आँखा अस्पतालको सुविधायुक्त शल्यक्रिया भवन बन्ने
गोरक्ष समाचारदाता
तुलसीपुर, १४ असोज । राप्ती आँखा अस्पतालमा सुविधा सम्पन्न शल्यक्रिया भवन निर्माण हुने भएको छ । करिब साढे चार करोड रुपौयाँ लागतमा ओटी भवन निर्माण कार्य केही समयमै सुरु हुने नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालमा भारतीय राजदुतावास अन्तर्गत भारतीय राजदूतावासको आर्थिक सहयोगबाट तुलसीपुर उपमहानगरपालिकामार्फत सुविधा सम्पन्न शल्यक्रिया भवन निर्माण हुन लागेको हो ।
राप्ती आँखा अस्पतालको अत्याधुनिक सुविधा सम्पन्न शल्यक्रिया भवन निर्माणका लागि हालै काठमाडौंमा त्रिपक्षीय सम्झौता भएको छ । भारतीय राजदूतावास, तुलसीपुर उपमहानगरपालिका, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबिच सम्झौताको काम सम्पन्न भएको हो । निरन्तर प्रयासपछि गौरवको आयोजना भारतीय राजदूतावासबाट स्वीकृत भई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालमा एक कार्यक्रमबिच सम्झौता भएको अध्यक्ष गिरीले जानकारी दिए ।
भारतीय राजदूतावासका प्रथम सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका सहसचिवसहित तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का, आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, आँखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सम्शेर थापालगायतको सहभागितामा सम्झौता भएको हो । करिब साढे चार करोड लागतमा भवन निर्माण डेढ वर्षको अवधिमा सम्पन्न हुनेछ । भवन निर्माणसँगै अब राप्ती आँखा अस्पतालमा सेवा सहज हुने अध्यक्ष गिरीले जानकारी दिए ।
उनले यो गौरवको योजना ल्याउनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । ‘सबैको साथ र सहयोगमा यो योजना ल्याउन सफल भएका छौँ, यसका लागि प्रत्यक्ष परोक्ष रूपमा सहयोग गर्नुहुने सबैलाई म धन्यवाद दिन चाहन्छु’, अध्यक्ष गिरीले भने । उनले अब केही दिनमा तुलसीपुर उपमहानगरपालिकाले टेण्डर आह्वान गर्ने र त्यो सँगै भवन निर्माणको काम अगाडि बढाउने बताए ।