calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

प्रतिष्ठानमा कार्तिकदेखि एमबिबिएस पढाइ : निमित्त निर्देशक पन्थी [अन्तर्वार्ता]

राजधानी बाहिर सरकारी स्वामित्वका संस्थानमा मेडिकल कलेज स्थापना हुनु पर्छ भन्ने डा गोविन्द केसीको निरन्तरको आन्दोलन तथा दाङबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदलगायतको विशेष पहलबाट दाङको घोराही स्थित तात्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई स्तरोन्नति गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने गरी सङ्घीय गठन आदेश जारी भएको अहिले ७ वर्ष पुगेको छ ।
सङ्घीय संसद्ले वि.सं २०७४मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन निर्माण गरेसँगै त्यसको एक वर्षपछि राप्ती उपक्षेत्रीय अस्पतालको सम्पूर्ण स्वामित्व राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गयो । खास गरी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य उपचारसँगै मेडिकल शिक्षा समेत प्रदान गर्ने गरी स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही वर्षदेखि प्रतिष्ठानमा एमबिबिएस कक्षा सञ्चालनको अन्तिम तयारी गरिसकेको छ । यसै सन्दर्भमा प्रतिष्ठानका निमित्त निर्देशक डा. जनार्दन पन्थीसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार सङ्क्षेप ।
 प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबिबिएस कक्षा सञ्चालन गर्न निर्देशन दिनुभयो, के–कस्ता तयारी भएका छन् ?
 हो, प्रधानमन्त्री हाम्रो प्रतिष्ठानको कुलपति पनि हो । कुलपतिले तयारीबिनै निर्देशन दिने भन्ने प्रश्नै उठ्दैन । प्रतिष्ठानले अघिल्लै वर्षदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कक्षा सञ्चालनको तयारी गरिसकेको थियो तर राष्ट्रिय चिकित्सा आयोगले स्थलगत अनुगमन गरी एमबिबिएस कक्षा सञ्चालनको अनुमति दिएन । यसबिचमा आयोगको मापदण्ड अनुसार धेरै पूर्वाधार, संरचना तथा जनशक्ति व्यवस्थापन भइसकिेको छ । अहिले भर्खरै चिकित्सा शिक्षा आयोगले यहाँको अवस्थाको स्थलगत अनुगमन गरी एमबिबिएस कक्षा सञ्चालनको अनुमति दिने आशय पनि दिइसकेको छ ।
अब आयोगले अन्तिम सहमति दिने छ भन्नेमा हामी विश्वस्त छौँ । केही विषयमा थप कुराकानी भइरहेको छ । सरकारले हाललाई एमबिबिएस कक्षाका लागि अनुमति दिने भनेको ५० जनाका लागि हो । त्यसमा पनि विभिन्न कोटा गरी ३८ जनालाई त छात्रवृत्ति दिनु पर्ने हुन्छ । बाँकी रहेका १२ जनाको शुल्कले मात्रै प्रतिष्ठानलाई आर्थिक सपोर्ट गर्न नसक्ने देखिएपछि यो विषयमा मन्त्रालयमा कुराकानी र छलफल भइरहेको छ । सम्भवतः मन्त्रालयबाट यो विषयमा केही सम्बोधन हुने हामीले अपेक्षा गरेका छौँ ।
 के–कस्ता पूर्वाधार तयार छन्, यस बारे पनि बताइदिनुस् न ?
 हामीले एमबिबिएस कक्षा सञ्चालनका लागि आवश्यक पाठ्यक्रम निर्माण गरिसकेका छौँ । एकेडेमिक भवन केही वर्षलाई थेग्न सक्ने गरी तयारी भइसकेको छ । एमबिबिएसको पहिलो दुई वर्ष हुने पढाइ भनेको बेसिक साइन्सकै हो । यसका लागि पढाउने टिचरको व्यवस्थापन पनि भइसकेको छ । अन्य प्राविधिक एवम् प्रशासनिक जनशक्ति पनि हामीसँग अलरेडी तयार छ । प्रयोगशालाका उपकरण एवम् सामग्रीहरू सम्पूर्ण खरिद गरेर यथास्थानमा व्यवस्थापन गर्ने काम भइरहेको छ । कुरा रह्यो टिचिङ हस्पिटलको, आयोगले तोेकेको मापदण्ड भनेको चार सय बेडको अस्पताल ।
अहिले हामीसँग तीन सय बेडको अस्पताल अलरेडी सञ्चालनमा छ । हामीले यस अघि नै प्रतिष्ठानमा बिएससी नर्सिङ, बिएन तथा एक जना एमडिजिपी, अर्थो तथा गाइनोमा पनि एमडीको कक्षा सञ्चालन गरिसकेका छौँ । हामीलाई लाग्छ कि अब हामी एमबिबिएस कक्षा सञ्चालनका लागि आयोगले तोकेको मापदण्डमा छौँ । सम्भवतः आयोगको अन्तिम स्वीकृति आएपछि हामीले दसैँ–तिहारको बिदा सकिए लगत्तै एमबिबिएस कक्षा सञ्चालन गर्ने अन्तिम तयारीमा छौँ ।
 प्रयोगात्मक कक्षाका लागि हाल प्रतिष्ठानमा रहेका संरचनाले मात्रै पुग्दैन भनिन्छ नि ?
 सुरु गर्नकै लागि कुनै समस्या छैन । प्रतिष्ठानमा अहिले पनि कम्तिमा तीन सय बेड छन् । विभिन्न विशेषज्ञ चिकित्सक कम्तिमा ३० भन्दा बढी छन् । मेडिकल अफिसरसहित ५० जना जति चिकित्सक छौँ । एक जना प्राध्यापक समेत हामीसँग अहिलै हुनुहुन्छ । अन्य प्राध्यापक आवश्यकता अनुसार कहाँबाट ल्याउने भन्ने मोटामोटी सहमति भइसकेको छ ।
अब रह्यो कुरा अस्पतालको, हामीले नजिकै सेरोफेरोमा रहेको बंगलाचुलीको अस्पताल र रोल्पा जिल्लाको रुन्टीगढीमा सञ्चालनमा आएको पिएससी तथा तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललाई पनि प्रतिष्ठानमा अध्ययन गर्ने एमबिबिएसका विद्यार्थीका लागि प्रयोग गर्न सक्ने गरी सहमति भइसकेको छ । अब चाँडै हामीले हाल स्वास्थ्य कार्यालय रहेको जग्गाको उत्तरपट्टि ट्राफिक प्रहरीले यस अघि प्रयोग गर्दै आएको जग्गामा चार सय बेडको अस्पताल निर्माणका लागि ओएनएम समेत भइसकेको छ । सरकारबाट आवश्यक बजेट माग गरी सोही स्थानमा अस्पताल निर्माण गर्ने तयारीमा छौँ । भिसी र रजिस्ट्रार यसकै लागि राजधानीका मन्त्रालय र विभागमा निरन्तर छलफलमा हुनुहुन्छ ।
 प्रतिष्ठानमा सबैभन्दा बढी लम्बिएको भनेकै जग्गा प्राप्तिको प्रक्रिया हो, जुन फाइल अझै पनि जिल्ला प्रशासनमै थन्किएको छ भन्ने सुनिन्छ, हो ?
 हो, यो विषयमा अझै अन्तिम निर्णय भइसकेको छैन । हामीले करिब साढे चार बिघा जग्गा वनसँग नसटेको छ । अन्य थप जग्गा लिन पनि त्यति असहज छैन । डिभिजन वनलगायतका सरोकारवाला निकायसँग छलफल जारी छ । मलाइ लाग्छ, भिसी साप र रजिस्ट्रारज्यू काठमाडौंबाट फर्के लगत्तै यो फाइलको प्रक्रिया अघि बढाइने छ । शिक्षा मन्त्रालयमार्फत जग्गा प्राप्तिको फाइललाई वन मन्त्रालयसँग समेत सहमति गराएर मन्त्रिपरिषद्को बैठकमा लैजाने र त्यहाँबाट जग्गा प्राप्तिको आधिकारिक स्वामित्व हामीले पाउने छौँ ।
यो विषयमा यहाँका सरोकारवाला सबैसँग छलफल पनि चलिरहेको छ । सम्भवतः केही महिनामै जग्गा प्राप्तिको काम सक्ने गरी हामीले तयारी अघि बढाएका छौँ । त्यहाँ जग्गा प्राप्त भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक पर्ने सबै पूर्वाधार निर्माण गरी हामी आगामी शैक्षिक सत्रमा पनि थप एमबिबिएस कक्षा सञ्चालन गर्दै जाने छौँ । यसमा मैले तपाईँको पत्रिकामार्फत् आम नागरिकलाई विश्वस्त पार्न चाहन्छु ।
 मेडिकल शिक्षा महँगो भयो, त्यसमा पनि एमबिबिएस कक्षा सबैभन्दा महँगो भनिन्छ, प्रतिष्ठानले यसमा लिने शुल्कका विषयमा केही बताइदिनुस् न ?
 हामी पनि सरकारका निकाय हौँ र हामी स्वायत्त बन्नु पर्ने अवस्था छ । यी दुवैलाई मध्यनजर गर्दै हामीले एमबिबिएस कक्षाको शुल्क निर्धारण सरकारले तोकेको मापदण्डमै गरेका छौँ । मलाई लाग्छ पाँच वर्षको यो कोर्श पूरा गर्न विद्यार्थीले करिब करिब ४० लाख रुपैयाँ तिरे पुग्छ । त्यो भन्दा माथिल्लो कक्षामा त यति शुल्क लाग्ने कुरै भएन । अन्य मेडिकल कलेज तथा प्रतिष्ठानमा जेजसरी भएको छ, त्यसरी नै हामी राष्ट्रिय चिकित्सा आयोगले तोकेको मापदण्ड र आफ्नै प्रतिष्ठानले निर्माण गरेका ऐन नियम अनुसार अगाडि बढ्ने छौँ ।
 अहिले अस्पतालमा आउने सेवाग्राही र अन्य जनशक्तिका विषयमा केही बताइदिनुस् न ?
साविकको राप्ती उपक्षेत्रीय अस्पताल बनेदेखि नै यो अस्पतालमा बिरामीको फ्लो बढ्न थालेको हो । अहिले भर्खरैको औषत बिरामीको तथ्याङ्क हेर्ने हो भने दैनिक जसो करिब ८ सय ५० को सङ्ख्यामा हामीले बिरामीलाई ओपिडी सेवा दिइरहेका छौँ । विभिन्न विभागमा गरी हामीसँग अहिले तीन सय बढी बिरामीले अन्तरङ्ग सेवा लिइरहेका छन् । ३० जना बढी विशेषज्ञ चिकित्सक हुनुहुन्छ । उहाँहरू सहित चिकित्सकको सङ्ख्या करिब–करिब ५० पुग्छ । यो अवस्थाले पनि अब हामीले एमबिबिएस कक्षा तत्काल सुरु गर्नु पर्छ भनेर लागिपरेका थियौँ ।
अन्ततः प्रतिष्ठानको उद्देश्य र आवश्यकतालाई आत्मसात गर्दै प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी ओलीले बोलाएरै एमबिबिएस कक्षा सञ्चालन गर्न निर्देशन दिएपछि हामी उत्साहित भएर यो अभियानमा लागिपरेका छौँ । मलाई लाग्छ अब इन्ट्रान्स इक्ज्यामको रिजल्ट आएर हामीलाई कोटा दिनासाथ हामीले एमबिबिएस सक्षा सञ्चालन गर्छौँ । यसमा कुनै पनि द्विविधा छैन । अन्तमा प्रतिष्ठानका गतिविधिका विषयमा केही जानकारी आम पाठकमाझ राख्ने अवसर दिनुभएकोमा मैले गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।