भूपबहादुर बुढाथोकी
एक्काइसौँ शताब्दीको सुरुवातदेखि नै सामाजिक सञ्जालको व्यापक प्रयोग बढिरहेको छ । विश्वका करिब ८ अर्ब जनसङ्ख्यामध्ये ५ अर्ब जति मानिसहरु कुनै न कुनै सामाजिक सञ्जालको प्लेटफर्ममा संलग्न भएका छन् । फेसबुकमा मात्रै करिब ३ अर्ब ७ लाख मानिसहरु आबद्ध भएका छन् । त्यसैगरी ट्वीटर, ह्वाटसप, इन्स्टाग्राम, टिकटक, वीच्याट, टेलिग्राम लगायत अन्य विभिन्न सामाजिक सञ्जालका प्लेटफर्महरुमा मानिसहरु आबद्ध भएका छन् ।
मानिसहरुले बिहानदेखि बेलुकासम्मका विभिन्न गतिविधिहरुलाई सामाजिक सञ्जालमा राखिरहेका हुन्छन् । साथै समसामयिक मुद्दाहरुमा विचार प्रस्तुत गर्ने, बहस गर्ने, समर्थन गर्ने, वकालत गर्ने र आफ्ना मागहरु पूरा गराउने साधनको रुपमा पनि सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् । वर्तमान समयमा मानव जीवनका हरेक पक्षहरुलाई सामाजिक सञ्जालले प्रभावित गरिरहेको छ । शिक्षा, स्वास्थ्य अर्थतन्त्र, राजनीतिक, प्रशासन, न्याय, समाजसेवालगायत अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत सामाजिक सञ्जालले प्रभावित गरिरहेको छ । सामाजिक सञ्जालका धेरै फाइदाहरु छन् । यसको सदुपयोग गरेर मानिसले आफ्नो काम, नाम र सम्मान बढाउन सक्छन् ।
ठूला सञ्चार गृह र मूलधारका मिडियाहरुको एकाधिकारलाई सामाजिक सञ्जालले भत्काएको छ भनेसत्यतथ्य समाचार छिटो छरितो प्राप्त गर्न सकिने आधार खडा गरेको छ । तर अफसोस सामाजिक सञ्जालको प्रयोग बढेसँगै यसका विभिन्न बेफाइदाहरु देखापरेका छन् सामाजिक सञ्जालको दुरुपयोगले गलत सूचनाको प्रसारण गर्ने, कुनै व्यक्ति जाति वा संस्थाप्रति घृणा फैलाउने, अपराधिक क्रियाकलापहरु बढाउने, ध्वंसात्मक कार्य वा आतङकवादी क्रियाकलाप बढाउन पनि सामाजिक सञ्जालले मलजल गरेको छ । सबै पुस्ताका मानिसलाई सामाजिक सञ्जालले सकारात्मकका साथै नकारात्मक नकारात्मक रुपमा प्रभाव पारिरहेको छ । यस आलेखमा सामाजिक सञ्जालको बढ्दो प्रयोगले युवा पुस्तामा बढाएको निराशा बारे चर्चा गरिएको छ ।
एकातर्फ युवा अवस्था जैविक र मनोवैज्ञानिक रुपमा उच्च संवेगको अवस्था हो भने अर्कोतर्फ सामाजिक सञ्जालको आबद्धताले उनीहरुमा निम्नबमोजिमको मनोदशा उत्पन्न गराइ उच्च निराशामा पारेको छ ।
१. अरुसँग तुलना गर्ने प्रवृत्ति
मनोवैज्ञानिकहरुले युवावस्थालाई काल्पनिक उमेर वा अवस्था भनी नामाकरण गरेका छन् । उनीहरुले आफूलाई आफ्नो दृष्टिकोणबाट पूर्ण भएको देख्न वा पाउन चाहन्छन् । यस्तो अवस्थामा सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुमा पोस्ट गरेका अन्य मानिसहरु, आफन्तहरु र साथीभाइहरुले रमाइलो गरेका फोटो भिडियो वा दैनिक जीवनशैलीका भ्लगहरुसँग तुलना गर्दा आफूलाई उनीहरु जतिको पाउन नसक्दा अत्यन्त दुःखी र निराश हुन्छन् ।
सञ्जालमा आफ्नोभन्दा पनि खराब अवस्थाका मानिसहरुको बारेमा कुनै चासो र चिन्ता गर्दैनन् । अरुले लगाएका महंगा महंगा ब्राण्डेडकपडा, जुत्ता, घडी, उनीहरुले बोक्ने आइफोन, खाने बर्गर, पिज्जा, बिरयानी, जाने महँगो र डेकोरेटेड रेस्टुरेन्ट वा रिसोर्ट, चढ्ने मोटरसाइकिल वा कार, बोल्ने बनावटी भाषा, गर्लफ्रेण्डर ब्वायफ्रेण्डसँगको मस्का मस्कि, हिपहप शैली र चुरोट समाएर कुल देखिने प्रवृत्ति सँग आफ्नो अवस्था तुलना गरेर आफूलाई ज्यादै कमजोर र तुच्छ छान्ने प्रवृत्तिले उनीहरुलाई चरम निराशामा पुर्यााएको छ । अरुले सञ्जालमा देखाउने बनावटी चमकधमकलाई वास्तविक ठानी आफूलाई निरीह मान्ने, बाबुआमालाई असहयोगी ठान्ने र आफन्तहरुसँग टाढिने प्रवृत्तिले पनि उनीहरुलाई थप निराश र एकाङ्की बनाएको छ ।
२. कमजोर आत्मसम्मान
सामाजिक सञ्जालमा देखाउने र देखिने कृत्रिम समृद्धि तथा खुसीले पनि युवाहरुको आत्मसम्मानलाई कमजोर बनाएको छ । अरुको दिनचर्या, जीवनशैली र स्तरसँग तुलना गरी आफूलाई ज्यादै कमजोर ठान्ने, आफ्नो अवस्थालाई नजरअन्दाज गरी अरुको अवस्थालाई नै राम्रो, आकर्षक र महान भएको ठान्ने प्रवृत्तिले युवाहरुको आत्मसम्मानलाई कमजोर बनाएको छ । जसले गर्दा उनीहरु अरुसँग खुलेर कुराकानी गर्न नचाहने, झर्केर बोल्ने र परिवारका सदस्य लगायत आफन्तहरुसँग आत्मीय व्यवहार नदेखाउने अवस्था बढीरहेको छ ।
अरुले भनेका सामान्य कुरा वा गरेका सामान्य व्यवहारको प्रतिक्रिया स्वरुप उच्च आवेग देखाएर चरम निराशामा पुगेको पाइन्छ । आफूले भने जस्ता कपडा र स्मार्टफोन नपाएकै कारण कैयौँ युवा युवतीले आत्महत्या गरेका घटना समेत सुन्ने गरिन्छ । जब आत्मा सम्मान अत्यन्त कमजोर हुन्छ तब उनीहरुले दैनिक क्रियाकलाप लगायत आफ्नो सुन्दर भविष्य निर्माण गर्ने कार्यमा समेत पछि पर्दछन् ।
३. साइबर बुलिङ
सामाजिक सञ्जालका प्लेटफर्म मार्फत कसैले दिने उत्पीडन डर धम्की चेतावनी युवा युवती ज्यादै प्रताडित हुने गर्दछन् । उनीहरुको बारेमा सामाजिक सञ्जालमा गरिएका नकारात्मक पोष्टहरुले वा उनीहरुका पोस्टमा गरिने नकारात्मक तथा अपमानजनक प्रतिक्रियाहरुले युवा युवतीहरुलाई उच्च तनाव गहिरो चिन्ता र डिप्रेसनमा पुर्यााएको छ ।
परिचित,अपरिचित विभिन्न व्यक्तिहरुबाट आउने धम्कीका कारण डरत्रासको मनोदशाले बाँचिरहेको पाइन्छ । विभिन्न प्रलोभनमा परेर वा झुटा आश्वासन तथा प्रेमका कारण यौन जन्य क्रियाकलापमा संलग्न हुने र पछि त्यसैलाई आधार बनाएर ब्ल्याकमेलिङ गर्दै थप आर्थिक मानसिक तथा यौन शोषणमा परेको पाइन्छ ।
४. बहिष्कृत हुने डर (फियर अफ मिसिङ आउट)
आफ्ना साथीभाई आफन्तजन र छिमेकीहरु विभिन्न पिकनिक, पार्टी र भ्रमणहरुमा घुमेको देख्दा युवा युवतीहरुले आफूलाई एकदम कमजोर र एकलिएको महसुस गर्दछन् । नयाँ पार्क पोखरी, पुल, मन्दिर, नदी, पहाड, हिमाल, सहर आदि ठाउँहरुमा रमाइलो गर्दै घुमेका फोटो र भिडियोहरु सामाजिक सञ्जालमा देख्दा आफूहरु साथीसर्कल वा समाजबाटै बहिष्कृत भएको ठान्दछन् । शैक्षिक संस्था वा कुनै क्लबबाट गरिने महंगा भ्रमणहरुमा संलग्न हुन नसक्दा पनि आफूलाई ज्यादै निरीह भएको ठान्दछन् । यसबाट उनीहरुमा एक्लोपनको भावना तीव्र रुपमा बढ्दछ र उनिहरु गहिरो निराशामा पर्दछन् ।
५. सुताइमा अवरोध
उमेरको आधारमा युवा पुस्ताले नै समाजिक सञ्जालको अत्यधिक प्रयोग गरिरहेका छन् । विश्वव्यापी रुपमा १६ देखि २४ वर्ष उमेरसम्मका युवायुवतीले औसतमा दैनिक ३ घण्टा सामाजिक सञ्जालका कुनै न कुनै प्लेटफर्ममा बिताउने अध्ययनहरुले देखाएको छ । कम विकसित र बेरोजगारीको समस्या भएको देशमा युवा युवतीहरुले अझ बढी समय सामाजिक सञ्जालमा बिताउने गरेको पाइन्छ ।
राति अबेरसम्म सामाजिक सञ्जालमा सलग्न हुने भएकोले एकातर्फ उनीहरुको सुत्ने समय घटिरहेको छ भने अर्कोतर्फ सञ्जालमा देखिने अत्यन्त संवेदनशील, भावनात्मक र हृदय विदारक दृश्यहरुले उनीहरु मस्तसँग निदाउन नसक्ने अवस्था रहेको छ । बिहान अबेरसम्म सुत्ने बानीले उनीहरुमा थप निराशा आलस्य र चिन्ता बढाएको छ ।
यस्तो प्रवृत्तिले न त उनीहरुले घरायसी काममा सघाउने अवस्था छ न त अध्ययन कार्यलाई नै बलियो बनाउन सकेका छन् । यसले उनीहरुको पाचन प्रणाली, आँखासम्बन्धि र आधारभूत व्यवहार प्रदर्शनमा समस्या ल्याएको छ ।
६. सञ्जालको लत बस्न
तुलनात्मक रुपमा युवा युवतीले सामाजिक सञ्जालको प्रयोग अत्यधिक रुपमा गर्ने भएकोले उनीहरुमा यसको लत बसेको पाइन्छ । मोबाइल नचलाएर एकछिन पनि बस्न नसक्ने, जुनसुकै बेला अनलाइनमा रहने, सञ्जालमा विभिन्न कन्टेन्ट पोस्ट गर्ने, मेसेज आदानप्रदान गर्ने, नोटिफिकेसन चेक गरिरहने, लाइक कमेन्ट र सेयरको आशा राख्ने, सकारात्मक प्रतिक्रियाको अपेक्षा गर्ने अझ कतिपय अवस्थामा केटा साथी वा केटी साथीबाट छिटो जवाफ नआउँदा, मेसेज नहेर्दा र हेरेर पनि जवाफ नदिँदा युवा युवतीहरु उच्चतनावको अवस्थामा पुग्ने गरेको पाइन्छ ।
डाटा खरिद गर्न घरमा पैसा माग्दा, पढाईमा ध्यान नदिँदा र खाना खान समेत टाइम नदिई कोठामा सीमित हुँदा परिवारका सदस्यहरुसँग सम्बन्ध सुमधुर हुने गरेको पाइँदैन । अनलाइन गेमिङ, एनिमेटेड फिल्म र एआइ जेनरेटेड सामग्रीहरुका कारण उनीहरुमा अस्वभाविक व्यवहारको विकास भइरहेको छ ।
७. डोपामिन चक्रमा अवरोध
मानिसमा हुने डोपामिन हर्मोनलाई खुसीको हर्मोन भनिन्छ । सामाजिक सञ्जालको सन्दर्भमा डोपामिन चक्र भन्नाले मस्तिष्कको पुरस्कार प्रणालीलाई सक्रिय बनाउने प्रक्रिया हो । मानिस जब खुसी र पुरस्कृत भएको महसुस गर्दछ तब उसमा डोपामिन नामक न्युरोट्रान्समिटर उत्पन्न हुन्छ । मानिसले सामाजिक सञ्जालमा आफूलाई मनपर्ने दृश्य वा सामग्री देख्दा उत्पन्न हुने उक्त रसायनले थप सञ्जाल प्रतिशत लत बसाउँदछ ।
तर सामाजिक सञ्जालमा देखिने क्रुर, निराशाजनक र विभत्स दृश्यहरुले मानिसको डोपामिन चक्रलाई नै अवरुद्ध गर्दछ र व्यक्तिमा क्रमशः निराशा उत्पन्न हुन्छ । उच्च संवेगको उमेर भएकोले यसको नकारात्मक असर बढी मात्रामा युवा युवतीमाथि नै बढी पर्दछ । यसले उनीहरुको निन्द्रा र पाचन प्रणालीमाथि गम्भीर असर पार्दछ ।
८. प्रत्यक्ष अन्तरक्रियामा कमी
युवा युवतीहरुअत्यधिक रुपमा सामाजिक सञ्जालमा सक्रिय हुने भएकोले परिवारका सदस्यहरु आफन्त र साथीभाइहरुसँग प्रत्यक्ष अन्तरक्रिया अत्यधिक कम हुन्छ । जसले गर्दा उनीहरुलाई अरुको अवस्था समस्या आवश्यकता बारे जानकारी हुँदैन । दिनभरि आफूले भोगेका गरेका काम तथा अनुभवहरु पनि परिवारका सदस्यसँग सेयर हुन पाउँदैन । आफ्नै सन्तानका राम्रा नराम्रा क्रियाकलापहरु बारे परिवारका सदस्यहरु अनभिज्ञ हुन्छन् ।
उचित सल्लाह निर्देशन र परामर्श दिने लिने अवसर नै मिल्दैन । पारिवारिक तथा सामुदायिक कार्यहरुमा युवा युवतीहरु बिरलै रुपमा सरिक हुन्छन् । यसबाट पारिवारिक तथा सामाजिक मूल्यमान्यता सिक्ने सिकाउने प्रक्रिया नै अवरुद्ध हुन पुग्दछ । परिवारका सदस्य लगायत अन्य व्यक्तिहरुसँग आत्मीय सम्बन्ध स्थापित हुन सक्दैन । जसका कारण युवा युवतीहरुमा डर र असुरक्षाको भावना वृद्धि हुन्छ । समयमै उनीहरुले उचित निर्देशन सल्लाह र परामर्श प्राप्त गर्न सक्दैनन् । फलस्वरुप गलत बानी व्यवहार र संगतको सिकार हुन पुग्दछन् ।
९. अवास्तविक अपेक्षाहरु
सामाजिक सञ्जालमा अन्य व्यक्तिहरुले रमाइलो गरेका हालेका फोटो भिडियो भ्लगहरु देखेर युवा युवतीहरुमा उच्च महत्त्वाकांक्षा जागृत हुन्छ । सञ्जालका दृश्यहरुलाई साँच्चिकै जस्तो ठानेर उनीहरुले आफ्ना आकाङ्कषा र अपेक्षाहरु निर्माण गर्दछन् जुन अवास्तविक र केही हदसम्म काल्पनिक पनि हुन्छन् । आफ्नो र परिवारको अवस्थाभन्दा पनि बढी चाहना राखेर त्यसको परिपूर्तिका लागि प्रयास गर्दछन् । बाबुआमासँग अपेक्षाहरु प्राप्तिका लागि माग गर्ने र माग पूरा नभएमा रिसाउने, झगडा गर्ने, बोल्न छोड्ने र घर छोडेर समेत हिँड्ने गर्दछन् । यसबाट एकातर्फ उनीहरुको पारिवारिक सम्बन्ध खराब बन्न पुग्दछ । अर्कोतर्फ आफूलाई कमजोर र निरीह ठानी युवा युवतीहरुमा हिनभावनाको विकास हुन्छ ।
१०. नकारात्मक सामग्रीको सम्पर्क
सामाजिक सञ्जाल अहिले स्वामित्वविहीन पोखरी जस्तै भएको छ जहाँ खान नहुने धेरै जीवहरु बसोबास गरेका हुन्छन् । अर्थात् सामाजिक सञ्जालमा अरुको बदनाम गर्ने, विभिन्न व्यक्ति, समुदायप्रति घृना फैलाउने, गलत सूचनाको प्रचारप्रसार गर्ने, सामाजिक सन्तुलन खल्बल्याउने, हिंसा बढाउने, आतंकवादलाई प्रवर्द्धन गर्ने, अश्लिलता एवं अप्राकृतिक यौन व्यवहारलाई फैलाउने, राजनीतिक स्वार्थ पूरा गर्ने, आर्थिक ठगी गर्न सघाउने जस्ता विभिन्न सामग्रीहरु पाइन्छन् ।
जसले युवा पुस्तालाई दिगभ्रमित गर्न, खराब आचरण सिकाउन मद्दत गरिरहेका छन् । जसले गर्दा कुनै व्यक्ति जाति समुदाय र धर्मप्रति घृणा फैलाउने अपशब्द बोल्ने डर धम्की देखाउने र अपराधिक क्रियाकलापमा संलग्न हुन प्रेरित गरिरहेको छ । समग्रमा युवायुवतीहरु नै सामाजिक सञ्जालमा अत्याधिक सक्रिय हुने भएकोले उनीहरुमा एक प्रकारको अस्वभाविक व्यवहारको विकास भइरहेको छ । उच्च संवेगको अवस्थामा रहेका उनीहरुमा शारीरिक मानसिक र व्यवहारजन्य समस्याहरु देखा परेका छन् । जसको समाधानका लागि परिवार, शैक्षिक सस्था, समुदाय, स्वास्थ्य संस्था र नियमनकारी निकाय थप जिम्मेवार भई प्रभावकारी पहल गर्न अत्यावश्यक भइसकेको छ ।