खोज्नु पर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले गरेका थिए ।