अध्यादेश फिर्ता लिएकोमा धन्यावाद,अव दोषीलाई कारवार्ही : सभापति देउवा

 

दाङ,१२ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।

आज बालुवाटारमा सम्पन्न भेटवार्तामा सभापति देउवाले गल्ती सच्याएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका हुन । उनले कोरोनाको जोखिमसँग लडिरहँदा विवादका कुनै कुरा नल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । ‘दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिनुभएको छ’, भेटपछि नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘ अव एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारबाही गर्नुपर्ने माग उठेको छ, मेरो माग पनि यही छ। देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ ।’

विज्ञप्तिमा बालुवाटार पुगेका देउवाले कोरोना परीक्षणलाई थप व्यापक बनाउन र समुदायस्तरमा परीक्षण गर्न ढिला नगर्न सुझाव दिएका छन। त्यसै गरी उनले स्वास्थकर्मीहरुलाई पिपिईलगायतका सामग्री अझै पर्याप्त नपुगेको भन्दै सवै ठाउसम्म पु¥याउन माग गरेका छन । ‘अहिले सवै ठाउँका स्वास्थकर्मीहरुलाई पिपिर्यलगायतका स्वास्थ्य सामग्री पुगेको छैन,यथासिघ्र पुर्‍याउनुपर्‍यो’, उनले भने,‘ कुनै पनि हालतमा स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम रोकिनुपर्छ ।’

सभापति देउवाले श्रमिकलाई खानाको व्यवस्था गरिदिन वा गाउँ जान दिनन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन । उनले भेटमा राहत श्रमिक, वेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउन समेत माग गरेका छन ।