calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

लमहीका सडकमा जेब्राक्रस

टेकबहादुर पुन
देउखुरी, १९ भदौ । चाडबाडमा हुने भिडभाडलाई लक्षित गरेर लमही बजारका सडकमा जेब्राक्रस निर्माण गरिएको छ । लमही चेम्बर अफ कमर्शको आयोजनामा लमही बजारका भित्री–सडक र हाइवेमा जेब्राक्रस बनाइएको हो ।

बजारका सडकमा भएका जेब्राक्रस पुरानो भएकाले पैदल यात्रीहरू अन्योलमा पर्ने र दुर्घटना निम्तिन खतरा हुने भन्दै जेब्राक्रस सिग्नलमा पुनः रँग भरिएको हो । दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने भन्दै लमही चेम्बर अफ कमर्शको आयोजना, वडा प्रहरी कार्यालय लमही, ट्राफिक प्रहरी लमही, ५ नम्बर वडा कार्यालय र सक्रिय युवा व्यसायीको सहकार्य तथा संयोजनमा जेब्राक्रसमा पुनः रँग पोतिएको थियो । चाडबाड नजिकिँदै गर्दा भिडभाड हुने र बाटो क्रस गर्दा पैदल यात्री अन्योलमा परेर दुर्घटना हुने अवस्थालाई मध्यनजर गरी जेब्राक्रसमा पुनः रँग पोतिएको लमही चेम्बर अफ कमर्शका अध्यक्ष शीतल भुसालले बताए ।

चाडबाडको बेला कसैमाथि अप्रिय घटना नघटटोस् भनेर जेब्राक्रसको मर्मत गरिएको उनले बताए । लमहीका व्यवसायी डिल्लीराज खनालले जेब्राक्रसमा पुनः रँग पोतिनु सराहनीय काम भएको र यो अभियानमा आफूलगायत आफ्नो टिम पनि सहकार्यमा जुटेको बताए । ‘यो काम समाजको हितका निम्ति भएकाले यस्तो कामलाई सबैले समर्थन गर्नु पर्छ’, उनले भने ।

बजार खेल्न आउनेहरू जेब्राक्रसमार्फत् सडक पारे सडक दुर्घटनामा न्यूनीकरण हुने भन्दै ट्राफिक प्रहरी कार्यालय लमहीले सबैमा बाटो क्रस गर्दा जेब्राक्रसको प्रयोग गर्न अपिल गरेको छ । सडक सुरक्षा जीवनको रक्षा भएकाले सबैले सडक पार गर्दा जेब्राक्रसमार्फत् सडक पार गर्नु पर्ने ट्राफिक प्रहरी लमहीका प्रमुख प्रहरी सहायक निरीक्षक टेकबहादुर कुसारीले बताए । जेब्राक्रस नहुँदा पैदल यात्री लापरबाही तरिकाले सडकमा हिड्ने र जथाभावी सडक पार गर्दा ४० प्रतिशत बढी दुर्घटना जेब्राक्रसको अभावले हुने गरेको पाईएको प्रमुख कुसारीले बताएका थिए ।
हुइँकिएर आएका गाडीलाई पनि कहाँ स्पिड कम गर्ने भनेर अलमल हुने र यसले दुर्घटना निम्तिने सम्भावना बढी हुने उनले बताए । ‘जेब्राक्रस भएको बाटोमा हिँड्दा केही हदसम्म सुरक्षित महसुस हुन्छ, लमही बजारभित्रका जेब्रा क्रस चाँडै मेटिने भएकाले बढीमा तीन महिनाको अन्तरमा जेब्राक्रसको मर्मत गर्नु पर्ने हुन्छ’, प्रमुख कुसारीले भने, ‘अस्पताल, विद्यालय, पसल र धेरै मान्छे ओहोरदोहोर हुने ठाउँमा पर्याप्त जेब्राक्रस हुनु पर्छ ।’ जेब्राक्रसले विद्यालय क्षेत्र, मुख्य चोकमा पैदल यात्रुलाई सहज हुनुका साथै सवारी गति नियन्त्रण गर्न मद्दत पुग्ने उनले बताए ।