कांग्रेस बनाउन सबै लागौँ : गिरी

कांग्रेस बनाउन सबै लागौँ : गिरीकांग्रेस तुलसीपुर नगर सम्मेलन
बालाराम खड्का
तुलसीपुर, २७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले संसद्मा आफूहरूले सशक्त प्रतिपक्षको भूमिका निभाइरहेको बताएका छन् । उनले आफूहरूले उठाएका माग सम्बोधन नहुँदासम्म संसद् अवरुद्ध हुने बताए तर लोकतान्त्रिक पार्टी कांग्रेस भएको भन्दै संसद् अवरुद्ध गर्ने आफूहरूको रहर नभएको बताए । केन्द्रीय सदस्य गिरीले नक्कली कुरा गर्नेका पछि नलाग्न आग्रह गर्दै बाहिर एउटा भित्र अर्को काम गर्नेप्रति सचेत हुनु पर्ने बताए । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका नगर कार्यसमितिको दोस्रो नगर सम्मेलनमा बोल्दै संस्थागत निर्णय आफूहरूले मान्नु पर्ने बताए ।

उनले गाउँ–गाउँ, टोल–टोलका समितिलाई बलियो बनाउनु पर्ने बताए । ‘हामी गाउँ–गाउँमा संगठन निर्माणमा लाग्नु पर्छ। कांग्रेस बलियो बनाउन सबै लाग्नु पर्छ’, गिरीले भने । उनले युवा, महिला, दलित, जनजाति तथा सबैलाई समेटेर एकजुट भई जानु पर्ने बताए । ‘सबैभन्दा ठुलो कुरा भनेको युनिटी हो, हामीबिच स्वार्थ होलान् तर व्यक्तिगत स्वार्थलाई त्यागेर सबै एकजुट भएर आगामी दिनमा पार्टीलाई बलियो बनाउनु पर्छ’, गिरीले भने ।

नगर सभापति सुरेश हमालको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य गेहेन्द्र गिरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गिरीले संगठनको चासो र चिन्ताभन्दा पनि गुट उपगुटको बहस हुने गरेको भन्दै संगठन बलियो बनाउने चिन्ता सबैमा हुनु पर्ने बताए । ‘हिजो पार्टीको गढ भएका स्थानमा चुनाव किन र के कारणले हारियो, संगठनलाई चलायमान कसरी गराउने भन्ने चिन्तन मनन् गर्नुहोस्, राजनीतिक बहस गर्नुहोस्’, उनले भने । उनले अन्य दलले गरेका गलत कार्यलाई चिर्नु पर्ने र आफूहरूले गरेका राम्रो काम जनता माझ लैजानु पर्ने बताए । उनले विकास निर्माणदेखि अन्य पार्टीले गरेका कामलाई जनता माझ लैजान र जनप्रतिनिधिले पार्टीका कार्यकर्तासँग समन्वय गरेर अगाडि बढ्नु पर्ने बताए ।

नेपाली कांग्रेस दाङका सभापति शङ्कर डाँगी, कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्डविक्रम न्यौपानेले कांग्रेसको आन्तरिक कलहलाई अन्त्य गर्दै सबैलाई एकढिक्का बनाएर आगामी दिनमा अगाडि बढ्नु पर्ने बताए । कार्यक्रममा पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, उपसभापति कमानसिंह भारती, निवर्तमान प्रदेश सभा सदस्य शङ्कर गिरी, नेपाली कांग्रेस दाङका सहसचिव राजु आचार्य, सुवोध डाँगी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, कांग्रेस नेता भरत केसी, महाधिवेशन प्रतिनिधि, टोपबहादुर केसी, कृष्णकुमार गिरी, जोगेन्द्र विश्वकर्मा, घनश्याम ढकाल, डा. नहकुल केसी, टीका घर्ती, ऋषिराज लहरे, देवा डाँगी, सुशीला सुवेदी, चित्रा गिरी, केशव आचार्यलगायले कांग्रेसको संगठन बलियो बनाउन सबै लाग्नु पर्ने बताए ।

कांग्रेस नेता श्याम रेग्मी, यमप्रसाद पाण्डे, गोविन्द मजगैयाँ, नदन शर्मा, यज्ञबहादुर बस्नेत, प्रदेश सभाका सभापतिहरू खिमबहादुर वली, देवेन्द्र रिजाल, अभियान बस्नेत, गाउँपालिका अध्यक्षहरू प्रमोद बस्नेत, शम्भु गिरी, कुलबहादुर केसी, शोभाकर सापकोटा, हिमबहादुर डाँगी, गाउँपालिका सभापतिहरू प्रकाश बस्नेत, झलक केसी, कांग्रेस नेता टेकबहादुर वली, तेजकहादुर कार्की, मुक्तिप्रसाद न्यौपाने, मेघराज सोनी, वडा सभापतिहरू डम्बर पुरी, लीलाधर वली, निर्मल आचार्य, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनकप्रसाद खराल, तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारी, एकराज आचार्य, गणेश चौधरी, नेविसंघका जिल्ला अध्यक्ष कुलराज पोखरेल, नेपाल प्रेस युनियन दाङका जिल्ला अध्यक्ष नारायण खड्कालगायतले आफ्नो धारणा राखेका थिए ।

उपसभापति बिनिल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सांगठनिक प्रतिवेदन बिमल पौडेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रितमकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न वडामा कांग्रेसमा लागेर योगदान पु¥याउनेहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा नगर सभापति सुरेश हमालले नगर सम्मेलन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।