डढेलो लगाउनेविरुद्ध पर्दैनन् उजुरी
देवेन्द्र बस्नेत
दाङ, ९ वैशाख । केही दिन अघि बिजौरी स्थित एक सामुदायिक वनमा आगो लाग्यो । चुरोट खाएर फालेको चुरोटको ठुटोबाट वनभरी आगो फैलियो । स्थानीयले आगो लगाउने तीनजना युवक भएको पत्ता लगाए अनि उनीहरूबाट जनही २०÷२० हजार रुपैयाँ जरिवाना तिराए । जिल्लामा डढेलो लगाउनेविरुद्ध कारबाही भएका यस्ता एकाध घटना हुन्छन् तर यस्तो अपराध गर्नेविरुद्ध जिल्लामा उजुरी दिने प्रचलन निकै कम छ । डढेलो लगाउनुलाई नेपालको कानुनले फौजदारी अपराध मान्छ तर यो कानुन अनुसार कारबाहीका लागि भने उजुरी दिने निकै कम हुन्छन् । यो कानुनी व्यवस्था अनुसार वनमा डढेलो लगाउनेविरुद्ध ६० हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजायको व्यवस्था गरिएको छ ।
‘यसलाई फैजदारी अपराध भनेर नेपालको कानुनले व्यवस्था गरेको छ, यो कार्य गर्नेलाई ६० हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजायको व्यवस्था गरेको छ’, घोराही वन डिभिजन कार्यालयका प्रमुख मोहन श्रेष्ठले भने, ‘तर यो फौजदारी अपराध अन्तर्गतको कदम हो, फलतः वनमा आगो लगाउनेलाई कानुनी कारबाहीमा ल्याउनु पर्छ भन्ने चेतको विकास त्यति भएको पाईँदैन, वनमा आगो लगाउनेविरुद्ध उजुरी निकै कम आउँछन् ।’ त्यसो त आगो लगाउने सजिलै पत्ता लाग्दैनन् पनि । फलतः उजुरी कसलाई गर्ने भन्ने समस्या रहने पनि श्रेष्ठले बताए ।
‘वनमा आगो लगाउने को हुन् भन्ने पनि सहजै थाहा हुँदैन’, उनले भने, ‘यसले पनि उजुरी गर्नमा समस्या हुने गर्छ ।’ यो डिभिजन अन्तर्गत पर्ने वन क्षेत्रमध्ये यस वर्षको सुख्खा मौसम सुरु भएयता नौ सय हेक्टर वनमा आगो लागिसकेको छ । यो क्रम केही दिनयता बढी भएको हावाका वेगका कारण झनै डढेलो फैलिएको उनले बताए । ‘केही दिन यता हावा पनि बढी चलिरहेको छ, हावाका कारण आगो चाँडै वन क्षेत्रमा फैलिइरहेको छ’, उनले भने, ‘केही स्थानमा त सामुदायिक वन समूहका पदाधिकारी तथा स्थानीयको सक्रियतामा चाँडै नियन्त्रणमा पनि आएको छ ।’ उनका अनुसार अहिले डढेलो लागेको नौ सय हेक्टर क्षेत्रफल सामुदायिक वन क्षेत्र मात्रै हो ।
उता देउखुरी वन डिभिजन अन्तर्गत पर्ने वन क्षेत्रमध्ये यस वर्षको सुख्खा मौसम सुरु भएयता २५ हजार हेक्टर वन क्षेत्रमा डढेलो लागिसकेको छ । आगलागीको कारण मानवीय कारण नै हो तर अहिलेसम्म डढेलो लगाउनेविरुद्ध एउटा पनि उजुुरी डिभिजनमा आएको छैन । वन डिभिजन कार्यालय लमहीका प्रमुख राजु क्षेत्रीका अनुसार डढेलो लगाउनेविरुद्ध अहिलेसम्म कुनै पनि उजुरी आएको छैन । फलतः डढेलो लगाउनेविरुद्ध कारबाही गर्न नसकिएको उनले बताए । ‘डढेलो लगाउनुलाई फौजदारी अपराध मानिन्छ तर डढेलो लगाउनेविरुद्ध अहिलेसम्म हामीकहाँ एउटा पनि उजुरी आएको छैन’, क्षेत्रीले भने, ‘उजुरी नआउँदा कारबाही गर्न पनि हामीलाई समस्या हुने गरेको छ ।’ डढेलो लागेको स्थानमा गएर स्थानीयलाई सोध्दा समेत कसैले पनि डढेलो लगाउनेबारे जानकारी नदिने गरेको उनले बताए । ‘उजुरी नआउने समस्या त एउटा कुरा भयो, हामीले आफ्नो तर्फबाट गरिरहेको अनुसन्धानबाट पनि यस्तो अपराध गर्ने फेला पर्दैनन्, हामीले स्थानीयसँग सोधपुछ गर्दा पनि कसैले भन्दैनन्, आगो लगाउने पत्ता नलाग्दा कानुनी कारबाही गर्न समस्या भइरहेको छ ।’
केही दिन अघि राजपुर स्थित एक गाउँमै आगलागी हुँदा पनि स्थानीयले आगो लगाउनेका बारेमा जानकारी नदिएको उनले बताए । ‘गाउँमै आगलागी हुँदा पनि फल्नोले आगो लगाएको भनेर कसैले पनि हामीलाई भनेन’, क्षेत्रीले भने, ‘घना जङ्गलभित्र लाग्ने आगोको बारेमा जानकारी हुनु त परैको कुरा भइहाल्यो ।’ उनका अनुसार देउखुरी क्षेत्रको बस्ती क्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि प्रयास थाल्न सकिने भए पनि चुरेको माथिल्लो जङ्गल क्षेत्र भने नियन्त्रणभन्दा बाहिरै रहने गरेको छ । ‘आगोबाट चुरेको माथिल्लो क्षेत्र जोगाउन सम्भव छैन’, क्षेत्रीले भने, ‘चुरेको माथिल्लो क्षेत्र नियन्त्रणभन्दा बाहिरै रहने गरेको छ ।’
वन कार्यालयका अनुसार वनमा लाग्ने डढेलोको प्रमुख कारण भनेकै मानवीय कारण हो । गाईवस्तु चराउन जङ्गल जानेबाटै अधिकांश वन क्षेत्रमा आगो लगाइने गरेको वनहरू बताउँछन् । वन डिभिजन कार्यालयका अनुसार वनमा आगो लाग्नुको ९५ प्रतिशत मानवीय कारण मानिन्छ तर नेपालको हकमा भने शतप्रतिशत नै मानवीय कारण हो । ‘वनमा डढेलो लाग्नुको ९५ प्रतिशत कारण मानवीय हो भनेर भनिन्छ’, क्षेत्रीले भने, ‘तर नेपालको हकमा भने शतप्रतिशत नै मानवीय कारणले डढेलो लाग्ने गरेको छ ।’
वन डिभिजन कार्यालयहरूका अनुसार यस वर्ष डढेलोको जोखिम अधिक उच्च मानिएको छ । यस वर्ष पर्याप्त वर्षा नभएका कारण जङ्गल क्षेत्रमा सुख्खापन बढी छ । फलतः आगलागी हुनासाथ चाँडै वन क्षेत्रमा आगो फैलने खतरा अहिले बढी देखिन्छ । ‘पर्याप्त पानी नपरेका कारण जङ्गल क्षेत्रमा सुख्खापन अधिक छ’, घोराही वन डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले भने, ‘यस्तो बेलामा वनमा लागेको आगो चाँडै फैलने हुन्छ ।’ उनका अनुसार वनमा लाग्ने आगो चुरोटको ठुटाबाट बढी सल्किने गरेको छ । यसैगरी वनमा आगो लगाएपछि घाँस पलाउने गलत भ्रम समेत पाल्ने गरिएकाले नागरिक स्वयम्ले वनमा आगो लगाउने गरेको श्रेष्ठले बताए । ‘चुरोट खाने र चुरोटको ठुटा वनमा त्यत्तिकै फालिदिँदा वनमा आगो लाग्ने गरेका कारण धेरै हुन्छन्’, श्रेष्ठले भने, ‘यसका साथै वनमा आगो लगाएपछि नयाँ घाँस पलाउँछ भन्ने गलत सोचले पनि मान्छेले जानी–जानी आगो लगाउने समेत गरेका हुन्छन् ।’