प्रदेश सरकारको युवा केन्द्रित कार्यक्रम ल्याउने योजना : उद्योग मन्त्री न्यौपाने

बुटवल,२९ साउन । उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले संघ र प्रदेश सरकार युवा प्रतिको नैरश्यता चिर्ने दिशामा केन्द्रीत रहेको बताउनु भएको छ । उहाँले केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा काँग्रेस र एमाले मिलेर बनेको सरकारको मुख्य एजेण्डानै अहिले युवा केन्द्रित कार्यक्रम ल्याउने योजनामा रहेको बताउनुभयो ।

बुटवल जेसीजले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार बुटवलमा गरेको युवामैत्री नीति, राष्ट्र निर्माणमा दुरदृष्टि विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले युवा पयायनले मुलुककै भविष्य संकटमा पर्ने खतरा बढेकाले युवामैत्री कार्यक्रम ल्याउनुको विकल्प नभएको स्पष्ट पार्नुभयो । उहाँले युवाको पक्षमा राज्यले ठोस नीति ल्याउन नसकेको उल्लेख गर्दै उहाँले युवालाई स्वाभलम्बन बनाएर रोजगारमुलक वातावरण सृजना गर्नु अहिलेको आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘मुलुकमा रोजगारी छैन, युवामैत्री नीति छैन, युवामा निराशा छ, कृषिको सम्भावना छैन लगायतका निराशाहरु रहेकाले त्यो चिर्नका लागि अव हामीले युवाका पक्षमा कार्यक्रम ल्याउछौं । त्यसकालागि संघ र प्रदेश सरकार गम्भिर छ ।’’ उहाँले पढेको आधारमा डिग्रिको सर्टिफिकेट छ भनेर बोल्नु भन्दा युवालाई देश निर्माणमा आफ्नो योगदान दिन सुझाव दिनुभयो । उहाँले युवाको नेतृत्व पनि आवश्यक रहेको बताउनुभयो ।

यस्तै कार्यक्रमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सन्दिप अग्रहरीले युवालाई भविष्यका कर्णधार बनाएर वर्तमानमा साझेदार नबनाउनदा समस्या आएको बताउनुभयो । उहाँले युवाका पक्षमा बनेका नीतिगत कुराहरु कार्यान्वय नहुने र युवालाई पखा लगाउने क्रियाकलापले युवाका मुद्दा जहाको त्यही रहेको गुनासो गर्नुभयो । कार्यक्रममा जेसीजका पुर्व अध्यक्ष निर्मल कुमार लाकौलले युवालाई नीतिगत अधिकार र अवसर दिनुपर्ने कुरामा जोड दिनुभयो ।