विद्यालयको सुधारका लागि महायज्ञ सञ्चालन गरिने

गोरक्ष समाचारदाता
दाङ, ६ कात्तिक । विद्यालयको सुधार तथा विकासका लागि श्रीमद्भागवत ज्ञानमहायज्ञ सञ्चालन गरिने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको आधारभूत विद्यालय गिठेपानीले विद्यालयको सर्वाङ्गीण विकासका लागि श्रीमद्भागवत ज्ञानमहायज्ञ सञ्चालन गर्न लागेको हो ।

कार्तिक २३ गतेदेखि ३० गतेसम्म महायज्ञ सञ्चालन गरिने विद्यालयले जनाएको छ । विद्यालयमा मावि तह सञ्चालन, खेलकुदका सामग्री, भौतिक पूर्वाधर निर्माण, अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले जानकारी दिए । ‘हामीले गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक सामग्री खरिद गर्ने तथा पूर्वाधार विकासका लागि महायज्ञ सञ्चालन गर्न लागेका हौँ’, वलीले भने ।

विद्यालयको अन्य आम्दानीको स्रोत नहुँदा दाताकै भरमा विद्यालय सञ्चालन गर्नु पर्ने बाध्यता रहेको छ । यसमा सबैको साथ र सहयोग रहने अपेक्षा रहेको उनले बताए । महायज्ञ सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीको संयोजकत्वमा ९९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महायज्ञलाई व्यवस्थित गर्न विभिन्न उपसमिति गठन गरिएको छ ।

आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा हस्त बिएम, दाता पहिचान तथा आर्थिक सङ्कलन उपसमितिका संयोजकमा मात्रिकाप्रसाद पाण्डे, प्रचारप्रसार उपसमितिको संयोजकमा बसन्तराज शर्मा, महायज्ञ व्यवस्थापन उपसमितिका संयोजक विष्णुप्रसाद पोख्रेल, शिक्षक विद्यार्थी समन्वय उपसमितिका संयोजक लोकराज सुवेदी रहेका छन् ।

यसैगरी महिला परिचालन उपसमितिको संयोजकमा रेवा अधिकारी, मञ्च मन्दिर व्यवस्थापन उपसमितिको संयोजकमा सूर्यबहादुर जिसी, फूलमाला, दुना–टपरी व्यवस्थापन उपसमितिको संयोजकमा हिमकला केसी, सुरक्षा तथा स्वयम्सेवक परिचालन उपसमितिको संयोजकमा सुरेश बुढा, अतिथि सत्कार तथा सम्मान उपसमितिको संयोजक मञ्जु देवकोटा, प्रसादी वितरण उपसमितिका संयोजकमा देवा आचार्य र प्राथमिक उपचार तथा स्वास्थ्य स्वयम्सेविका सेवा उपसमितिको संयोजकमा महेन्द्र पाण्डे रहेका छन् ।

आवश्कताका आधारमा समिति निर्माण तथा विस्तार गरिने बताइएको छ । उपसमितिले सदस्य समेत विस्तार गरिसकेको जनाएका छन् । मूल आयोजक समिति तथा उपसमितिले आ–आप्mनो जिम्मेवारीको काम सुरु गरेको आयोजकले जनाएको छ ।