राज्यको प्राथमिकतामा सञ्चार क्षेत्र परेन : अध्यक्ष पोख्रेल

गोरक्ष समाचारदाता
दाङ, ५ भदौ ।नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रले सञ्चार क्षेत्र राज्यको प्राथमिकतामा नपरेको बताएका छन् । राज्यले कानुन निर्माण गर्दा सञ्चारमैत्री कानुन निर्माण नगरेको भन्दै सिङ्गो सञ्चार क्षेत्र झस्किनु पर्ने अवस्था रहेको अध्यक्ष पोख्रेलले बताए ।

राज्यको कानुन निर्माणको यो कार्यशैलीले पत्रकार सशङ्कित बनिरहनु दुःखद् रहेको उनको भनाइ छ । ‘सञ्चार क्षेत्र राज्यको प्राथमिकतामा पर्न सकेको छैन’, नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापना भएको पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रको मङ्गलवार उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले भने, ‘राज्यले सञ्चारमैत्री कानुन निर्माण नगर्ने संशयले सिङ्गो सञ्चार क्षेत्र सशङ्कित र त्रसित बन्नु पर्ने अवस्था छ ।’ अध्यक्ष पोख्रेलले महासंघको तर्फबाट सुझावसहित संसद्मा रहेको मिडिया काउन्सिल विधेयक संशोधन गर्न माग गरे पनि अझैसम्म संशोधन हुन नसकेको बताए । ‘राज्य मिडियाप्रति अनुदार छ भन्ने उदाहरण मिडिया काउन्सिल विधेयक पनि हो’, अध्यक्ष पोख्रेलले भने, ‘नेपाल पत्रकार महासंघले विधेयक संशोधन गर्न माग गरे पनि अहिलेसम्म संशोधन हुन सकेको छैन ।’

अघिल्लो सरकारको पालामा मिडिया काउन्सिल विधेयकमा भएका त्रुटि सच्याउन लिखित रूपमा बुँदा सहित सच्याउन आवश्यक छ भनेर सुझाव दिइएको उनले बताए । ‘विधेयकमा भएका असहमतिप्रति लिखित रूपमै सुझाव दिएका थियौँ तर सुझावलाई एकातिर पन्छ्याएर अघि बढ्न खोजिएको देखिन्छ’, उनले भने ।

यसैगरी अध्यक्ष पोख्रेलले शाखामा स्थापना गरिएको पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रले पत्रकारमा पठन संस्कृतिको विकास गर्नुका साथै पत्रकारका बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यो पुस्तकालय एवम् अनुसन्धान केन्द्रलाई निरन्तर निरन्तरता दिँदै इ–लाइबेरीका रूपमा विकास गर्न समेत अनुरोध गरे । बदलिँदो समयसँगै प्रविधिको विकास भइरहेकाले महासंघले पुस्तकालय तथा अनुसन्धान केन्द्रको विकासमा ध्यान दिनु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रले पत्रकारमा पठन संस्कृतिको विकाससँगै इतिहासको खोजी गर्नेका लागि सहयोगी बन्ने बताए । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतलले महासंघमा स्थापना भएको पुस्तकालय नमुना एवम् सिर्जनशील कार्य भएको भन्दै यसलाई आगामी दिनमा समृद्ध अनुसन्धान केन्द्रका रूपमा विकास गर्र्न सुझाए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केबी मसालले यो पुस्तकालय एवम् अनुसन्धान केन्द्रले पठन संस्कृतिको विकासमा सहयोग पुग्ने बताए ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गौतमले पत्रकार महासंघ दाङ शाखाले सञ्चालन गरेको पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्र नमुना कार्य भएको भन्दै यसलाई सबैको पहुँच पुग्ने गरी विकास गर्न आवश्यक रहेको बताए । महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सविन प्रियासनले पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापना गरेर महत्वपूर्ण कार्य गरेको भन्दै आगामी दिनमा थप व्यवस्थित गर्दै लग्नु पर्ने बताए ।

पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताले पुस्तकालयलाई विशुद्ध पत्रकारिता क्षेत्रको विकास र अनुसन्धानका लागि केन्द्रित गर्नु पर्ने भन्दै त्यही अनुसार आगामी दिनमा विकास गर्न आग्रह गरेका थिए । विगतको तुलनामा अहिले व्यवस्थित र आकर्षक भएको भन्दै वर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका शाखा सल्लाहकार लक्ष्मी आचार्य, नेपाल प्रेस युनियन केन्द्रीय उपमहासचिव सुलोचना गौतम, प्रेस चौतारी दाङ शाखाका पूर्व अध्यक्ष जेएन सागर, प्रेस सेन्टरका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश चौधरीलगायतले मन्तव्य गरेका थिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए । पुस्तकालय तथा अनुसन्धान केन्द्रमा पत्रकारितासम्बन्धी अध्ययन गर्नका लागि पुस्तक राखिएका छन् ।