Goraksha

National Daily

सकारात्मक सोंचबाट वातावरणीय अनुकुलन

केपी सुवेदी

मनसुनी बर्षा सकिनै लाग्दा एकपटक तान्डव मचाउँदै मुलुकका धेरै भागमा बाढीपहिरो र डुबानले त्रास निम्त्याएको छ । हुन त यो पटक मात्र होइन केही वर्षको अन्तरालमा अधिक बर्षाले ल्याउने विपदको सामना गर्न परिरहेकै छ । मानिसले चाहेर नचाहेर यसको आउने जाने रोकिँदैन लामो समय पानी नपरेर पानीका मुहान सुकेर मानिस, पशुपन्छि सबै छटपटाउने समय पनि आइराखेकै हुन्छ ।

पहिले लामो खडेरी पर्दा वनजंगल नासिएर जमिन मरुभूमि उन्मुख भएर पानी नपरेको भन्ने तर्क वितर्क धेरै नै गर्ने गरिन्थ्यो । तुलनात्मक रुपमा अहिले वन संरक्षणमा विश्वको ध्यानाकर्षित भएको छ । यति हुँदा पनि जलवायुद्वारा उत्पन्न प्रकोप विभिन्न समस्या बनेर तेर्छिने गरिनै रहन्छ । एक वर्षमा कति थरिका मौसमको प्रतिकुलताबाट मानिसले प्रताडद्रित हुनुपर्छ बेहिसाब छ ।

गर्मीमा खपि नसक्नु गर्मी,जाडोमा शीत लहर, बर्षामा अविरल बर्षाबाट उत्पन्न बाढीपहिरो डुबानबाट कतिलाई डुबाएको छ, कतिको ज्यानै लिएको छ । असारको पहिलो साता यो वर्षको मनसुन ताप्लेजुंग भएर देशैभरि फैलिदा साउनको दोस्रो सातासम्म दुईसय मानिसको ज्यानै लियो, हजारौँको बस्ने बास बगायो, उठिबास गरायो, लगाएको बाली सहित उर्वर जमिन बगरमा परिणत गरिदियो । यही क्रम असोज महिनाको दोस्रो सातामा फेरि दोहरियो ।

एक साताको बर्षाले बाटो, पुलपुलेसाहरु, विधुत आयोजनाहरु लगायत भौतिक संरचनाहरु ध्वस्त पारिदिएर मानिसको विकास विथोलिरहेको प्राकृतिक जसरी पनि नखपि सुखै छैन किनभने यो हुनबाट रोक्नु वा चाहेको जति गराउनु मानिसको क्षमताबाट सम्भव छैन । यस्तो असम्भव प्राकृतिक विपदको सामना गर्न विपद व्यवस्थापनको पूर्व तयारी वा सतर्कता सबैभन्दा राम्रो उपाय भए पनि धेरै अव्यवस्थाबाट ग्रस्त रहँदै आएको हाम्रो मुलुक पहिलेका घटनाबाट सिक्ने कुरामा पछाडी नै रहेको छ ।

यसपटक फेरि पनि बाढीपहिरोको विपद दोहरिएर धेरैजना मारिएका छन्, सडक भासिएर सवारीसाधन चल्न नसक्ने अवस्थामा आइसकेको छ । राजधानी काठमाडौं जोड्ने मुख्य सडक धेरै ठाउँमा अवरुद्ध भएको समाचारहरु आइरहेका छन् । हाम्रो जमिनको अवस्थिति र धरातलीय रचनाले निम्तिएको दुर्भाग्यपूर्ण अवस्थाको एक्लो जिम्मेवार कोही हुन सम्भव छैन तर प्राकृतिक विपदमा परेर उद्धारको आवश्यकता देखिएको ठाउँमा जुनसुकै तहको होस् जनप्रतिनिधि वा सरकारको प्रतिनिधि त्यहाँ पुगेको हुनुपर्छ । उद्धारमा एकछिन ढिलो गर्दा ज्यान जाने खतरा भएको अवस्थामा त्यहाँ राज्यको कुनै पनि सक्रियता हुनुप¥यो ।

सरकारी संयन्त्रको उपस्थिति नभएको अवस्थामा उसको ध्यानाकर्षण गराउनु र आफू र घटनास्थल वरिपरिका मानिस जुटेर सकेसम्म छिटो सुरक्षित स्थानसम्म पु¥याउनु मानवीय धर्म हो । विपदको बेलामा पनि राजनीति गर्ने गलत प्रवृत्ति हाम्रो यहाँ अलि बढी भइरहेको छ । यस्तो बेलामा कसैको नाममा समस्याको जिम्मेवारी बोकाएर आनन्द लिनु वा लोकप्रिय छु भन्ने भ्रम कसैलाई हुन्छ भने आत्मघाति चेतना हो किनभने विपद कसैलाई सूचना दिएर वा विभेद गरेर आउँदैन । भूगोल, भौगोलिक संरचना र याम अनुसारको जलवायु प्रकोपबाट विपदजन्य घटनाको जन्म हुन्छ ।

हाम्रोमा बाढीपहिरो बढी छ, त्यसपछि डुबानको समस्या हुन्छ अर्को भू–बनावट भएको चिनमा भारतमा फरक खालको हुने गरेको सुनेका छौँ ।अमेरिकामा बेला–बेलामा आँधि तुफानले निमेष भरमा कैयौँ मारिएका र घाइते भएको समाचारले उल्लेख गरेका छन्, त्यसको नामाकरण गरिसकेका हुन्छन् र यसपटकको आधिको नाम हेलेन रहेको बताइन्छ ।

राज्यका संयन्त्र चुस्त र क्रियाशील हुने हुँदा छिट्टै उद्धारको काम हुन्छ । पूर्वानुमान सूचना प्रणाली अत्याधुनिक हुने हुँदा पूर्व तयारी यथासम्भव गरिएको हुन्छ । तिनिहरुकै आविष्कारको विश्वव्यापीकरण भएपछि मात्र उपलब्ध हुने हाम्रो सूचनाका स्रोत एवम् प्रशारण पूर्ण क्षमताका हुन पनि सक्दैनन् । करिब एक महिना अघिको भीषण बर्षाले प्युठानको बाग्दुला बजारको पक्की सडक खोलोमा परिणत हुँदै बगर बनेको देखिन्थ्यो । त्यो अप्रत्याशित, अनपेक्षित घटनाको जिम्मेवार कोही व्यक्तिगत कसैगरी हुन सक्दैन ।

मानवीय क्रियाकलापले पर्यावरणीय सन्तुलनमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न हाम्रो सामूहिक जिम्मेवारी छ । जलवायु परिवर्तनबाट परेको प्रतिकुल प्रभाव घटाउन वातावरण अनुकूलन आचरण प्रदर्शन गर्नु र गर्न प्रेरित गर्नु कर्तव्य हुन्छ । अलिकति समय सापेक्ष हुने प्रयास गरिरहेकाप्रति खुसी नै हुनुपर्छ ।

यसपटक बर्षाको वितण्डाको पूर्वानुमान गर्ने मौसम पूर्वानुमान महाशाखाले पूर्व सूचनाद्वारा नागरिकलाई सचेत गराएको हो सू–सूचित हुने हाम्रो पालो हो । कतिलाई विस्वासको समस्या पनि देख्न सकिन्छ ।सकारात्मक सोचमा कमी आयो भने वा नकारात्मकता बलियो हुँदै गयो भने त्यहाँ एउटा खाडल बन्न पुग्छ । त्यो खाडलमा एकदिन आफै खस्ने दिन आउँछ । यस्तो नकारात्मकता बहकाउबाट जन्मिने गर्छ । स्वस्थ र स्वच्छ चिन्तन गर्नेले त्यस्तो खाडलमा जाकिनबाट जोगाउँन सक्छ ।