लमहीमा राष्ट्रिय यु–१९ महिला टोलीको बन्द प्रशिक्षण सुरु
टेकबहादुर पुन
घोराही, ३१ भदौ । आइसीसी यु–१९ महिला क्रिकेट वल्र्ड कप एशिया क्वालिफायर प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । आगामी नोभेम्बर ६ तारिखदेखि युएईमा हुने एशिया क्वालिफायर प्रतियोगिताका लागि तयारी स्वरुप दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बन्द प्रशिक्षण सुरु भएको हो ।
बन्द प्रशिक्षणमा १५ देखि १९ वर्ष मुनि उमेर समूहका सातवटै प्रदेशबाट छनोट भएका २९ महिला क्रिकेट खेलाडी रहेका छन् । बन्द प्रशिक्षणमा सिनियर टिमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएकी खेलाडी पूजा महत्तोलगायतका खेलाडी समावेश छन् ।
२९ जना खेलाडी सहभागी बन्द प्रशिक्षण लमहीमा १५ दिनसम्म चल्नेछ । बन्द प्रशिक्षणपछि आन्तरिक प्रतिष्पर्धा गराउँदै दोश्रो चरणका लागि १७ जना खेलाडी छनोट हुनेछन् । एशिया क्वालिफायर खेल्ने अन्तिम १४ खेलाडीको टुंगो लगाउनका पहिलो चरणको बन्द प्रशिक्षण सकिएपछि दोश्रो चरणको बन्द प्रशिक्षण कार्यक्रम हुने नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य समेत रहेका दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिएका छन् ।
बन्द प्रशिक्षणको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले उदघाटन गर्दै लमही क्रिकेट रंगशालामा राष्ट्रियस्तरको बन्द प्रशिक्षणको कार्यक्रमसँगै अब अरु प्रतियोगिता पनि गर्ने वातावरण बताउन आग्रह गरेका छन् । त्यसका लागि स्थानीय सरकारकातर्फबाट आफुले सक्ने सहयोग गर्ने बताए ।
दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले महिला क्रिकेटमा नयाँ पुस्ताको आकर्षण लोभलाग्दो रहेको भन्दै नेपालको क्रिकेट विकासमा महिला टिमले पछिल्लो समय खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताइन । उनले बन्द प्रशिक्षणमार्फत बन्ने नयाँ टिमले नेपालको नाम विश्वमा चिनाउन सक्ने गरी मेहनत गर्न आग्रह गरेकी थिइन । लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले दाङमा यस प्रकारको कार्यक्रमले स्थानीय क्रिकेट खेलाडीमा थप हौसला थप्ने काम गरेको बताए । क्रिकेटको जग बलियो बनाउन क्यानले केन्द्रदेखि जिल्ला तहसम्म पछिल्लो समय क्रिकेट गतिविधि लैजाने काम गरेको भन्दै यसबाट नेपालको १९ वर्ष मुनिको बलियो नयाँ टिम बन्ने विश्वास व्यक्त गरे । बन्द प्रशिक्षणमा परेका खेलाडीलाई पाएको अवसरलाई खेर जान नदिने गरी मन, वचन र कर्मले खेलमा ध्यान दिन तथा लक्ष्य प्राप्तिमा केन्द्रित हुन सुझाव दिएका थिए ।
युएईमा नोभम्बर ६ देखि १४ तारिखसम्म एशिया क्षेत्रबाट नेपालसहित थाईल्याण्ड, युएई र कुवेत खेल्दै छन् । त्यसको तयारीका लागि अहिले १५ देखि १९ वर्षसम्मका खेलाडी समावेश गरेर बन्द प्रशिक्षण सुरु भएको मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले बताए । मुख्य प्रशिक्षक रिजालसँगै सहायक प्रशिक्षकमा सन्जु केसी र जानकी भट्ट रहेका छन् । बन्द प्रशिक्षण असोजको १४ गतेसम्म चल्नेछ ।
बन्द प्रशिक्षणमा खेलाडीहरु
पूजा महत्तो, ज्योत्सिका मरासिनी, सोनी पाख्रिन, अलिया यादव, मनिषा उपाध्याय, कृष्मा गुरुङ, विपिशा शाही, पुजा साउद, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, साबित्रा धामी, अनु कडायत, मनिष बोहोरा, कृष्मा थापा, रबिना साउद, सुस्मिता भुषाल, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिषाकुमारी यादव, भवानी कामत, आरती महतो, कुष्मा गोदार, सिमाना केसी, निरु जिटी, सिराना थापा, रचना चौधरी र आश्मा पुलामी मगर रहेका छन् ।
उदघाटन समारोहमा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओमप्रकाश सुवेदी, वडा सदस्य केशव अधिकारी, देउखुरी क्रिकेट क्लवका कार्यवाहक अध्यक्ष प्रकाश जिसी, सदस्य पवन रिजाललगायत सहभागीता रहेको थियो । दाङ क्रिकेट संघका उपाध्यक्ष किशोर घर्तीमगरको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव सञ्जु केसीले गरेका थिए ।
