गुरुको महत्व

एकराज शर्मा अधिकारी

करुणा, प्रेम र दयाले मानिस महान बन्छ । आजकाल प्रेम र दया गर्ने मान्छेलाई उपहास गर्दछन् । यो ईश्वरमा पुग्ने बाटो हो भन्ने कुरा बुझेका हुँदैनन् । दया, प्रेम र करुणामा अहंकार बस्न सक्दैन । यो गुण गुरुद्वारा प्राप्त हुन्छ । गुरु त्यो हो जसले मानिसमा भएको गल्ती, कमजोरी बताइदिन सक्छ ।

करुणा, दया र प्रेम हृदयमा जगाइदिन्छ । यो जीवन परिर्वतन गर्ने मार्ग हो । यो गुण हरेक मानिसमा अप्रकटित रुपले रहेको हुन्छ । त्यसलाई अहंकारले दबाइराखेको हुन्छ । ईश्वरको कृपाले जब मानिसमा करुणा, दया र पे्रम पैदा हुन्छ तब त्यो अहंकार हटिहाल्छ । मानिस दुःखी किन हुन्छ ? करुणा, प्रेम र दयाको अभावमा मानिस दुःखी हुन्छ । करुणा गंगाजल जस्तो हो । त्यसले अहंकारको आगोलाई निभाइदिन्छ । करुणामा सद्भाव हुन्छ । ठुला र सानालाई बराबर देख्नु करुणा हो । कलियुगमा महत्वपूर्ण कठिन छ । किनभने यो समाज अहंकारले भरिएको छ । भोकवादी संसारमा डुबेका मानिसमा यो गुण देखिँदैन । जसमा यी गुणहरु छन् त्यसैसित मानिस मात्र होइन पशुपंक्षीले पनि प्रेम गर्छन्, आनन्दित हुन्छन् ।

बासनायुक्त प्रेमले दुःख दिन्छ । प्रेम भित्री मनले गर्नुपर्छ देखाएर गर्ने होइन । ठु–ठुला महात्माहरुले बर्षौ तपस्या गर्छन् र अन्त्यमा ज्ञान प्राप्त गरेर यही करुणा, दया र प्रेमको उपदेश दिन्छन् । कुनै एक महात्मा थिए । उनको देह त्याग गर्नेबेला आयो । त्यसैबेला उनले सबैलाई धन्यवाद दिँदै गए । त्यसै समयमा उनको नजिकमा एउटा गधा आयो । उसलाई पनि धन्यवाद दिन थाले । उनले भने मैले तिमीलाई कति पटक कुटे हुला, गाली गरेको हुला म अब संसारबाट विदा भएर जाँदै छु । मलाई क्षमा दिनु भनी आभार प्रकट गरे । आफ्ना खराब कर्मप्रति प्राःश्चित गरे । अब मैले कुनै जन्ममा पनि सताउने छैन भनी क्षमा मागे ।

उनको यस कार्यले प्रकृति माता पनि खुसी भइन् । प्रकृति माताले पनि यस्ता पुत्र पाएकोमा गर्व गरी आफ्नो शिर ठाडो पारिन् । गुरुबिना जीवनमा केही कुरा गर्न पनि सकिँदैन । बाबुआमा पनि गुरु हो, शिक्षा दिने पनि गुरुहो, मन्त्र सुनाउने पनि गुरु हो । गुरुले कहिले पनि शिष्यको कुभोलो चिताउँदैन । गुरुको इच्छा हुन्छ, शिष्य सत्मार्गमा लागोस्, शिष्यको जीवन सफल होस् भनेर उसको कार्यलाई सुक्ष्म रुपले हेरिरहेका हुन्छन् । भगवान् बुद्धका दश हजार शिष्य थिए । बुद्धको सकारात्मक भावना थियो । सकारात्मक उर्जाको अभावले मानिसमा तनाव उत्पन्न हुन्छ । शरीरमा रोग लाग्छ, दुःखकष्ट उत्पन्न हुन्छन् । मानिस मनको पछि लाग्नु हुँदैन ।

मनका दास भएका मान्छे त्यो कुरा बुझ्न सक्दैनन् । बुझे पनि व्यवहारमा उतार्न सक्दैनन् । सकारात्मक सोच भएका मानिस बुद्ध हुन् । गुरुले शिष्यलाई दिक्षामन्त्र दिनुहुन्छ । दिक्षा भनेको दक्ष हुनु हो । दिक्षा भनेको जीवन परिवर्तन गर्ने क्रिया हो । दिक्षा मन्त्रले जीवनमा इच्छाशक्ति, क्रियाशक्ति जागृत गराउँछ । उ आफू माथि भर पर्छ । कसैको आशा र इच्छा गर्दैन । मनले त मानिसलाई स्वार्थी बनाउँछ । मानिसका इच्छा कहिले पनि पूरा हुन सक्दैनन् । इच्छा पूरा भएन भने मात्र मानिस ईश्वरको शरण पर्छ । त्यसैले मानिस पश्ताउँछ । आजकाल मानिस भौतिकवादीको भूमरीमा फसेका छन् । भौतिकवादीले विकास गरे पनि शान्ति पाउन सकेन ।

आजकाल मानिस आज्ञात्मिक जीवनबाट पर–पर भाग्दै छन् । शिक्षा दिनु सब गुरु, शास्त्रहरु, पुराणहरु हुँदा हुँदै पनि किन मानिस भाग्दै छन् ।संसार उल्टो छ । जन्मजन्मान्तरबाट आफ्नो संस्कार हटाउन कठिन छ । सबै कर्म बन्धनमा बाँधिएका छन् । कर्म बन्धनबाट मुक्त गराउने बाबुआमा र गुरु बाहेक अरु कोही छैनन् । जसरी बालकहरु बाबुआमादेखि अलग हुन चाहँदैनन् त्यस्तै मानिसहरु पनि ईश्वरदेखि अलग हुन चाहँदैनन् तर मनले ईश्वरतिर जान दिँदैन । मानिस निराश हुनु हुँदैन । सत्यलाई छोड्नु हुँदैन । जसलाई भाषाले अभिव्यक्त गर्न सकिँदैन । त्यस्तो रहस्मय ज्ञान दिने मातापिता, सतगुरुको दर्शन पाउन दुर्लभ छ । ज्ञानी मान्छेले मात्र मातापिता र गुरुको मर्मलाई बुझेका हुन्छन् ।

ईश्वर देखिने वस्तु होइन । मनले देख्नु पर्छ । आँखाले ईश्वरलाई देख्नु भन्नु आडम्बर हो, धोका हो । शास्त्रले त्यो कुरा देखाइदिन्छ, अनुभव गराइदिन्छ । भावनाबाट ईश्वरको प्राप्ति हुन्छ । करुणा, दया र प्रेम ईश्वरलाई प्राप्त गर्ने उपाय हो । व्यवहारिक फाइदा मात्र हेरेर गुरु र मातापितामा श्रद्धा राख्ने व्यापारी हुन् । तिनीहरुको भक्ति नै मागी खाने भाडो हो । अर्थात जीविकाको माध्यम हो । पद, प्रतिष्ठा र धनमा नै लक्ष्य राख्ने मानिसले गुरुलाई नमस्कार त गर्छन् तर गुरुको निर्देशनलाई पालना गर्दैनन् । मातापिता र गुरु बराबर हुन् । अन्धकार र अज्ञान नास गर्न सक्ने गुरुबिना अरु कोही छैनन् । त्यसैले हरेक वर्ष हामीले गुरु पूर्णिमा पर्व मनाउछौँ । गुरुबिना शास्त्र पढेर मात्र केही लाभ हुँदैन । गुरुको आचरण शिष्यले अनुशरण गर्दछ । आजकाल त गुरु पनि व्यापारी बनेका छन् । ज्ञान बेचेर हिड्छन् । त्यसैले श्रद्धा कम हुँदै गएको छ । गुरुको अस्तित्वलाई कायम गर्नुपर्छ ।