चखौरामा तरकारी सङ्कलन केन्द्र

प्रमोद आचार्य
दंगीशरण, ५ असोज । दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ३ मा तरकारी सङ्कलन केन्द्रको उद्घाटन गरिएको छ । शुक्रवार दंगीशरण चखौरा कृषि उपज सङ्कलन केन्द्र व्यवस्थापन समितिको आयोजना, युकेएडको आर्थिक सहयोग, प्रेक्टिकल एक्सन डिकोसको सहजीकरण तथा दंगीशरण गाउँपालिकाको समन्वयमा दंगीशरण चखौरा कृषि उपज सङ्कलन केन्द्रको एक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो ।

तरकारी सङ्कलन केन्द्रको उद्घाटन गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिकाका ३, ६, ५ र २ नं. वडामा तरकारी खेतीको राम्रो सम्भावना रहेकाले तरकारी खेतीबाट किसानका जीवनस्तरमा सुधार ल्याउन आफूहरू लागिपरेको बताए । तरकारी खेतीतर्फ किसानलाई व्यावसायिक रूपमा जोड्दै आफूले उत्पादन गरेका वस्तुको उचित मूल्य र बजारीकरणका लागि तरकारी सङ्कलन केन्द्रको आवश्यकता रहेको बताए । अब तरकारी सङ्कलन केन्द्रको उद्घाटनसँगै किसान डोको र छिटुवामा बोकेर तुलसीपुर बजारसम्म लैजाने समस्याको अन्त्य हुने अध्यक्ष गिरीको अपेक्षा छ ।

दंगीशरण वडा नं. ३ का वडाध्यक्ष सुकलाल चौधरीले बिचौलियाको अन्त्य र किसानले उत्पादन गरेका वस्तुभाउले उचित मूल्य पाउने विश्वास व्यक्त गरे । वडा नं. ७ का वडाध्यक्ष रेशम वलीले समय र आर्थिक भारलाई कम गर्दै किसानले आफूहरूले उत्पादन गरेको तरकारीलाई एकै ठाउँमा सङ्कलन गरी थोक रूपमा बिक्रीवितरण गर्न आग्रह गरे ।

यसैगरी समुन्नति परियोजनाका म्यानेजर देवराज भट्टले परियोजना सञ्चालन गर्दै गर्दा वडा र गाउँपालिकाले पूर्णरूपमा सहयोग गरेको र परियोजना सञ्चालनमा सहज भएको उल्लेख गरे । म्यानेजर भट्टले भवन निर्माण मात्र ठुलो कुरा नभई त्यसको दिगोपना र निरन्तरता अपरिहार्य हुने उल्लेख गरे । समुन्नति परियोजनाले परियोजना सञ्चालनपछि निम्न आय स्रोत भएका किसानको जीवनस्तरमा सहयोग गरेको बताए । आफूले उत्पादन गरेका वस्तुको उचित मूल्य पाउन र बिचौलियाको अन्त्य गर्न पनि आफूहरू थोक रूपमा तरकारी बिक्री वितरणमा जुटेको दंगीशरण चखौरा कृषि उपज सङ्कलन केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र चौधरीले बताए ।

युकेएडको आर्थिक सहयोग डिकोस र प्रेक्टिकल एक्सनको सहजीकरणमा वडा नं ३ मा निर्माण सम्पन्न भएको तरकारी सङ्कलन केन्द्रबाट एक सय ७९ घरधुरी प्रत्यक्ष लाभान्वित हुने परियोजनाले अपेक्षा लिएको छ । परियोजनाले एउटा तरकारी सङ्कलन केन्द्र, ६० थान क्यारेट र एउटा डिजिटल काँटा समेत प्रदान गरेको छ । तरकारी सङ्कलन केन्द्रको कूल लागत पाँच लाख ९८ हजार तीन सय ३२ रुपैयाँ २३ पैसामा निर्माण कार्य सम्पन्न भएको हो ।

प्रेक्टिकल एक्सन र डिकोसबाट सञ्चालित समुन्नति परियोजना अन्तर्गत परियोजनाले विगत दुई वर्षदेखि पाँचवटा क्षेत्रमा काम गर्दै आएको छ । उद्घाटन कार्यक्रम चखौरा कृषि उपज सङ्कलन केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष गिरीको प्रमुख आतिथ्यता एवम् निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य धमकली चौधरीको विशिष्ट आतिथ्यतामा भएको हो । बजार व्यवस्थापन समितिका उपाध्यक्ष टोपा वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समृद्ध समाजका सचिव बालकृष्ण खड्काले गरेका थिए ।