पदमुक्त शिक्षकलाई गाउँपालिकाको स्पष्टीकरण

गोरक्ष समाचारदाता

दाङ, ३ भदौ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ को माध्यमिक विद्यालय सिक्टाका पदच्युत भएका प्रधानाध्यापक विष्णु खत्रीलाई राजपुर गाउँपालिकाले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

लामो समयदेखि मावि सिक्टामा विद्यालय व्यवस्थापन समिति गठन नगरेको र मावि सिक्टाका सिनियर शिक्षक भरत बस्नेतले शिक्षा ऐन अनुसार २०२८ संशोधन सहित शिक्षा नियमावलि २०५९ संशोधन सहित २०८१ जेठ २९ गते पालिकामा निवेदन दिएको र राजपुर गाउँपालिकाले स्थायी शिक्षक सिर्जना खनाल र देवबहादुर बस्नेतलाई सोध्दा उनीहरूले जिम्मेवारी नलिने भनी निवेदन पेस गरेका कारण पालिकाले २०८१ साउन ३१ गते भरत बस्नेतलाई निमित्त प्रअको जिम्मेवारी दिएको थियो ।

बस्नेतले जिम्मेवारी पाइसकेपछि पदच्युत प्रअ खत्रीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुखलगायतका कर्मचारीलाई तथानाम गालीगलौज गर्ने, पदभार गर्दा निमित्त प्रअलाई कुर्सीबाट लतार्नेलगायतका घटनामा खत्रीको संलग्नता देखिएको विषयमा राजपुर गाउँपालिकाले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

पालिकाले सोधेको स्पष्टीकरणमा, ‘शिक्षक जस्तो मर्यादित पदमा आसिन व्यक्तिले यस्तो गतिविधि कुन ऐन कानुन वमोजिम गर्नुभएको हो ? शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम १० वमोजिम २४ घण्टाभित्र आफैँ उपस्थित भई लिखित स्पष्टीकरण दिनु’ उल्लेख गरिएको छ ।

पालिकाले शिक्षा ऐन अनुसार काम गर्दा शिक्षकबाट भएको गलत गतिविधि ठहर गर्दै स्पष्टीकरण सोधेको शिक्षा शाखा प्रमुख केशव लम्सालले बताए । मावि सिक्टाका पदच्युद प्रधानाध्यापक खत्रीले आफ्नो फेसबुकमा राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत विष्णु पाण्डे, शिक्षा शाखा प्रमुख केशव लम्साललगायतका कर्मचारीलाई नकारात्मक टीकाटिप्णी लेख्नुका साथै पालिकाबाट जिम्मेवारी दिएका निमित्त प्रअ बस्नेतलाई पदभारका क्रममा कुसीबाट लतारेको आरोप लगाइएको छ ।