आज कृष्णजन्माष्टमी पर्व

तुलसीपुर, १० भदौ । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

आजको दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरु क्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

आज जिल्लाका विभिन्न ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा दाङको तुलसीपुर–८ चन्द्रगञ्जमा रहेको कृष्ण मन्दिरमा श्रीकृष्ण महोत्सव एवं महाआरती सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सन्ध्याकालीन महाआरतीको उद्घाटन गरेका हुन् ।

त्यस्तै आज कृष्णमन्दिरमा सुरु भएको श्रीकृष्ण महोत्सव एवम् महाआरति २०८१ भदौ ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने श्रीकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिए ।

पहिलो पटक सञ्चालन हुन लागेको महाआरतिमा स्वामी श्री केशवाचार्य (सुर्यपाकि) महाराजको उपस्थितिमा सन्ध्याकालीन महाआरति सञ्चालन हुने छ ।

त्यस्तै बिहान ६ बजेदेखि अपरान्हसम्म पूजा आराधना, सांस्कृतिक कार्याक्रम, लाखेनाच र बेलुका सन्ध्याकालीन आरती, धार्मिक प्रवचन कृष्णमन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । भदौ ११ गते दिउँसो १ बजे रथ झुला प्रदर्शन, सन्ध्याकालीन आरती धार्मिक प्रवचन सहित सम्मापन हुने आयोजकले जनाएको छ ।

त्यस्तै आयोजकले महोत्सव महाआरतिमा सहभागी भई पूजाआरधना तथा प्रसादग्रहण गरी पुण्य लाभ लिनका लागि सम्पूर्णमा अपिल गरेको छ । ‘हामीहरूले आज सहज पूजा आरधनकाको व्यवस्थापन मिलाएका छौँ पहिलो पटक तिन दिन महाआरतिको पनि आयोजना गरेका छाँै सबै यसमा सहभागी भईदिन अपिल गर्दछौ’ अध्यक्ष सापकोटाले भने ।