calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

तीन महिनापछि खुल्यो विश्वविद्यालयको ताला

गोरक्ष समाचारदाता
दाङ, ११ असोज । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ । संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा लागेको ताला तीन महिना आठ दिनपछि खुलेको हो ।

१५ दिनको निरन्तर वार्ता र छलफलपछि विहीवारदेखि विश्वविद्यालको केन्द्रीय कार्यालयलगायतका विभिन्न शाखाहरूमा लगाइएका ताला खोलिएको विश्वविद्यालयका तर्फबाट वार्ता टोलीका संयोजक प्राध्यापक योगराज शर्माले जानकारी दिएका छन् । वार्ता टोली संयोजक शर्माका अनुसार विश्वविद्यालयमा अध्ययनरत विभिन्न विद्यार्थी संगठन र आंशिक प्राध्यापकका माग सम्बोधनका लागि विश्वविद्यालय सहमत भएपछि ताला खोलिएको हो ।

आयुर्वेद चिकित्सा अध्ययनरत विद्यार्थीका लागि अस्पताल निमार्णका लागि तत्काल प्रस्तावना निर्माण गरी अघि बढाउने, ओपिडी कक्ष तत्काल सञ्चालनमा ल्याउने, विद्यार्थीले पाउँदै आएको इन्टनसिपलाई निरन्तरता दिने, दुई करार शिक्षकको करार नविकरण गर्ने र विश्वविद्यालयमा देखिएको आर्थिक तथा नीतिगत भ्रष्टाचारका विषयमा सबै सरोकारवाला पक्षलाई सचेत गराउँदै छानबिन गर्ने सहमतिपछि ताला खोलिएको वार्ता टोली संयोजक प्रध्यापक शर्माले जानकारी दिए ।

वार्ता टोली संयोजक शर्माले भने, ‘आन्दोलनरत विद्यार्थी तथा आंशिक प्राध्यापकका माग सम्बोधन गर्न विश्वविद्यालय तयार भएपछि विश्वविद्यालयमा तीन महिना अघिदेखि लागेका ताला खोलिएको छ ।’ दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा अध्ययनरत विभिन्न विद्यार्थी संगठन तथा आंशिक प्राध्यापकले विश्वविद्यालय सुधारसँगै विभिन्न माग राख्दै असार २ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयसँगै विभिन्न शाखाहरूमा तालाबन्दी गरेका थिए ।

तालाबन्दी हुँदा विश्वविद्यालयमा गत आर्थिक वर्षका हिसाबकिताब मिलान तथा भुक्तानी समेत हुन सकेको थिएन । लामो समयदेखि तालाबन्दी भए पछि केही समय अघि विश्वविद्यालयका उपकुलपति भीम खतिवडाले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए ।