calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

‘व्यक्तिभन्दा पार्टीलाई प्राथमिकतामा राख्नुहोस्’

गोरक्ष समाचारदाता

दाङ, १९ भदौ । नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलदेव शर्मा मजगैयाँले जिल्लामा कांग्रेसलाई संगठित र बलियो पार्टी बनाउन नेताहरूले व्यक्तिगत महत्वकाङ्क्षा छोड्नु पर्ने बताएका छन् । नेताहरूको व्यक्तिगत महत्वकाङ्क्षाका कारण पार्टीमा गुटगत राजनीति बढेको र त्यसले पार्टीको संगठनलाई कमजोर बनाउने भन्दै नेताहरूलाई व्यक्तिगत महत्वकाङ्क्षा छोडेर पार्टीको संगठन निर्माणमा लाग्न आग्रह गरे ।

नेपाली कांग्रेस दाङले आयोजना गरेको भेटघाटका क्रममा नेता मजगैयाँले व्यक्तिगत रूपमा नेता भेट्ने प्रवृत्तिले पार्टी कमजोर बनाउने भन्दै नेता मजगैयाँले सबै नेता एक ठाउँमा बसेर पार्टी निर्माणमा लाग्नु पर्ने बताए । ‘कांग्रेसको संगठन निर्माणका लागि नेतामा एकता आवश्यक देखिएको छ । त्यसका लागि एक्लैले चिन्ता गरेर, नेता भेटेर पार्टी बन्दैन’, नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा मङ्गलवार नेतासँगको भेटघाटका क्रममा नेता मजगैयाँले भने, ‘पार्टी संगठन निर्माणका लागि सामूहिक एकता आवश्यक छ । त्यसका लागि सबै नेता एक ठाउँमा बस्न सक्नु पर्छ ।’

गौरव गर्न लायक कांग्रेसको विगतको स्मरण गर्दै नेता तथा कार्यकर्ता संगठन निर्माणमा लाग्नु पर्ने बताएका थिए । सक्रिय राजनीतिमा फर्किएर नेतृत्व गर्दियोस् भन्ने धेरै नेता तथा कार्यकर्ताको चाहना स्वाभाविक रहेको भन्दै पूर्वमन्त्री समेत रहेका नेता मजगैयाँले त्यो सम्भव नरहेको बताए । ‘कुनै पनि कुराको एउटा अवधि हुन्छ, त्यो केही समयपछि सकिन्छ’, नेता मजगैयाँले भने, ‘मलाई राजनीतिमा फर्किएर नेतृत्व सम्हालिदिए हुन्थ्यो भन्ने धेरैको आग्रहसँगै सुझाव दिनुभएको छ तर त्यो सम्भव छैन ।’

पार्टी संगठनलाई नेतृत्व गरेर हाँक्न सक्ने धेरै नेता रहेको भन्दै त्यसका लागि व्यक्तिगत महत्वाकाङ्क्षालाई बिर्सिेर पार्टीका लागि लाग्न सक्नु पर्ने बताए । पार्टीको केन्द्रबाटै तल्लो तहसम्म फैलिएको गुटगट राजनीतिले पार्टी बन्न सक्दैन भन्ने मानसिकतालाई छोडेर आफ्नो ठाउँबाट हामी बनाउन सक्छौँ भन्ने विश्वासका साथ पार्टी संगठन निर्माणमा लाग्न आग्रह गरेका थिए । नेता मजगैयाँसँग भेटघाटमा सहभागी नेताले विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रमका सहभागीलाई नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले धन्यावाद ज्ञापन गरेका थिए ।