खेमराज रिजाल
देउखुरी, ३१ साउन । लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश मातहतका जिल्ला समन्वय समितिलाई आफूहरूले निरीह बनाउन नचाहेको बताएका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लाका समन्वय समितिका प्रमुखहरूसँगको भेटघाट तथा लुम्बिनी प्रदेश जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको स्वागत एवम् बधाई कार्यक्रममा सङ्क्षिप्त मन्तव्य दिँदै मुख्यमन्त्री आचार्यले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘हामीलाई लाग्यो यस अघिका बजेट प्रभावकारी कार्यान्वयन हुन सकेन, अब यसलाई थप सुधार अनुगमनको जिम्मा जिल्ला समन्वय समितिलाई दिनेमा हामी सकारात्मक छौँ’, मुख्य मन्त्री आचार्यले भने । बजेटको प्रभावकारी कार्यान्वयन हुन नसक्नु सबैको सामूहिक चिन्ता भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यसमा सबै जनप्रतिनिधिलाई आ–आफ्नो भूमिकामा बाध्न प्रदेश सरकार सकारात्मक रहेको मुख्य मन्त्री आचार्यले बताए ।
आयोजनालाई थप प्रभावकारी बनाउन पाँच लाख रुपैयाँभन्दा बढीका आयोजनालाई लाइन एजेन्सीमार्फत् कार्यन्वयनमा ल्याउने लुम्विनी प्रदेश सरकारको तयारी रहेको उनको अभिव्यक्ति थियो । उपभोक्तामार्फत् आयोजना गराइरहँदा उपभोक्ता समिति आफूले पाएका योजना अरूलाई ठेक्कामा दिने प्रवृत्ति हाबी रहेको उनले बताए । उनले यसलाई सुधार्न अब पाँच लाख रुपैयाँभन्दा ठुला आयोजना सोझै ठेक्का प्रक्रियामार्फत् सम्पन्न गर्न प्रदेश सरकारले थप कानुन र कार्यविधि बनाउने उनको अभिव्यक्ति थियो ।
सो अवसरमा मुख्यमन्त्री आचार्यलाई प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई चालु आर्थिक वर्षको बजेटमा राखिदिएको पाँच लाख रुपैयाँ खर्च गर्ने कार्यविधि बनाइदिन पनि लुम्बिनी प्रदेश महासंघले आग्रह गरेका थिए । यसमा लुम्विनी प्रदेशका सचिव कृष्णप्रसाद पौडेल, आन्तरिक मामिलाका सचिवलगायतका पदाधिकारीसँग छलफल भएको थियो । छलफलमा विभिन्न विकल्प निस्किए पनि थोरै रकम खर्च गर्न जिल्ला समन्वय समितिको बोर्ड बैठकको निर्णयबाट पनि कार्यान्वयन गर्न सकिने तर्क निस्केको छ । यस अघिको लुम्विनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्ला समन्वय समितिलाई तीन लाख रुपैयाँ बजेट राखिदिए पनि कार्यविधि नबनाइदिएकाले सबै जिल्ला समन्वय समितिको रकम फिर्ता भएको थियो ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने
यसैबिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । भदौ ४ गते बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन भएका हुन् ।
प्रदेश सभाले बुधवार सूचना प्रकाशित गर्दै भदौ ४ गते दिउँसो १ बजे बैठक आह्वान गरेको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य साउन ७ गते नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए । साउन ७ मा मुख्यमन्त्री बनेर ९ गते शपथ ग्रहण र पदभार ग्रहण गरेका मुख्यमन्त्री आचार्यले सरकारलाई अझै पूर्णता दिन भने सकेका छैनन् ।
एमाले र कांग्रेसबाट ४÷४ मन्त्री नियुक्त गरे पनि तीन मन्त्रालय अझै खाली रहेका छन् । सत्ता गठबन्धनका दुई दल एमाले र कांग्रेसबाट थप मन्त्री बनाउनु पर्ने दबाब मुख्यमन्त्री आचार्यलाई रहेको छ भने मुख्यमन्त्री आचार्य साना दललाई पनि सरकारमा सहभागी बनाएर अघि बढ्ने मनस्थितिमा छन् ।