शिक्षा सुधारका सवालहरु
1 min readयादव गिरी
गत वर्षको एसइई परीक्षामा केवल ४७.८६ प्रतिशत विद्यार्थीले मात्र ग्रेड प्राप्त गरे, जसले देशको शिक्षा क्षेत्रमा ठूलो तरंग ल्याएको छ । जब कुनै देशको शिक्षा प्रणालीमा ५० प्रतिशतभन्दा कम विद्यार्थीले पास गर्छन् त्यसप्रति शङ्का हुनु स्वाभाविक हो । यस तथ्यले न केवल राज्यको शिक्षा प्रणालीलाई कमजोर देखाइरहेको छ, बरु शैक्षिक गुणस्तरप्रति गम्भीर प्रश्न पनि उठाएको छ । पहिले शिक्षामा पहुँचको सवाल प्रमुख थियो, तर अहिले गुणस्तरको बहस प्राथमिकतामा छ ।
दिगो विकासका लक्ष्यमा गुणस्तरीय शिक्षालाई उच्च प्राथमिकता दिइएको छ । युनेस्कोले गुणस्तरीय शिक्षाका चार स्तम्भ खडा गरेको छ, जसले शिक्षा नीति, पाठ्यक्रम, र मूल्याङ्कन प्रणालीमा गुणस्तरको महत्वलाई उजागर गरेको छ । यद्यपि, गुणस्तरीय शिक्षाको स्पष्ट परिभाषा कतै पाइँदैन । गुणस्तरीय शिक्षा के हो भन्ने प्रश्नमा शिक्षाविद्बिच एकमत छैन । यो शिक्षाको स्थान र सन्दर्भअनुसार फरक हुन सक्छ, तर यसलाई मापन गर्ने सापेक्ष सूचकहरुको विकास अझै भएको छैन । यही सोरोफोरोमा यो आलेख केन्द्रित भएको छ ।
गुणस्तरीय शिक्षा
गुणस्तरीय शिक्षा भनेको मानिसमा मानव मूल्य, आधारभूत ज्ञान, सिप, दक्षता र क्षमता आर्जन गर्दै नैतिकवान, चरित्रवान, कर्तव्यनिष्ठ, अनुशासित र आदर्श नागरिक तयार गर्ने प्रक्रिया हो । यस्तो शिक्षाले नागरिकमा स्वायत्तता, आत्मनिर्भरता र स्वावलम्बनको विकास गर्छ । यसले श्रमको सम्मान गर्न सिकाउँछ र स्वदेशी माटोमा टिक्न सक्ने तथा विदेशी माटोमा बिक्न सक्ने क्षमता प्रदान गर्छ ।
गुणस्तरीय शिक्षा विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई सन्तुष्ट बनाउँदै मानव जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहायक हुन्छ । गुणस्तरीय शिक्षा केवल राम्रो अंक र प्रमाणपत्रमा सीमित हुँदैन । यो सिकाइको वास्तविक मूल्यलाई बुझ्न, आलोचनात्मक सोचको विकास गर्न, र व्यवहारमा लागू गर्न केन्द्रित हुन्छ । गुणस्तरीय शिक्षा गतिशील र विभेदरहित समाजको आधार हो यसले युद्ध, गरिबी र अशिक्षासँग लड्न सक्ने क्षमता दिन्छ । अर्थात समाज र देशको गरिबी अन्त्य गरी विभेदरहित र उन्नत समाज निर्माण गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो ।
योग्य, प्रशिक्षित, र समर्पित शिक्षक गुणस्तरीय शिक्षाका लागि आधारभूत तत्व हुन् । शिक्षकको ज्ञान, दक्षता, र नेतृत्वले विद्यार्थीमा सकारात्मक प्रभाव पार्छनै । सूचना तथा सञ्चार प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रभावकारी प्रयोगले शिक्षण प्रक्रिया सजिलो र प्रभावकारी बनाउँछ । यसले विद्यार्थीलाई विश्वव्यापी ज्ञानसँग सजिलै जोड्न सक्षम बनाउँछ । प्रत्येक विद्यार्थीको क्षमता फरक हुन्छ, र शिक्षा प्रणालीले यी विविध क्षमतालाई सम्मान गर्दै उनीहरुको आवश्यकता अनुसार शिक्षण प्रदान गर्नुपर्छ । यसले शैक्षिक समानताका साथ समावेशीकरणलाई प्रोत्साहन गर्छ ।
गुणस्तरीय शिक्षाले मात्र सैद्धान्तिक ज्ञान दिँदैन, यसले जीवनोपयोगी व्यावहारिक सिप पनि सिकाउँछ । यसले विद्यार्थीलाई रोजगारी र उद्यमशीलतामा सक्षम बनाउँछ । मूल्याङ्कन प्रणाली केवल परीक्षा केन्द्रित हुनु हुँदैन । यसले विद्यार्थीको समग्र व्यक्तित्व र उनीहरुको वास्तविक क्षमतालाई मापन गर्नु पर्ने हुन्छ । परीक्षण प्रणालीले उनीहरुको र्सिजनशीलता, आलोचनात्मक सोच, र समस्या समाधान गर्ने क्षमतामा पनि जोड दिनुपर्छ ।
गुणस्तरीय शिक्षाले व्यक्तिलाई आत्मविश्वासी, जिम्मेवार, र समाजप्रति समर्पित बनाउँछ । यसले तिनमा समस्याको समाधान गर्ने क्षमता र सिर्जनशीलता विकास गर्छ । समाजमा समता, समानता, र समावेशीकरणको भावना प्रवद्र्धन गर्दछ । गुणस्तरीय शिक्षाले विभेद अन्त्य गर्दै, समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । गुणस्तरीय शिक्षा राष्ट्रको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासको मेरुदण्ड हो । यसले उत्पादनशील नागरिक तयार गरेर राष्ट्रको विकास र प्रगति सुनिश्चित गर्छ । तसर्थ गुणस्तरीय शिक्षा भनेको केवल प्रमाणपत्र वा अंकप्राप्ति नभएर विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्ने प्रक्रिया हो, जसले उनीहरुलाई जीवनभर सफल र समाजमा योगदान दिन सक्षम बनाउँछ ।
परम्परागत रुपमा शिक्षाले ज्ञान आर्जनमा मात्र जोड दिन्थ्यो । १९६० को दशकदेखि विकासात्मक सोचले व्यावसायिक र रोजगारी केन्द्रित शिक्षामा जोड दिन थालेको हो । १९९० को दशकमा पहुँच केन्द्रित शिक्षाले महत्व पायो भने २१औँ शताब्दिको प्रारम्भदेखि शिक्षा अधिकारको रुपमा स्थापित भयो । शिक्षामा समता, समानता, र समावेशिताको बहस उठ्न थालेको छ । आज शिक्षाले सिकाइमा ध्यान दिन्छ र सिकाइले गुणस्तरलाई महत्व दिन्छ, तर हाम्रो शिक्षामा सिकाइ अझै गुणस्तर केन्द्रित हुन सकेको छैन ।
गुणस्तरीय सिकाइका लागि सक्षम नेतृत्व, उत्कृष्ट शिक्षक, उत्सुक विद्यार्थी, नवीन सोच, बालमैत्री विद्यालय, सूचना सञ्चारयुक्त शैक्षिक सामग्री, र उपयुक्त वातावरण जस्ता शैक्षिक मापदण्ड आवश्यक हुन्छन् । शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा प्रणाली, शैक्षिक व्यवस्थापन, भौतिक पूर्वाधार, अनुगमन र नियमनले सिकाइमा प्रभाव पार्छन् तर यी ठूला प्रश्नमा खासै बहस भएको पाइँदैन ।
शिक्षाको औपचारिक स्वरुप
शिक्षाको औपचारिक स्वरुप भनेको व्यवस्थित, संरचित, र संस्थागत रुपले सञ्चालन गरिने शिक्षा प्रणाली हो । यस प्रकारको शिक्षा विद्यालय, कलेज, विश्वविद्यालय जस्ता औपचारिक शिक्षालयमा प्रदान गरिन्छ, जहाँ निश्चित पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि, र परीक्षा प्रणाली अपनाइन्छ । यो संरचनाबद्ध हुने भएकाले निश्चित समय र स्थानमा शिक्षण प्रक्रिया सञ्चालन हुन्छ । हामीले खोजेको गुणस्तरीय शिक्षाको मुख्य आधार शिक्षालय हो, जसको स्वरुप औपचारिक छ ।
यसले प्रमाणपत्रमुखी शिक्षामा मात्र जोड दिन्छ र सिकाइलाई निरपेक्ष मान्दछ । यस्तो औपचारिक शिक्षाले हामीलाई उच्च अंक प्राप्त गर्न, पाठ्यपुस्तक घोक्न, अंग्रेजी माध्यममा अध्ययन गर्न र रटन्ते शिक्षालाई गुणस्तरको मापदण्ड ठान्न सिकाएको छ । शिक्षा मन्त्रालयदेखि विद्यालय तहसम्मको गुणस्तर निर्माणले शैक्षिक सुन्दरतालाई उपहास गरेको छ ।
डर, त्रास, दण्ड र रटन्ते प्रणालीबाट प्राप्त उपलब्धि कदापि गुणस्तरीय शिक्षा हुन सक्दैन ।शिक्षाको औपचारिक स्वरुपले शिक्षण प्रक्रियालाई व्यवस्थित र अनुशासित बनाउँछ । यद्यपि यसले सैद्धान्तिक ज्ञानको साथै व्यावहारिक सिपमा पनि जोड दिन आवश्यक छ । शिक्षाको यो स्वरुपले व्यक्तिगत, सामाजिक, र व्यावसायिक जीवनमा आधार तयार गर्छ, तर यसलाई अझ प्रभावकारी बनाउन नविनतम् शिक्षण विधि, प्रविधिको उपयोग, र विद्यार्थीको व्यक्तिगत विकासमा केन्द्रित हुन जरुरी छ ।
शिक्षामा ICT र AI को प्रयोग
शिक्षा एक गतिशील अवधारणा हो । विज्ञान प्रविधिको विकासले गर्दा आजकल विद्यार्थीले पढ्नका लागि मात्र विद्यालय जानु पर्ने आवश्यकता छैन । अहिलेका विद्यार्थीले ICT र AI जस्ता उपकरण प्रयोग गरेर आफ्ना रुचि र आवश्यकता अनुसारका विषयवस्तु सजिलैसँग पत्ता लगाउन सक्छन् । ऋजबत न्एत् का निर्माता स्याम अल्टमनले भनेका छन् आगामी १० वर्षमा तपाईले जुनसुकै क्षेत्रमा विशेषज्ञको रुपमा काम गर्ने च्याटबट पाउनु हुनेछ । यसले देखाउँछ कि ज्ञान केन्द्रित शिक्षाका लागि औपचारिक शिक्षालयमा मात्र भर पर्नु अब आवश्यक छैन ।
शिक्षालाई अब अंक होइन, सिपसँग जोड्न आवश्यक छ । सिपलाई रोजगारीसँग, रोजगारीलाई आयसँग, र आयलाई उत्पादनसँग जोडेर समाजवाद उन्मुख शिक्षा प्रणालीको जग बसाल्नुपर्छ । आजको शैक्षिक परिदृश्यमा सूचना तथा सञ्चार प्रविधि र कृत्रिम बुद्धिमत्ताको भूमिका अत्यन्त महत्वपूर्ण छ । यी प्रविधिहरुले शिक्षण र सिकाइको प्रक्रिया मात्र होइन, शैक्षिक पहुँच, दक्षता, र प्रभावकारितामा समेत व्यापक सुधार ल्याइरहेका छन् । क्ष्ऋत् र ब्क्ष् को प्रयोगले शिक्षालाई परम्परागत सीमाबाट बाहिर ल्याएर थप समावेशी, सुलभ, र व्यक्तिगत बनाइरहेको छ ।
शिक्षामा ICT र AI को प्रयोगले शिक्षा प्रणालीलाई आधुनिक, सुलभ, र प्रभावकारी बनाउँदैछ तर यसको समुचित प्रयोग र उपलब्धता सुनिश्चित गर्न आवश्यक पूर्वाधार र नीतिगत सुधार आवश्यक छ । डिजिटल साक्षरता, प्रविधिमा समान पहुँच, र शिक्षकको तालिममा सुधार गरेर ICT र AI को प्रभावकारी प्रयोगमार्फत् शिक्षामा गुणस्तर वृद्धि गर्न सकिन्छ ।
सिकाइ परिणाम
हाम्रो शैक्षिक गुणस्तरले सिकाइ उपलब्धिको कुरा गर्छ, तर सिकाइ परिणामको कुरा गर्दैन । सिकेको कुरा व्यवहारमा लागू गर्ने परिपाटि छैन । रचनात्मकता, आलोचनात्मक सोच, र समस्या समाधान गर्ने क्षमताको विकास गर्ने शिक्षा प्रणालीको विषयमा पर्याप्त बहस भएको छैन । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले व्यवहारिक सिपलाई तल्लो तहमा मात्र जोड दिएको छ, तर माथिल्लो तहमा कसरी यो सिपलाई विषयवस्तुसँग जोडेर शिक्षण गर्ने भन्ने कुरा स्पष्ट छैन । सिकाइलाई जीवनोपयोगी र वैज्ञानिक बनाउन सफ्ट स्किललाई मुख्य आधार बनाएर शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक छ । यो सुधार गर्ने भनेकै दक्ष शिक्षकले हो ।
गुणस्तरीय शिक्षाका लागि योग्य र सिपयुक्त शिक्षक अपरिहार्य हुन्छ तर, नेपालमा शिक्षकलाई पर्याप्त तालिम छैन, नवीनतम सोच र अनुसन्धानको कमी छ । शिक्षकको अनुसन्धान कार्य प्रभावकारी छैन र प्रभावकारी अनुगमन पनि हुन सकिरहेको छैन । थप रुपमा, शिक्षक सेवा आयोगको समावेशी व्यवस्थाले समावेशितालाई सन्तुलनमा राखेको भए पनि खुला प्रतिस्पर्धाबाट छनोट भएका दक्ष शिक्षकसँग तालमेल मिलाउन कठिन छ । यो समस्यालाई समाधान गर्न शिक्षा क्षेत्रमा आरक्षण प्रणालीलाई पुनर्विचार गर्नु आवश्यक छ ।
समावेशी शिक्षा
हरेक विद्यार्थीको फरक क्षमता हुन्छ, र तिनका क्षमताअनुसार प्रतिभा विकास गरेर सिप प्रदान गर्न सकियो भने शिक्षाको गुणस्तर उकास्न सकिन्छ । यद्यपी संथागत विद्यालयले समावेशी शिक्षालाई खासै महत्व दिएको पाइँदैन भने सामुदायिक विद्यालयमा छात्रवृत्तिको वितरणले केही हदसम्म समावेशी बनाउने प्रयास गरेको भए पनि कक्षा कोठामा प्रभावकारी समावेशीकरणको कमी छ । त्यसैगरीे मूल्याङ्कन प्रणाली परीक्षा केन्द्रित छ, जसमा आन्तरिक र वाह्य मूल्याङ्कनमा सन्तुलन छैन । अक्षराङ्कन मूल्याङ्कन प्रणाली अवलम्बन गरे पनि यो पूर्ण रुपमा प्रभावकारी भएको छैन । मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक र विकसित बनाउन बहस आवश्यक छ ।
अभिभावक र समुदाय
अभिभावकलाई शिक्षासँग कसरी जोड्ने भन्नेमा गम्भीर छलफल आवश्यक छ । सामुदायिक विद्यालयहरुमा अभिभावकको चासो कम छ, तर विद्यालय र समुदाय परिपूरक हुन् । विद्यालयमा सामुदायिक सहभागिता बढाउन सके शिक्षाको गुणस्तर सुधार गर्न सकिन्छ । नेपालको शिक्षा सुधार मन्त्रालय स्तरबाटै सुरु गर्न आवश्यक छ ।
अमेरिका जस्तै नेपालमा पनि शिक्षा बोर्डको गठन गरी संघीय राज्य प्रणाली अन्तर्गत स्थानीय थिङ्क ट्याङ्कको विज्ञताको सदुपयोग गर्नुपर्छ । शिक्षक तालिमलाई प्रभावकारी बनाउने, शिक्षकलाई प्रविधिमैत्री बनाउने, कक्षा कोठालाई भौतिक र मनोवैज्ञानिक दृष्टिले व्यवस्थापन गर्ने, र डिजिटल पाठ्यक्रमको विकास गरेर प्रभावकारी अनुगमन र नियमनको विकास गर्न सकियो भने मात्र शिक्षा गुणस्तरीय बन्न सक्छ ।
नेपालको शिक्षा प्रणाली नीति र व्यवहारको असन्तुलन, कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप, र अदूरदर्शिताका कारण संकटमा छ । अब, शिक्षा प्रणालीलाई सुधार गर्न भौतिक, शैक्षिक, र व्यवस्थापकीय समस्या पहिचान गरेर समाधान खोज्नु अपरिहार्य छ ।