Goraksha

National Daily

विपन्नका लागि नमुना घर बन्दै

पार्वती बस्नेत
दाङ, २४ भदौ । आर्थिक रूपमा विपन्न परिवारका लागि राजपुर र गढवा गाउँपालिकामा घर निर्माण हुन थालेका छन् । ग्रामीण महिला उत्थान केन्द्र दाङ र निवास संस्थाको साझेदारीमा राजपुर र गढवा गाउँपालिकामा आर्थिक रूपमा विपन्न, गरिब, सीमान्तकृत, एकल महिला र १६ वर्ष मुनिका बालबालिकाका लागि आठ वटा नमुना घर निर्माण गर्न लागिएको छ । ऐलानी जग्गा भएको तर घर बनाउन नसक्ने विपन्न परिवारलाई सुरक्षित आवासमार्फत् सुदृढीकरण परियोजना अन्तर्गत नमुना घर निर्माण गर्न थालिएको हो ।

जस अन्तर्गत राजपुर गाउँपालिकामा चार र गढवा गाउँपालिकामा चार गरी आठ विपन्न परिवारका लागि घर निर्माण हुने भएका हुन् । ग्रामीण महिला उत्थान केन्द्र दाङ र निवास संस्थाको साझेदारीमा पहिलो चरणमा राजपुर र गढवा गाउँपालिकामा सञ्चालित महिला परिवारलाई सुरक्षित आवासमार्फत् सुदृढीकरण परियोजना अन्तर्गत नमुना घर निर्माणको काम भइरहेको ग्रामीण महिला उत्थान केन्द्र संस्थाका अध्यक्ष आसमानी चौधरीले जानकारी दिएकी छन् । विपन्न, सीमान्तकृत, एकल महिलाका लागि गढवा र राजपुरमा नमुना घर निर्माणको काम भइरहेको भन्दै अध्यक्ष चौधरीले भूकम्प प्रतिरोधात्मक, शौचालय सहितको दुईकोठे आठवटा पक्की घर निर्माण हुन थालेको बताइन् ।

उनका अनुसार प्रतिघर करिब आठ लाखको लागतमा गढवा गाउँपालिका वडा नं. ५ निवासी श्यामकुमारी चौधरी र वडा नं. ६ आटीपाखर निवासी मायादेवी चौधरी, राजपुर गाउँपालिका वडा नं. २ बेला निवासी निर्मला खत्री र वडा नं. ५ चङ्गुवा निवासी कलावती यादवको घर निर्माण भइरहेको बताइन् । घर निर्माण भएपछि परिवारलाई हस्तान्तरण गरिने छ । ‘पहिलो चरणमा छनोटमा परेकामध्ये दुई पालिकामा चार परिवारको घर निर्माणको काम भइरहेको छ’, अध्यक्ष चौधरीले भनिन्, ‘तीमध्ये निर्मलाको घर निर्माणको काम भर्खर सुरु भएको छ भने अन्य परिवारको घर निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ ।’

अन्य चार परिवारका लागि घर लगत्तै निर्माण गरिने छ । आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरूप स्थापना भएको संस्थाले विभिन्न परियोजनामार्फत् समुदायमा रहेका महिलालाई सशक्तीकरणका लागि काम गर्दै आएको भन्दै उनले परियोजनामार्फत् निर्माण हुने घरका महिलालाई आय–आर्जनका कार्यक्रममा जोड्ने बताएकी थिइन् ।

यसैबिच राजपुर गाउँपालिका वडा नं. २ बेला निवासी निर्मला खत्रीको घर निर्माणका लागि शिल्यान्यास गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्र संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीको प्रमुख आतिथ्यता एवम् गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवको विशिष्ट आतिथ्यता र राजपुर गाउँपालिका वडा नं. २ का अध्यक्ष ओमप्रकाश यादवको आतिथ्यतामा नमुना घरको शिल्यान्यास गरिएको हो ।

कार्यक्रममा बोल्दै राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीले यस क्षेत्रमा ग्रामीण महिला उत्थान केन्द्रले घरवारविहीन, विपन्न, गरिब, सीमान्तकृत, एकल महिला र १६ वर्ष मुनिका बालबालिकाका लागि घर बनाउने काम पुण्यको काम भएको बताए । उनले पालिकामा सञ्चालन भइरहेको परियोजनामा पालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा लागु हुने गरी नीति तथा कार्यक्रममा समावेश गरी घरवारविहीनको घर निर्माणका लागि पालिकाले बजेट विनियोजन गर्ने बताए ।

कार्यक्रममा बोल्दै वडा नं. २ का वडाध्यक्ष ओमप्रकाश यादवले आप्mनो क्षेत्रमा गरिब, घरवारविहीन महिलाका लागि संस्थाले ल्याएको यो कार्यक्रम सराहनीय भएको भन्दै आप्mनो क्षेत्रमा रहेका अन्य विपन्न महिलाहरूको घर निर्माणका लागि वडाको तर्फबाट पनि सहयोग रहने बताए ।