आन्तरिक स्रोत कमजोर हुँदा घाटा :उपमहासचिव पुन

गोरक्ष समाचारदाता
दाङ, ५  भदौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले घाटा बजेट बढ्दै गएको बताएका छन् । प्रेस सेन्टर दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आन्तरिक स्रोत बलियो नहुँदा घाटा बजेट ल्याउनु पर्ने अवस्था आएको बताए ।

घाटा बजेट बढी हुँदा ऋण लिएर विकास निर्माण गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको उनले बताए । आन्तरिक राजस्वले साधारण खर्च धाने पनि विकास निर्माणका लागि ऋण लिनु पर्ने बाध्यात्मक अवस्था रहेको भन्दै उनले भने, ‘आन्तरिक स्रोत नहुँदा विदेशी तथा आन्तरिक ऋण लिनु पर्ने बाध्यता छ ।’ बाहिरबाट ऋण लिएर काम गर्नु देशको लागि सकारात्मक पक्ष नभएको उनले बताए । ‘हामी सरकारमा रहँदा घाटा बजेट सुधारका लागि योजना अगाडि बढाएका थियौँ’, उनले भने, ‘अहिलेको सरकारले पनि त्यसलाई निरन्तता दिनेछ भन्ने हाम्रो विश्वास छ ।’

आन्तरिक स्रोत वृद्धिका लागि आफूहरू सरकारमा रहँदा रणनीति तयार गरेर अगाडि बढेको पनि उनले दाबी गरे । रणनीति अनुसार काम भए आन्तरिक स्रोतमा वृद्धि हुने उनको भनाइ छ । राजस्वको नीति सुधार गरेकाले केही मात्रामा राजस्व सङ्कलन वृद्धि भएको उनले दाबी गरे । आन्तरिक स्रोत बलियो बनाउन सरकारले राजस्व नीति बलियो बनाउनु पर्ने उनको अभिव्यक्ति थियो । स्वदेशी तथा विदेशीका लागि लगानीमैत्री वातावरण बनाएर स्रोत बढाउन सकिने पूर्व अर्थमन्त्री पुनले बताए । ‘सरकारले एक्लैले गरेर मात्र हुँदैन, निजी क्षेत्र तथा विदेशी लगानी सुरक्षित गर्ने वातावरण बनाउनु पर्छ’, उनले भने । लगानी गर्न सरकारको तर्फबाट मात्र नभएर निजी क्षेत्र र विदेशी लगानीमा प्रोत्साहन गर्नु पर्ने उनले बताए ।

आफू अर्थमन्त्री रहँदा दाङको विकासलाई प्राथमिकता राखेर हेरेको बताए । हवाई सेवा सहज बनाउन तुलसीपुरमा रहेको विमान स्थलको धावन मार्ग विस्तारका लागि बजेट विनियोज बताए । जिल्लाका जनप्रतिनिधि तथा सरोकारवालाको माग अनुसार विमानस्थलका लागि बजेट विनियोजन गरेको उनले पत्रकार सम्मेलनमा जानकारी गराए । तुलसीपुरमा विमानस्थल सञ्चालन हुन नसक्दा नेपालगञ्ज, भैरहवा जानु पर्ने बाध्यता रहेको भन्दै उनले भने, ‘दाङमा विमानस्थल सञ्चालन नहुँदा दाङबासीले मात्र नभई साविक राप्तीबासीले नै समस्या भोग्नु परेको छ ।’

ठुला प्लेन बसाउन विमान स्थलको धावनमार्ग विस्तार गर्नु पर्ने भन्दै उनले यसका लागि सरकारले बजेट विनियोजन गरेको बताए । सरकारले बजेट व्यवस्थापन गरे पनि क्यानमार्फत् काम हुने उनले बताए । सानो प्लेनमा भाडा महँगो हुने कारण धेरैको पँहुच नपुग्ने उनी बताउँछन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिएस कक्षा सञ्चालनको लागि बजेट विनियोजन गरेको, घोराही, होलेरी सडकलगायतका महत्वपूर्ण योजनामा बजेट विनियोजन गरेको बताए । यसको दुई जिल्लाको विकासमा भूमिका खेल्नु पर्ने उनको दाबी थियो ।

घोराही तुलसीपुर सडक चारलेन आफनै लगानीमा निर्माण गरिनु पर्ने बताउँदै उनले त्यसका लागि स्रोतको व्यवस्थापन गर्न आवश्यक रहेको धाराण राखेका थिए । अर्को प्रसङ्गमा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री पुनले आफूहरू सरकारमा जान हतार नभएको बताए । ‘हामी सरकारमा जाने हतारोमा छैनौँ’, उनले भने, ‘हामी जनतासँग बस्छौँ, अन्तरक्रिया गछौँ ।’ जनताको आवाजलाई सडक र सदनमा उठाउने उनको भनाइ थियो ।

२०७२ देखि सरकारमा रहेको भन्दै अहिले सरकार बाहिर रहेकाले प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाइ छ । ‘प्रतिपक्षमा बसेर सरकारको काम अनुसार सहयोग वा खबरदारी गर्ने छौँ’, उनले भने । संविधानको पूर्णरूपमा कार्यान्वन हुन नसकेको भन्दै यसको संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । अहिले पनि सुरक्षाकर्मी तथा कर्मचारी हस्तान्तरण हुन नसकेको उनले बताए । सकारात्मक रूपले संविधानको संशोधन गर्नु पर्ने बताए । पत्रकार सम्मेलन प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष अनिता पोख्रेलको अध्यक्षतामा भएको थियो भने सहजीकरण सचिव जनक नेपालीले गरेका थिए ।