अर्थ के हो ?

एकराज शर्मा अधिकारी

ॐ ईश्वरको सर्वश्रेष्ठ नाम हो । ॐ ब्रहम स्वरुप हो । ॐ प्रणव हो । तीन शक्तिको द्योतक हो । प्रकृतिबाट उत्पन्न संसाररुपी सागरबाट पार लगाउने डुंगा हो । प्रणवको अर्थ हो प्र.प्रपंच.न.होइन । प्रणवले प्रपंच सत्य होइन भन्ने बुझाउँछ । प्रपंचले जप गर्ने साधकलाई मोक्ष्यमा लैजान्छ । ॐ ब्रहमदेखि थावरसम्मको प्राण हो ।

प्रणवको उत्पत्ति

सर्वप्रथम विष्णुको नाभिबाट ब्रहमा उत्पन्न हुनुभयो र चारैतिर हेर्नु भयो जलै जल देख्नुभयो र कमलको मूलाधारमा प्रवेश गरेर म को हुँ कहाँँबाट आए, किन आए मेरो कर्तव्य के हो ? केही थाहा पाउन सकेनन्, त्यसैबेला ब्रहमाजीको ध्येय ॐकारबाट नै परब्रहम परमात्मा सृष्टिको रुपमा प्रकट हुनभयो । प्रणव नै शिव हो शिव नै प्रणव हो ।

जस्तो घरको उपादान कारण माटो हो । निमित्त कारण घट हो । जस्तो दुध दहीमा बदलिन्छ डोरी सर्पमा बदलिन्छ, त्यस्तै ॐकार प्रपंचमा बदलिन्छ । परमात्माको पराशक्तिबाट चैतन्यशक्ति, चैतन्यशक्तिबाट आनन्दशक्ति आनन्दशक्तिबाट ईच्छाशक्ति, इच्छा शक्तिबाट ज्ञानशक्ति, उत्पन्न भयो । यिनै शक्तिबाट जगत उत्पत्ति भयो । क्रिया शक्तिबाट आकार, ज्ञानशक्तिबाट उकार, इच्छाशक्तिबाट मकार, आनन्दशक्तिबाट नाद र विन्दु उत्पन्न भए, यसरी प्रणव सृष्टि भयो ।

यो वेदको सार हो । एकपटक पार्वतीले शिवसँग प्रणवको स्वरुप जान्ने इच्छा गरेर सोध्नु भयो । शिवले भन्नुभयो प्रणव भनेको मेरो स्वरुप हो, सबै विद्याको विजो हो । वेदको सार हो । ॐ भनेको म हुँ । यो अक्षर ब्रहम हो । यो ॐ मेरो आत्मा हो । यसको सम्झनाले मलाई सम्झे जस्तो हुन्छ । मेरो पाँच मुख छन्, उत्तरको मुखबाट अकार, पश्चिमको मुखबाट उकार, दक्षिणको मुखबाट मकार, पूर्वको मुखबाट विन्दु, बिचको मुखबाट नाद उत्पन्न भएको हो । ती पाँच अक्षर मिलेर एक अक्षर बन्यो त्यो हो ॐ कार ।

पञ्चाक्षर मन्त्र पनि यसैबाट उत्पन्न भयो । अबाट नकार, उबाट मकार, शिबाट विन्दु, यबाट नाद उत्पन्न भएको हो ।यसरी ॐ नमं शिवाय बन्यो । ॐ को मानसिक जप गर्नाले अन्तष्करण शुद्ध हुन्छ । अन्तष्करण भनेको मन, बुद्धि, चित्त र अहंकार हो । ॐ कारको जप गर्नाले अज्ञान पूर्णरुपमा नाश हुन्छ । परमात्माको प्राप्ति हुन्छ । प्राणीहरुको अन्तिम ध्येय हो ।

नृत्यकर्म गर्नेहरुले ख्याल राख्नु पर्ने कुरा

घरको सम्म ठाउँमा शिवालयमा अथवा पवित्र ठाउँमा बसेर स्नान गरेपछि पूर्व वा उत्तर फर्केर गुरुको स्मरण गर्दै सन्ध्या बन्धन, सूर्यनमस्कार गरी सकेपछि जति सकिन्छ पद्मासन, सिद्धासन, सुखाषन जसरी सजिलो हुन्छ । त्यस्तो आशनमा बसी प्राणायाम गर्नुपर्छ त्यसपछि जप गर्नुपर्छ । जपसंख्या निश्चित गरेर इष्टदेवतालाई जप अर्पण गर्नुपर्छ । प्रवृत्ति मार्गले दीर्घ प्रणव जो जप गर्नुपर्छ ।

ॐ नमं शिवाय निवृत्ति मार्गले रहस्वप्रणवको जप गर्नुपर्छ । नमं शिवाय । शिव योगी पनि तीन किसिमका हुन्छन्, क्रियायोगी, तपयोगी, जपयोगी धनपैसा जम्मा गरेर हातबाट पूजा गर्ने क्रियायोगी । बाह्य इन्दिप जितेर परद्रोह नगरेर जप गर्ने तपयोगी । कसैलाई दोष नदिएर जप गरिन्छ । कामको क्रोध, लोभ, मोह छोडेर निरन्तर जप गर्ने मानिसलाई जपयोगी भनिन्छ ।

ॐ कारको जप गर्नाले हुने फाइदा

१.मानसिक शान्ति, २. विचार सत्मार्गमा लाग्छ, ३.सिद्धि प्राप्त हुन्छ, ४.सबै बिग्नबाधा नाश हुन्छ, ५. आत्मस्वरुपको प्राप्ति हुन्छ, ॐ ईश्वरको बोलाउने नाम हो । ॐ इति ब्रहम, अयंआत्मा ब्रहम, खं इति ब्रहम हुन् ।