दाङ बैशाख १२ गते । नेपाली कांग्रेसले अपहरणको शैलीमा समाजवादी पार्टीका सांसदलाई काठमाडौं पु¥याइएको घटनाको छानविनको माग गरेको छ । पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माद्वारा आज शुक्रबार जारी बिज्ञप्तीमा ‘नेपाली कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि ईमानदार कानूनी कार्वाहीका लागि अपील गर्दछ’ भनिएको छ ।
अध्यादेश फिर्ता हुंदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुनुहुन्न भन्दै कांग्रेसले उक्त घटनाका दोषिलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलिमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन भनेको छ ।
‘चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो’ बिज्ञप्तीमा भनिएको छ,-‘नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा संचार माध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रष्ट भै सकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपील गर्दछ ।’