दाङ, ११ बैशाख । लकडाउनका कारण बजार बन्द रहँदा जिल्लामा व्यावसायिकरुपमा ठूलो मात्रामा तरकारी खेती गरेका किसानहरुको तरकारी बिक्रीमा समस्या भएको छ । तर दाङका विभिन्न स्थानहरुमा निर्माण भएका कोल्ड स्टोरहरु भने खाली रहेका छन् । यो बेला किसानका उत्पादनलाई त्यहाँ राख्न सकिँदैन भन्ने जिज्ञासामा कोल्डस्टोर सञ्चालहरु भन्छन्– ‘हरियो तरकारी बढीमा एक हप्ता जति मात्रै सुरक्षित हुन्छ ।’

व्यवसायीहरुले फलफूल, आलु, बोडी, व्याजलगायतका तरकारी कोल्डस्टोरमा राख्ने गरे पनि हरियो तरकारी नगन्य मात्रामा आउने गरेको बिजी एग्रीकल्भर प्रालिका अध्यक्ष हेमराज बञ्जाडेलले जानकारी दिए । हरियो तरकारीका रुपमा रहेका लौका, करेला, भिण्डी, काक्रा, बोडी, सिमीलगायतका तरकारीहरु कम्तीमा एक हप्ता राख्न सकिने उनले बताए । ‘उत्पादन गरेको तरकारीलाई खेर फाल्नभन्दा कोल्ड स्टोरमा राख्दा राहत दिनसक्छ’, प्रालिका अध्यक्ष बञ्जाडेले भने । तर फलपूmलका साथै आलु, केराउ, बोडी, प्याजलगायतका तरकारीहरु लामो समय पनि राख्न सकिने जानकारी उनले दिए । दुई मेट्रिक टन कोल्ड स्टोरको क्षमता रहे पनि क्षमताअनुसार जिल्लामा तरकारी तथा फलपूmल नआउने गरेको उनी बताउँछन् ।