अलमल हैन, अग्रसरता

महामारीका बारेमा अध्ययन गरेकाहरुका अनुसार नेपाल कोरोना संक्रमणको तेस्रो चरणमा पुग्यो । यो अवस्थालाई खतरनाक अवस्था भनेर उनीहरुले बुझाउने गर्दछन् । व्यक्तिमा सीमित भएको अवस्था पहिलो चरण हो भने घरमा फैलँदाको अवस्थालाई दोस्रो चरण र समाजमा फैलँदाको अवस्थालाई तेस्रो चरण भनेर विभाजन गरिएअनुसार नेपाल उदयपुरको परिणामसँगै तेस्रो चरणमा प्रवेश गरेको भनिएको हो ।

लकडाउनको अवस्था हुँदाहुँदै पनि समुदायमा फैलनुले हाम्रो लकडाउनको पालनाका अवस्था सन्तोषजनक नभएको सन्देश दिएको छ । यो बेला पूर्णरुपमा लकडाउनको कार्यान्वयन गर्नका लागि राज्य र नागरिक सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ । यो अवस्थामा हुने हेलचेक्र्याईले अवस्थालाई अझ भयावह बनाउने र संक्रमितको संख्या झनै बढ्ने खतर्नाक अवस्था हाम्रो अगाडि छ ।

यतिबेला हाम्रा अहिलेसम्मका कोरोना विरुद्धको लडाईंका सन्दर्भमा अपनाइएका नीति रणनीतिहरुको पुनरमुल्याङ्कन हुन पनि आवश्यक देखिएको छ । यस्तो मूल्याङ्कन गर्दा राज्यले सबै संरचनाहरुलाई मूल्याङ्कन र नयाँ रणनीति निर्माणको प्रक्रियामा सहभागी गराएर उनीहरुको दायित्वसमेत महशुस गराउन जरुरी छ । त्यसैगरी अरु सबै कामलाई थाँती राखेर कोरोना विरुद्धको लाडाईंमा सिङ्गो राष्ट्र एक भएर लड्ने वातावरण निर्वाह गर्नेतर्फ सरकारले अविलम्ब पहल गर्न जरुरी छ । यो बीचमा सरकारमा देखिएका अलमल र विवादास्प्रद निर्णयका कारण सरकारलाई साथ दिन चाहेका विपक्षी दलहरुलगायत नागरिक समुदाय समेतले सरकारका विरुद्धमा आवाज उठाइरहेको अवस्था छ । सडकमा हिँडिरहेकाहरुका सन्दर्भमा के गर्ने ? भन्ने सन्दर्भमा देखिएको अकर्मण्यता तथा दुईवटा विवादास्प्रद र अलोकतान्त्रिक अध्यादेशहरु जारी गर्नेजस्ता कार्यहरुले सरकारको प्राथमिकता के हो ? भन्ने कुरामा ठूलो आशंका उब्जिएको छ ।

अनुकुलको काम गर्ने अवसरका रुपमा लकडाउन र यो संकटपूर्ण क्षणलाई लिने मानसिकता सरकारले पूर्ण रुपले त्याग्नु पर्दछ । यो बीचमा उठेका भ्रष्टाचारका घटनाहरुलाई कारवाहीको दायरामा ल्याउनुभन्दा संरक्षण गर्नु, मिडियामाथि प्रधानमन्त्री स्वयम्ले अनावश्यक लाञ्छना लगाउनुजस्ता प्रवृत्तिहरु यो बीचमा हाबी भए । यसले संकटका विरुद्ध एक भएर लड्ने प्रक्रियालाई कहीँ न कहीँ अस्तव्यस्त पार्दछ । अवस्थाको आँकलन गर्ने र तदनुकूलको परिवेश निर्माण गर्ने कुरालाई सामान्य अवस्थामा पनि महत्व दिनुपर्दछ । अझ यस्तो संकटपूर्ण अवस्थामा त सबैको भावना समेट्दै र सबैको सूझावलाई सम्बोधन गर्दै रणनीति बनाउनुपर्ने हो । अनि संकटको क्षणमा इमानदारीपूर्वक खट्ने सबैको मनोबल बढाउनका लागि प्रोत्साहन गर्नुपर्ने हो । चिकित्सकलाई ‘बढी बोलिस्’ भनेर कारवाही थाल्ने, सञ्चार क्षेत्रलाई ‘भ्रमपूर्ण र मिथ्या खबर मात्र दिइस्’ भनेर लाञ्छित गर्ने, पैदल हिड्न वाध्य सर्वसाधारणलाई ‘हिड्न पाउँदैनस्’ मात्र भन्ने, अरु कुनै रुपमा सम्बोधन नगर्ने गर्दा राष्ट्रिय एकता निर्माण गर्न गाह्रो हुन्छ ।

एक महिनाको लामो लकडाउनलाई धीरताका साथ स्वीकारेर सरकारले थालेको अभियानमा साथ दिने नागरिकको आवाज सरकारले सुन्नै पर्छ । अब कुनै पनि अलमल नगरेर परिपक्व योजनाका साथ यो लडाईलाई सफलतातर्फ लैजानु पर्छ । औषधि नबने पनि सामाजिक दूरी कायम गर्दा नियन्त्रण सम्भव हुँदोरहेछ भन्ने अनुभव आज विश्वलाई भएको छ । यो अनुभवका आधारमा नागरिकलाई समस्या पनि नपर्ने र दूरी पनि कायम हुने योजनाहरुको पहिचान गर्नु पर्दछ । सबैले सरकारलाई साथ दिने चाहना व्यक्त गरिरहँदा सरकारले त्यो साथ लिनसक्ने गरी अब आफूलाई अग्रसर गराउनु पर्दछ । अनावश्यक र विवादित निर्णय गर्ने तथा सत्ताको रसस्वादनमा लिप्त हुने चरित्र त्याग्नै पर्दछ । सरकारले अलमल हैन अग्रसरता देखाउन यतिबेला अत्यन्तै आवश्यक छ ।