‘वजार नपाउँदा छरछिमेकमा बाँड्नु परेको छ’
अमरराज आचार्य
दाङ, १० बैशाख । राप्ती गाउँपालिकाका वडा नं. ६ बगरापुरका कृषक प्रेमलाल चौधरीको बारीमा अहिले तरकारी तयार भएका छन् । तरकारी तयार भएपछि उनलाई चिन्ता थपियो अब कहाँ लगेर बिक्री गर्ने ? लकडाउनको कारण उनी आफै बिक्री गर्नका लागि बजारसम्म जान सकेका छैनन् । त्यतिमात्रै हैन, अघिल्लो वर्ष तरकारी लिनका लागि घरसम्म आउने व्यवसायीहरु पनि यो पटक लकडाउनकै कारण प्रेमलालको घर गएका छैनन् । अघिल्लो वर्ष उनले आफ्नो उत्पादन बिक्री गर्न भालुवाङ बजारसम्म आफैले पु¥याउने गरेका थिए । ‘तरकारी किन्नका लागि व्यवसायीहरु घसम्म आउँदा मूल्य पनि राम्रो पाएको थिएँ’, प्रेमलालले भने । अहिले बाहिरबाट मानिस नआएपछि तरकारीको मूल्यसमेत घटेको उनी बताउँछन् । यसले कृषकहरुलाई धेरै समस्या पारेको उनको भनाइ छ ।
अघिल्लो वर्ष घरबाट नै तरकारी बिक्री गरे पनि यस वर्ष लकडाउनका कारण तरकारी बिक्री नभएको सोही स्थानका अर्का किसान पवन चौधरीले बताए । ‘यस्तै अवस्था भएमा बीउ, मलको पैसा समेत उठ्ने छैन’, पवनले भने । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण आवत–जावत नहँुदा तरकारी बिक्री ठप्पजस्तै भएको किसानहरुले बताएका छन् । ‘बारीमा तयार भएको तरकारी खेर जाने खतराले हामी किसानहरुलाई चिन्तित बनाएको छ’, प्रेमलालले भने– ‘धेरै मेहनत गरेर उत्पादन गरेर तयार बनाएको तरकारी खेर जाने अवस्थामा आएको छ ।’
तरकारी बिक्री नभएपछि कृषि पेशा गरेर जीविका चलाउनेहरुलाई समस्या नै पर्न थालेको छ । अहिले तरकारी उत्पादन हुने क्रममा नै छ । सबै तरकारी तयार भइसकेपछि त त्यो तरकारी के गर्ने भन्ने अर्को समस्या किसानहरुका लागि आउने सम्भावना समेत देखिएको छ । ‘अहिले लौका, फर्सी र बन्दगोपी बिक्री नै हुँदैन’, प्रेमलालले भने– ‘करेला, बोडी, भिण्डी भने केही मात्रामा बिक्री भए पनि अघिल्लो वर्षको भन्दा कम मूल्यमा बेच्नुपरेको छ ।’
त्यसैगरेर काँक्रा पनि कम बिक्री हुने गरेको उनी बताउँछन् । अहिले सबै होटलहरु बन्द भएको तथा बजारमा मानिसहरुको आउजाउ कम भइरहेको हँुदा तरकारीको माग घटेको हो । कृषक पवनले त आफूले उत्पादन गरेको तरकारी विक्री नभएपछि वरपर छरछिमेकमा बाँडिदिएको बताउँछन् । ‘उत्पादन भएको तरकारी बिक्री नभएपछि खेर जान दिनुभन्दा छिमेकीलाई बाँडिदिएको हुँ’, पवनले भने । अहिले आफूले गरेको मेहनत खेर जाने हो कि भन्ने चिन्ताले उनलाई पनि सताएको छ । सहजरुपमा तरकारी बिक्री गर्न पाएमा केही रकम भए पनि कमाउन सकिने उनी बताउँछन् । तरकारी बिक्री नहुँदा कृषिकर्म गरेर घर व्यवहार चलाउनेलाई यसले धेरै समस्या पारेको उनको भनाइ रहेको छ ।
अर्का कृषक हिरामती चौधरीको बारीमा पनि केही मात्रामा तरकारी तयार भएको छ भने केही तयार हुँदैछ । यो अबस्थाले उनमा पनि त्यो तरकारी खसरी खपत गर्ने भन्ने चिन्ता बढ्दै गएको छ । ‘कृषकको समस्या राज्यले बुझिदिनुप¥यो’, चिन्ता मिश्रित स्वरमा हिरामतीले भनिन्– ‘औषधि, बीउका लागि धैरै रकम खर्च गरियो अब कसरी त्यो खर्च उठाउने होला ?’
दाङ उवासंघको एउटा प्रयास
यता दाङ जिल्ला उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लाका विभिन्न क्षेत्रमा उत्पादन गरिएका कृषिजन्य वस्तु खरिद गरेर बजारसम्म ल्याउने कार्य पनि शुरु भएको छ । कृषकहरुले उत्पादन गरेका तरकारीहरु खेर जान नदिन र बाहिरबाट तरकारी आयातलाई न्यूनीकरण गर्नका लागि जिल्लाका विभिन्न स्थानमा पुगेर तरकारी खरिद गर्न थालिएको घोराहीको व्यवसायी सुरज बुढाथोकीले बताए । ‘हामीले नाफा कमाउने उद्देश्यभन्दा पनि कृषकको उत्पादन खेर नजाओस् भनेर दाङ जिल्ला उद्योग वाणिज्य संघसँगको सहकार्यमा यस प्रकारको कार्य शुरु गरेका हौं’, बुढाथोकीले भने । यसले कृषकहरुलाई केही मात्रामा भए पनि सहयोग पुग्ने उनको भनाइ रहेको छ । यसरी तरकारी बजारसम्म ल्याउनका लागि दाङ उद्योग बाणिज्य संघले लिखित सिफारिस उपलब्ध गराउँछ भने गाडीबाट तरकारी बिक्री गर्न हिँड्दा उवासंघले निर्धारण गरेको तरकारीको दररेट माइकिङ गरेर सुनाउनुपर्ने अनिवार्य गरिएको छ ।
‘छिप्पिन थाल्यो, तर बिक्दैन’
लिलाधर वली
दाङ, ११ बैशाख । लकडाउनका कारण बजार नपाउँदा कृषकले उत्पादन गरेको तरकारी बारीमै छिप्पिएर खेर जान थालेको छ । घोराही उपमहानगरपालिका–८ दुन्द्रा र अन्य स्थानका कृषकले उत्पादन गरेको तरकारी लकडाउनको कारण बिक्री नभएर खेर जान थालेको हो । घोराही उपमहानगरपालिका–८ दुन्द्राको केसी बहुउद्देश्य कृषि फर्मको ८ बिगाहा बढी क्षेत्रफलमा लगाएको तरकारी लकडाउनका कारण बिक्री हुन सकेको छैन ।
बारीमा अहिले ४० क्वीन्टलभन्दा बढी स्क्वीस अर्थात सानो फर्सी छिप्पिन थालिसकेको केसी बहुउद्देश्य कृषि फर्मका सञ्चालक बसन्त राजवंशीले बताए । तरकारी टिप्नलाई तयार भए पनि बजार बन्दले टिप्न नसकेको उनले बताए । ‘बजार बन्द नभएको भए अहिले अहिले स्क्वीसलगायतका तरकारी टिप्नुपर्ने अवस्था भएको छ’, उनले भने– ‘तर बजार बन्द छ, टिप्न सकिएको छैन । तरकारी छिप्पिएर खेर गइरहेको छ ।’ उनले स्क्वीस मात्र नभई लौका, करेला, भेडे कुर्सानी, बोडी, क्राका, बन्दा गोपी, काउलीलगायतका तरकारी खेर जान थालेको बताए ।
स्थानीय नवराज केसीसँग मिलेर राजवंशीले दुन्द्रामा ८ बिगाहा जमिनमा तरकारी खेती गर्दै आएका छन् । आधुनिक प्रविधिका माध्यमबाट खेती गर्दै आएका उनीहरुले उत्पादित तरकारी दाङको स्थानीय बजारसँगै बुटवल, नारायणगढ, काठमाडौंलगायतका बजारसम्म पु¥याउने गरिए पनि यो बर्ष जिल्लामै बिक्री गर्न समस्या भएको राजवंशीले बताए । ‘अघिल्लो बर्ष दाङसहित बुटवल, काठमाडौलगायतका बजारसम्म तरकारी पठाउने गरेका थियौ’, उनले भने– ‘तर यो बर्ष लकडाउनका कारण जिल्लामै बेच्न सक्ने अवस्था छैन ।’ लकडाउनका कारण तरकारीमा लगाएको लगानी डुव्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । उनका अनुसार तरकारीमा करिब ५२ लाख रुपैयाँ लगानी गरेका छन् ।
उनको जस्तै चिन्ता छ घोराही उपमहानगरपालिका–१० मा रहेका खड्का कृषि फर्मका सञ्चालक महेन्द्र खड्कालाई पनि । करिब दश बिगाहा क्षेत्रफलमा स्क्वीस, लौका, फर्सी, बोडी, करेलालगायतको तरकारी उत्पादन भएर बिक्री गर्ने अवस्थामा भए पनि लकडाउनका कारण बजार बन्द हुँदा तरकारी खेर जाने गरेको बताए । ‘तरकारी बारीमा उत्पादन छ तर अहिले बिक्री गर्ने बजार छैन’, खड्काले भने– ‘जसले गर्दा अहिले तरकारी बारीमै कुहिन थालेको छ ।’ अहिले दैनिकमा २० देखि २५ क्वीन्टल तरकारी उत्पादन हुने गरे पनि दैनिक २ देखि ३ क्वीन्टल तरकारी बिक्री हुने गरेको बताए । ‘लकडाउनका कारण बजार बन्द छ, जसका कारण तरकारी बाहिर पठाउन पाएका छैनौं’, उनले भने– ‘तरकारी बाहिर पठाउन नपाउँदा बारीमै खेर जाने गरेको उनी बताउँछन् । उद्योग बाणिज्य संघको सिफारिसमा घोराही र नारायणपुर बजारमा तरकारी बिक्री गर्ने गरे पनि बजार बन्द हँुदा निकै न्यून मात्रामा तरकारी बिक्री हुने गरेको उनले बताए । ‘पहिले बजार खुल्ने र होटल चल्ने गर्दा धेरै तरकारी बिक्री हुने गरेको थियो तर अहिले सबै बन्द छन्’, उनले भने– ‘जसले गर्दा तरकारी निकै थोरै मात्रामा बिक्री हुने गरेको छ, धेरै तरकारी त खेर गइरहेको छ ।’ बन्दका कारण अहिले गाउँघरसँगै घोराही, नारायणपुरलगायतका बजारमा तरकारी बिक्री गर्दै आएको बताए ।
घोराही उपमहानगरपालिका–१७ बर्गदीमा पहिलोपटक सञ्चालनमा आएको दाजुभाइ बहुउद्देश्य कृषि फर्मका युवाहरुलाई पनि यस्तै समस्या छ । करिब १४ लाख रुपैयाँ खर्च गरेर पहिलोपटक पाँच जना युवाहरुले संयुक्तरुपमा व्यावसायिक तरकारी खेती शुरु गरेका थिए । तर तरकारी उत्पादन भएर बिक्री गर्ने समयमा भएको लकडाउनका कारण बिक्रीमा समस्या आएपछि अहिले उनी चिन्तित देखिएका छन् । करिब ७ बिगाहा क्षेत्रफलमा लगाएको तरकारी अहिले उत्पादन भइरहेको दाजुभाइ बहुउद्देश्य कृषि फर्मका सचिव प्रज्ज्वल डिसीले बताए । फर्ममा काँक्रा उत्पादन भइरहेको छ । त्यस्तै टमाटर, लौका, सिमी र सिम्ला मिर्चा उत्पादनको तयारीमा रहे पनि लकडाउनका कारण बिक्री गर्न सक्ने अवस्था छैन । जसका कारण आफूहरु समस्यामा परेको उनले बताए । ‘अहिले थोरै उत्पादन हुने गरेको छ, थोरै उत्पादन गाउँघरसँगै अनलाइनबाट बजारसम्म बिक्री गर्दै आएका छौं’, उनले भने– ‘तर भोलि ठूलो मात्रामा उत्पादन हुन थाल्यो भने हामीलाई बिक्री गर्न धेरै नै समस्या हुनेछ ।’
जिल्लामा किसानहरुले उत्पादन गरेका तरकारी बारीमै फालिने तर कोरोना संक्रमणको जोखिमकै बीच भारतबाट तरकारी ल्याएर बिक्री हुन थालेपछि घोराही र तुलसीपुर उपमहानगरले बाहिरबाट तरकारी ल्याउन बन्देज लगाएका छन्् । खेतवारीमा रोपेको तरकारी उत्पादन भए पनि बिक्री गर्न नपाउँदा किसानहरु समस्यामा परेका छन् । घोराही उपमहानगरपालिका र उद्योग बाणिज्य संघको पहलमा केही किसानहरुले गाडीमार्पmत तरकारी बिक्री गर्ने व्यवस्था मिलाएपछि बजार पूर्ण बन्द हुँदा तरकारी बिक्री नहुने गरेको किसानहरुले गुनासो गरेका छन् ।