Goraksha

National Daily

देश बनाउन नागरिक जुट्नुपर्छ

लक्ष्मण शर्मा

नेपाली जनताले जहिले पनि परिवर्तनको लागि साथ दिएका छन् । बि ।स २००७ सालदेखि २०६२÷०६३ को राजनीतिक परिवर्तनलाई हेर्दा नेपाली जनताले परिवर्तनको लागि साथ दिएको देखिन्छ । यसबाट जनताले चायो भने परिवर्तन गर्न सक्छ भन्ने नजिर स्थापित भएको छ । देश यतिबेला एकदम लथालिङ्ग र जरजर अवस्थामा छ । वैदेशिक र आन्तरिक ऋणको भार बढ्दो छ । आर्थिक अवस्था एकदमै खस्किँदै गइरहेको छ । उद्योग धन्दा नखुल्दा र खोलिएका उद्योगहरु पनि बन्द हुँदा बेरोजगारी बढ्दो अवस्थामा छ । कर्मचारीतन्त्र र राजनीतिक क्षेत्रमा भ्रष्टाचार व्याप्त छ ।

देशमा सुशासन र न्यायको अवस्था कमजोर हुँदा जसले जे गरे पनि हुन्छ भन्ने भाष्य सिर्जना भएको छ । विगत पाँच वर्षदेखि युवा पलायनको स्थिति डरलाग्दो छ । लोकतन्त्रको नाममा छाडतन्त्र बढेको छ । समग्रमा देशको व्यवस्था लथालिङ्ग जस्तै भएको छ । यस्तो विषम अवस्थाबाट देशलाई बचाउनको लागि नेपाली जनताले फेरि एकपटक विद्रोह गर्नुपर्ने अवस्था आएको छ । यो पटकको विद्रोह यस्तो होस् कि जसले देशलाई दीर्घकालसम्म एउटा सिस्टममा लग्न सक्ने व्यवस्थाको निर्माण गरोस् ।

देशमा न्याय, सुशासन ,पारदर्शिता र सिस्टम निर्माण भयो भने मात्र आर्थिक विकास हुने हो । सिस्टम निर्माण गर्न सकियो भने जनताको विश्वास बढ्छ । बाहिरी क्षेत्रले पनि हामीलाई विश्वास गर्छ ।जसले गर्दा लगानी बढ्न गई देशमा आर्थिक विकासको सुरुवात हुन्छ । हामीले राणा, राजा र दलको शासन व्यवस्थालाई राम्रोसँग भोग्यौ, बुझ्यौ तर यी सबै शासन व्यवस्था जनताको लागि भएन ।

यी सबै व्यवस्थामा तिनका आसेपासे र कार्यकर्ता पाल्नको लागि राज्यको ढुकुटी र स्रोत साधनको दोहन यति नराम्रोसँग भयो कि अब केही नगर्ने हो र यिनीहरुलाई अब च्युत नगर्ने हो भने देश नै टाँट पल्टिने अवस्थामा छ । जनताले जहिले पनि परिवर्तनको लागि साथ दिए । तर शासन व्यवस्थाको अधिकार गलत मान्छेमा जाँदा अहिलेको अवस्था आएको हो । यो पटकको विद्रोहमा जनताको लागि जनताको मान्छे जनताले नै चुनेर पठाउन सक्ने र गलत गरेमा त्यसलाई फिर्ता गर्न सक्ने अधिकार जनतामा निहित हुने गरेर गर्नुपर्दछ । अर्थात् प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राइट टु रिकलको व्यवस्था सुनिश्चित गर्नुपर्दछ ।

देशमा आर्थिक व्यवहार घटाउनको लागि नागरिकलाई श्रमदानसँग जोड्ने र कर्मचारीतन्त्रको संरचनालाई बदल्नु पर्दछ । राज्यमा उत्पादन भएका वस्तुको खपतको लागि बजारको निर्माण ,कामप्रतिको सम्मान र बाहिरी आयतलाई बन्द गर्नुपर्दछ । राज्य आजको भोलि निर्माण हुने होइन तर देशमा न्याय ,सुशासन र सिस्टमको निर्माण भयो भने मात्र नागरिकको विश्वास बढ्छ । विदेशमा भएका नेपाली देश बनाउने लक्ष्यका साथ लगानी बोकेर स्वदेश फिर्ता हुन्छन् । वैदेशिक लगानीहरु भित्रिदै जान्छ । जसले गर्दा देश कर्मिक रुपमा विकास हुँदै जान्छ । विश्वमा विकास भएका देशको विकासक्रमलाई हेर्दा यसरी नै भएको देखिन्छ ।

जनताको भावना र विश्वासमाथि खेल्दा र अन्याय गर्दै जाँदा आज भुटान,बङ्गलादेश र श्रीलंकाको हालत के भयो त्यो भन्दा खतरनाक अवस्था हाम्रो हुनेवाला छ । नेपाली जनताको सहनशील क्षमता , यथास्थितिमा रमाउने बानी र छिट्टै प्रतिक्रिया गरिहाल्ने र दीर्घकालसम्म हानि नोक्सानी नपुर्याउने स्वभावलाई बुझेर शासन व्यवस्थामा रहेका नेतृत्वले जुन हिसाबको कुशासन, भ्रष्टाचार, बेथिति, बेरोजगारी र अन्याय गर्दै आइरहेका छन् । त्यसलाई नेपाली जनताले यो ७० वर्षमा राम्रोसँग भोगेका छन्, बुझेका छन् र मूल्याङ्कन गरेका छन् । अब यसको विस्फोट हुने समय आएको छ । यसको नेतृत्व पनि ती पुराना तत्वले गर्दा फेरि हाम्रो संघर्ष र बलिदान खेर जान्छ । यसबारेमा जनता सजक हुन आवश्यक छ ।

अहिले जनताले भोगेको अन्यायको, निराशाको फाइदा उठाएर जनताको मुद्दा भन्दै फेरि त्यस्ता व्यक्ति नेतृत्वमा आउन सक्छन् । जसले गर्दा जनताको बलिदान खेर जान सक्छ र देश फेरि अस्थिरता तर्फ जान सक्छ । यस बारेमा जनताले राम्रोसँग बुझ्नुपर्दछ । आजको सूचना प्रविधिको जमानामा तपाईँ हामीसँग प्रशस्त सूचनाहरु छन् । देशमा कस्ले जनताको पक्षमा काम गर्न सक्छ । कस्ले गर्न खोजिरहेको छ । त्यसको पृष्ठभूमि कस्तो छ ।

यी सबै कुराको बारेमा राम्रोसँग अध्ययन गरेर विद्रोहको सुरुवात गर्नुपर्दछ । यो मुभमेन्ट जनताको लागि जनताले नै गर्नु पर्दछ । जनताको प्रत्यक्ष पहलबाट शासन व्यवस्थामा पठाउन सक्ने र त्यहाँबाट फिर्ता बोलाउन सक्ने लोकतान्त्रिक शासन व्यवस्था भएमा मात्र स्थिरता कायम हुन्छ । अन्यथा यदि जनताले यही अवस्थामा रमाएर बस्ने हो भने देशमा निरङ्कुशताको जन्म हुन्छ । अब यो व्यवस्था यत्तिकै रहनेवाला छैन । कसै न कसैले यसलाई टेक ओभर गर्छ ।

किनकि यहाँ अत्याचार धेरै भएको छ । सामान्य जीवनस्तरमा आफ्नो पेन्टिङ गरेर जीवन चलाइरहेका हिटलरले जब यहुदी र अन्य देशका नागरिकले आफ्नो अधिकार र बजार खोसेको र अत्याचार गरेको सहन सकेनन् र ६० लाख यहुदी र लाखौं निर्दोष नागरिकलाई बलिदान दिनुपर्यो त्यसैगरी भोलि नेपालमा पनि यसरी अत्याचार बढ्दै जाँदा यी अहिलेका नेता र तिनका कार्यकर्ताहरुको बलिदान भोलि अर्को कुनै व्यक्तिले नदेला भन्न सकिँदैन ।

यदि नेपाली नागरिकले विद्रोह नगर्ने र यस्तै यथास्थितिमा रमाएर बस्ने हो भने सेना वा अदालतले भएपनि टेकओभर गरेर राज्यमा निरंकुश शासन व्यवस्था लगाएर भएपनि देशलाई बचाउनु पर्दछ । देश बचे मात्र हाम्रो स्वाभिमान बाँच्नेछ र हामीले हाम्रो अधिकार पाउनेछौँ । अन्यथा यही अवस्था र व्यवस्थामा देश रहनेवाला छैन ।