Goraksha

National Daily

आफ्नै ठाउँमा केही गरिखाने वातावरण बनाएर विदेश पलायन रोक्न जरुरी छ : अध्यक्ष बाठा मगर [अन्तर्वार्ता]

रुकुम–पश्चिमको बाँफीकोट गाउँपालिका धार्मिक पर्यटनका हिसावले राम्रो सम्भावना बोकेको गाउँपालिका हो । कर्णाली प्रदेशकै पर्यटकीय स्थल स्यार्पुताल, दुधिलचौर तीर्थधाम, पिपलको मेलगैरी, झारमारेलगायतका चर्चित पर्यटकीय स्थान यही गाउँपालिकामा छन् ।

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट जनककुमार बाँठामगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाको विकासका लागि गरेका मुख्य काम, भइरहेका गतिविधि, चुनौती, सम्भावना र आगामी योजनाबारे रुकुम पश्चिम निवासी गोरक्षकर्मी राजु लामिछानेले गर्नुभएको कुराकानीको सार सङ्क्षेप ।

 गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको दुई वर्ष बढी समय भयोे । यस अवधिमा गाउँपालिकाको विकासका लागि गरेका मुख्य काम के–के हुन् ?

 स्थानीय तहको जिम्मेवारी सम्हालेको दुई वर्ष बढी समय भयो । यो बिचमा गाउँपालिकाको विकासका लागि धेरै काम भएका छन् । निर्वाचित भएपछि हामीले पूर्वाधार व्यवस्थापनसँगै सेवा प्रवाह सहज र सरल बनाउन प्राथमिकता दिएर काम गरेका छौँ । यो अवधिमा हामीले सबै वडा कार्यालयमा सौर्य ऊर्जा जडान, इन्टरनेट सुविधा र अनलाइनमा आधारित भएर सफ्टवेयरमार्फत् राजस्व सङ्कलन, गाउँपालिकाका सबै विद्यालयमा विद्युत् जडान र इन्टरनेट सेवा पु¥याएको छौँ । त्यसैगरी गाउँपालिकाका सबै कार्यालयमा ई–हाजिरी सेवा सञ्चालन गरेका छौँ ।

त्यसैगरी गाउँमै योजना सम्झौता गरेर प्रभावकारी रूपमा कार्यान्वयन गर्नेलगायतका काम सुरु गरेका छौँ । विपतका घटनापछि पीडितलाई तत्कालै राहत वितरण गरिने पद्धति विकास गरेका छौँ । सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको बैंक खातामै जाने व्यवस्था गरेका छौँ । छिनखेतमा गाउँपालिका अस्पताल सञ्चालनको तयारी अवस्थामा पुगेका छौँ । स्वास्थ्यचौकीमा औषधी अभाव हुन दिएका छैनौँ । प्रसूतिगृहको स्तरोन्नति गरेका छौँ । यी सबै कामले गाउँपालिकाभित्रका सेवाग्राहीलाई सहज भएको छ । त्यससँगै सडक पूर्वाधारलगायतका विभिन्न काम पनि गरेका छौँ ।

 स्थानीय तहको नेतृत्वमा रहेर काम गर्दा यो अवधिमा के कस्ता चुनौती आइपरेर ती चुनौतीलाई कसरी समाधान गर्ने गरिएको छ ?

 पक्कै पनि जुनसुकै ठाउँमा काम गर्नलाई चुनौती हुने गर्दछन् । हाम्रो स्थानीय तहमा पनि काम गर्दा चुनौती देखिएका छन् । रुकुम–पश्चिम भूगोलको हिसावले यो गाउँपालिका दुर्गम जिल्ला हो । भौगोलिक विकटता त छँदै छ, अर्काेतिर पर्याप्त बजेट हुँदैन । आएको बजेट कार्यान्वयन गर्न सक्ने गरी जनशक्ति छैन । बजेट र जनशक्ति अभाव, विपत्का घटना हुँदाहुँदै गाउँघरमा चरम वेरोजगारी छ । जनताका माग र हाम्रो क्षमताबिच अन्तर छ तर पनि बस्तीस्तरका आवश्यकतालाई प्राथमिकीकरण गरेर योजना निर्माण गरी तिनको प्रभावकारी कार्यान्वयन गर्ने गरेका छौँ । बेरोजगारी समस्या समाधान कसरी गर्ने भन्ने चिन्ता छ ।

पुराना बाँकी काम सम्पन्न गर्ने, जनताका आवश्यकताकै सेरोफेरामा योजना बनाउने, कार्यान्वयन गर्ने काम भइरहेका छन् । सरोकारवाला सबै पक्षसँग नियमित सहकार्य र समन्वय गरी विषयगत क्षेत्रका विकासका कामलाई अघि बढाएका छौँ । भूकम्प र आगलागीले यो गाउँपालिकामा बढी क्षति गरेको छ । माथिल्ला सरकारसँग मिलेर अस्थायी आवास निर्माण र राहतका काम गरिरहेका छौँ । गाउँपालिकाको विकास निर्माणका कामसँगै विपद्को समयमा सबैसँग समन्वय र सहकार्य गरेर विकास निर्माणका कामलाई अघि बढाउने काम गरेका छौँ ।

 कृषि, पर्यटन, धार्मिक स्थलको विकास र प्रवर्धनका लागि के–के काम भइरहेका छन् ?

 पकेट क्षेत्र निर्धारण गरेर किसान र कृषि क्षेत्रको विकासका लागि काम भइरहेका छन् । हामीले गाउँमै केही गरौँ भन्नेलाई युवा, किसानलाई अनुदान सहयोग, सिपमूलक तालिम, उपकरणमा सहयोग गर्दै आएका छाँै । कृषि क्षेत्रमा लागेका किसानको सहजताका लागि स्थानीय उत्पादनलाई बजारीकरण, आयआर्जनमा सहजीकरण, पकेट क्षेत्रलक्षित कार्यक्रम, ब्लक विकास कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यसका लागि प्रदेश सरकारले पनि सहयोग गरिरहेको छ ।

स्थानीय तहकातर्फबाट सिँचाइ आयोजना निर्माण गरिरहेका छौँ । यहाँका पर्यटकीय सम्भावना बोकेका स्यार्पुताल लगायतका पर्यटकीय तथा धार्मिक स्थलको संरक्षण, प्रचार र प्रवर्धनमा जोड दिएका छौँँ । यी स्थानमा घुम्न आउनेको सहज आवासका लागि होमस्टे सञ्चालन भएका छन् । होमस्टेले पनि आन्तरिक तथा बाध्य पर्यटकलाई जिल्लामा बढाउने काम गरिरहेका छन् । त्यसको प्रवद्र्धनका लागि स्थानीय सरकारकातर्फबाट हामीले पनि सहयोग गरिरहेका छाँै ।

 काम गर्ने दौरानमा प्रदेश र सङ्घीय सरकारसँग समन्वय कत्तिको भइरहेको छ ?

 सङ्घीयता सफल पार्न तीनै तहका सरकारबिच नजिकको सम्बन्ध हुनु पर्ने हो तर त्यसमा समन्वय अभाव देखिन्छ । यसै कारण पनि कतिपय योजनामा दोहोरोपनको समस्या छ । ससाना योजना पनि प्रदेश र संघबाट वितरण भएका छन् । स्थानीय सरकारसँग समन्वय गरेर योजना निर्माण र बजेट वितरण गर्दा परिणाममुखी काम हुने निश्चित छ तर त्यो दिशामा काम भइरहेको छैन । सहकार्य र समन्वय दोहोरो हुन जरुरी छ । वास्तवमा विकास गर्ने हो भने तीनै तहका सरकारबिच नजिकको सम्बन्ध हुनु जरुरी छ तर कतिपय योजना स्थानीय सरकारसँग समन्वय नगरेर हालिँदा कार्यान्वयनमा समस्या हुने, त्यसरी काम गरेका योजना गुणस्तरीय नहुने समस्या देखिने गरेका छन् ।

 गाउँघरबाट बेरोजगार युवा विदेशिने क्रम रोकिएको छैन। युवालाई गाउँघरमै राख्न सक्ने केही योजना बनाउनुभएको छ ?

 पक्कै पनि तपाईले गरेको यो कुरा एकदमै साँचो हो । गाउँघरबाट दिनप्रतिदिन युवा विदेश पलायन हुने क्रम बढिरहेको छ । युवा पलायनको असर सबै क्षेत्रमा परिरहेको छ । प्रत्यक्ष रूपमा कृषि उत्पादन घटिरहेको छ । यो दुःखद पक्ष हो । युवा विदेश पलायनको समस्या निकै विकराल छ । त्यसमा पनि हाम्रो यो क्षेत्रबाट धेरै युवा अवैधानिक बाटो भएर लाखौँ रुपियाँ खर्च गरेर विभिन्न देशमा पुग्ने लहर चलेको छ । हरेक घरबाट अमेरिका पुग्नेहरू बढिरहेका छन् ।

यो समस्या रोक्न स्थानीय सरकारको योजनाले मात्रै सम्भव देखिँदैन । यो त सिंगो देशकै समस्या हो । सबै मिलेर स्वदेशमै केही गर्न सक्ने वातावरण र अवसरका लागि गम्भीर हुन जरुरी छ । त्यही खालका योजना बनाउन आवश्यक छ । पालिका र जिल्लास्तरमा पनि थुप्रै सम्भावना छन् । व्यावसायिक कृषि, सिपमूलक र प्राविधिक शिक्षा, स्वरोजगारमूलक योजना सञ्चालन गरेर युवालाई गाउँमै रोजगारी दिन सकियो भने यो समस्या केही हदसम्म कम हुन सक्थ्यो । हामी यी कुरामा गम्भीर भएर लागिरहेका छौँ ।

 गाउँपालिकाले आउँदा दिनमा के कस्ता योजनालाई प्राथमिकता राखेर काम गर्ने योजना छ ?

 गाउँपालिकामा विकासका लागि धेरै काम गर्नु पर्ने छ । सडक, खानेपानी, स्वास्थ्य, शिक्षाल, रोजगारीका लागि धेरै काम गर्नु पर्ने आवश्यकता छ । यहाँका बासिन्दाका समस्या, दुःख तथा उनीहरूको चाहनालाई सधैँ आत्मसात् गर्दै अघि बढेका छौँ । योजनामा जनताको सहभागिता तथा अपनत्व भएमा मात्र विकास गुणात्मक हुन्छ भन्नेमा हामी जानकार छौँ । त्यही भएकाले विकास निर्माणका योजनामा जनसहभागीतालाई पनि जोड दिएका छौँ ।

यस क्षेत्रका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, सबै घरमा खानेपानीको सुविधा, खेती योग्य जमिनमा सिँचाइको सुविधा र कृषिको आधुनीकरणका लागि काम पहल गरिहेका छौँ । त्यसैगरी पशुपालन, पयटकीय क्षेत्रमा पूर्वाधार विकास गर्दै प्रचारप्रसार, हरेक वडा र स्वास्थ्य कार्यालयसँगै सामुदायिक विद्यालयमा भवन निर्माण लगायतका कामलाई प्राथमिकता दिने योजना बनाएका छौँ ।

स्वरोजगार र सिपमूलक तथा प्राविधिक शिक्षामा जोड दिन तिनलाई आगामी योजनामा समेट्ने प्रयास गर्ने छौँ । यी योजना स्थानीय सरकारबाट मात्रै सम्भव नहुने भएकाले यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा सङ्घीय सरकारका जनप्रतिनिधि, प्रदेश तथा सङ्घीय मन्त्रालय र त्यस मातहतमा रहेका विभिन्न विभाग तथा कार्यालयसँग समन्वय गरिरहेका छौँ । आशा छ, निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिबद्धता अनुसार आफ्नो कार्यकालमा काम गर्ने छौँ ।