गोरक्ष समाचारदाता
दाङ, ९ वैशाख । जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाले शनिवार बंगलालचुलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । स्वास्थ्य शिविर गाउँपालिकाको कमिरेचौरमा सञ्चालन गरिएको हो ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, लायन्स क्लब अफ घोराही सिटी, नेपाल परिवार नियोजन संघ दाङ शाखा तथा बंगलाचुली गाउँपालिकाको संयुक्त आयोजना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, बंगलाचुली अस्पताल कमिरेचौर, लमही आँखा अस्पताल, नेपाल औषधी व्यवसायी संघ दाङ र रेडियो बंगलाचुलीको प्राविधिक सहयोगमा एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर गरिएको संस्थाले जनाएका छन् । शिविरमा दुई सय १५ जनाको आँखा जाँच गरिएको थियो ।
यसैगरी ६८ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, एक जनालाई रिङपेसरी, स्त्रीरोगका दुई सय १५ जना, नाक, कान, घाँटीसम्बन्धी एक सय १५ जनाले सेवा लिएको बंगलाचुली अस्पतालका हेल्थ असिस्टेन्ट सुभाष चन्द शेर्पाइलीले जानकरी दिए । उनका अनुसार शिविरमा चार सय ६ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमा तीन सय दुई जना महिला रहेका छन् भने एक सय चार जना पुरुष रहेका छन् । शिविरमा बंगलाचुली गाउँपालिका वडा नं. ३, ४, ५ र ६ का तथा प्युठान माण्डवी गाउँपालिकाका स्थानीयको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । आफूलाई पायक पर्ने स्थानमा स्वास्थ्य सेवा पाएपछि नागरिकले खुशी व्यक्त गरेका छन् ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष तथा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुख बिमला योगीको अध्यक्षता एवम् बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीको विशिष्ट आतिथ्यतामा शिविरको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले नागरिकलाई निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिन बेला–बेलामा आयोजना हुने यस्ता खालका शिविरले पालिकालाई सहयोग पुगेको बताए । उनले गाउँपालिकाले सबै प्रकारका विशेषज्ञ स्वास्थ्य सेवा दिन सक्षम नभएको बताउँदै यस्ता खालका शिविरमार्फत् नागरिकलाई आफ्नो घरआँगनमै गुणस्तरीय स्वास्थ्य सेवा दिएको बताए । अध्यक्ष पुनले टेलिमेडिसिन सेवाको सुरुवातका लागि पहल भइरहेको र त्यसको सुरुवात भए केही हदसम्म पालिकाले बिरामीलाई विशेषज्ञ स्वास्थ्य परामर्शको व्यवस्था गर्ने बताए ।
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रबन्धक बसन्त खनाललगायतले बोलेका थिए । शारदा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शीतलले गरेका थिए । त्यस अवसरमा ६ जनालाई मनोसामाजिक मनोविमर्श सेवा प्रदान गरिएको थियो । जसमा नेपाल महिला सामुदायिक सेवा केन्द्रका मनोविमर्शकर्ता लक्ष्मी ढकाल र निर्मला चौधरीले मनोविमर्श सेवा दिएका थिए ।