Goraksha

National Daily

स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित

गोरक्ष समाचारदाता
दाङ, २८ भदौ । लुम्बिनी प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको ३०औँ बैठकले सर्वसम्मतिमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक पारित गरेको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधि भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले स्थानीय सेवाको गठनसम्बन्धी विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सभामुख तुलाराम घर्ती मगरले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिमा पारित भएको घोषणा गरेका हुन् ।

प्रदेश सभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । समितिले दुई पटक प्रतिवेदनसहितको विधेयक सभामा पेस गरेको थियो । विधेयकमा कर्मचारी परिचालनको विषयहरू समावेश गर्न माग राख्दै ध्यानाकर्षण गराएका थिए । स्थानीय तहका कर्मचारीलाई प्रदेशभित्रका कुनै स्थानीय तहमा मन्त्रालयले सरुवा गर्न सक्ने, स्थानीय तहका कर्मचारी सरुवा भई जाँदा दुवै पालिकाको अनुमति नचाहिने व्यवस्था राखिएको छ । हाल अन्तरपालिका सरुवा हुन खोज्दा दुवै पालिकाको अनुमति चाहिने प्रावधान छ ।

प्रमुख प्रशासकीय अधिकृतले दैनिक रूपमा आफूले गरेको कार्य सम्पादनको विवरण अध्यक्ष वा मेयरलाई पेस गर्नु पर्ने, स्थानीय तह अन्तर्गतका कर्मचारीको दैनिक कार्य सम्पादनको विवरण कार्यालयमा पेस गर्नु पर्ने, गर्भवती महिलालाई उल्लिखित बिदा अपुग भएमा विज्ञ चिकित्सकको सिफारिसमा ६ महिनासम्म बिदा पाउने अधिकार हुने, प्रसूति बिदा पाएका कर्मचारीलाई शिशु स्याहारको लागि शिशु स्याहार खर्च दिइने, कल्याणकारी कोष तथा पुरस्कारको व्यवस्था गर्ने प्रावधान समावेस छ । करारका कर्मचारीले स्थानीय सेवाको कर्मचारीले पाए सरह बिदा पाउनेलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समय र विशेष समयमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।