उपभोक्ता अधिकारप्रति सरकार गम्भीर बन्नुपर्छ : नेता कोइराला
गोरक्ष समाचारदाता
दाङ, ११ असोज । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले उपभोक्ता अधिकार संरक्षणमा सरकारले गम्भीर हुनु पर्ने बताएका छन् । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले विहीवार घोराहीमा आयोजना गरेको ‘वर्तमान अवस्थामा आपुर्ति व्यवस्था र उपभोक्ता अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले उपभोक्ता अधिकारका सवालमा सरकार गम्भीर बन्नु पर्ने बताएका हुन् ।
दिन प्रतिदिन महँगी बढिरहने र बाहिरबाट आयात हुने खाद्यवस्तुको परीक्षण नहुँदा उपभोक्ता ठगिने अवस्था रहेको भन्दै नेता कोइरालाले त्यसलाई रोक्न सरकारले ध्यान दिनु पर्ने र आफ्नो अधिकार पूर्ति उपभोक्ता पनि सचेत बन्नु पर्ने बताए । देशमा उपभोक्ता हितका लागि उपभोक्ता संरक्षण ऐन र विभिन्न क्षेत्रगत कानुन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा उपभोक्ता ठगिने गरेको भन्दै नेता कोइरालाले भने, ‘राज्यका संयन्त्र प्रयोग गरेर महँगी र कालोबजारीसँगै विषादी परीक्षणको व्यवस्था गर्नु पर्छ ।’ कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट लगानी हुन नसक्दा देश आर्थिक रूपमा पछाडि पर्नुका साथै बेरोजगारी समस्या बढेको भन्दै नेता कोइरालाले आर्थिक समृद्धिसँगै रोजगारीमा लगानी बढाउनु पर्ने बताए ।
देशमा पर्याप्त खाद्यवस्तु उत्पादन नहुँदा बाहिरबाट आयात गर्नु पर्ने बाध्यता रहेको भन्दै कोराइलाले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादनमा वृद्धि गर्नु पर्ने बताए । ‘कृषि क्षेत्रमा पर्याप्त लगानी नहुँदा उत्पादन बढ्न सकेको छैन, जसले गर्दा बाहिरबाट आयात गर्नु पर्ने अवस्था भइरेको छ’, उनले भने, ‘यसलाई रोक्न कृषि क्षेत्रमा लगानी बढाउँदै नयाँ पुस्तालाई कृषिमा आकर्षित गर्नु पर्छ ।’ कृषि पेसासँगै उद्यमी र व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालनामा ध्यान दिन सके गुणस्तरीय वस्तु उत्पादनसँगै स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने बताएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले खाद्यवस्तु परीक्षण गरेर मात्र उपभोग गर्ने वातावरण मिलाउनु पर्ने बताए । खाद्यवस्तुको परीक्षण गर्ने व्यवस्था नहुँदा विषादीजन्य वस्तु खाइरहने र त्यसले स्वास्थ्यमा गम्भीर खालको असर गरिरहेको भन्दै किसानलाई विषादीरहित तरकारी उत्पादनसँगै बाहिरबाट आयात हुने खाद्यवस्तुको अनिवार्य परीक्षण हुनु पर्ने व्यवस्था गर्नु पर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले उपभोक्ताको अधिकारलाई मध्यनजर गरेर नेपाली कांग्रेसले अत्यन्त राम्रो अभियानको सुरुवात गरेको भन्दै अभियानका क्रममा नागरिकलाई सचेत गराउनु पर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेरे बढ्दो महँगीका कारण उपभोक्तासँगै वास्तविक किसान मारमा पर्ने अवस्था रहेको भन्दै उपभोक्तासँगै किसानका समस्या सम्बोधनका लागि कांग्रेसले ध्यान दिनु पर्ने बताएका थिए । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले आपत्ति सहजतासँगै उपभोक्ता अधिकारमा ध्यान दिनु पर्ने बताए । त्यसका लागि नीति सुधार गर्नु पर्ने बताए । संविधान सभा सदस्य अनिता देवकोटाले गुणस्तरीय खाद्यवस्तु उपभोगसँगै व्यावसायिक अधिकारमा ध्यान दिनु पर्ने बताइन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थाका सवालमा नेपाली कांग्रेसले महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको भन्दै यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए । सहभागीले बजार नियन्त्रणमा नहुँदा उपभोक्ताले उपभोग्य सामग्रीमा चर्को मूल्य तिर्नु परेको, पहुँचवालाको हालीमुहाली हुँदा वास्तविक किसानले अनुदानलगायत सुविधा पाउन नसकिरहेको, खाद्यवस्तुमा मिसावट हुने, विषादीजन्य खाद्यवस्तुको परीक्षण गर्ने व्यवस्था नहुँदा स्वास्थ्यमा गम्भीर असर देखापर्ने क्रम बढेकाले त्यसतर्फ ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।
यसैगरी सहभागीले सरकारले अनुदान दिँदा लागतमा नभएर उत्पादनमा दिनु पर्ने, कृषिलाई मर्यादित पेसा बनाउन सोही अनुसारको नीति बनाएर कार्यान्वयन गर्नु पर्ने र अहिलेको आपूर्ति व्यवस्थापनमा सुधार गर्नु पर्ने, किसान परिचयपत्रको व्यवस्था गरेर अनुदानको व्यवस्था गर्नु पर्नेलगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती, नेपाली कांग्रेस पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशरी गौतमलगायतले कार्यक्रममा सुझाव तथा अतिथिसँग जिज्ञासा राखेका थिए । कार्यक्रमका सहभागीलाई स्वागत तथा कार्यक्रमको उद्देश्यबारे नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आपूर्ति तथा उपभोक्ता विभागका संयोजक गुरु बरालले प्रकाश पारेका थिए । कार्यक्रममा वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकार विषयक कार्यपत्र विभागका केन्द्रीय सदस्य एवम् अधिकारकर्मी प्रेमलाल महर्जनले गरेका थिए । विभागकी केन्द्रीय सदस्य देवका नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले गरेका थिए ।