बुढ्यौली उमेरको सहारा ‘माहुरी’

टेकबहादुर पुन
देउखुरी, २३ चैत । बुढ्यौली उमेर, ८६ वर्षीय उनलाई बाहिर–भित्र गर्न पनि धौ–धौ छ । दमको समस्याले बढी हिँड्यो कि स्वासप्रश्वास बढिहाल्छ । सरकारले दिने वृद्धभत्ता २÷४ हजार न हो ।

त्यसले मात्रै सबै आवश्यकता पूर्ति गर्न गाह्रो हुने नै भयो । जिउ पाल्न काम गर्नै पर्ने बाध्यता छ, उनलाई । सहारा बन्नु पर्ने छोराहरू अलग भएपछि बुढेसकालमा पनि उनलाई काममा मरिमेट्नु पर्ने बाध्यता आइ लाग्यो । दुई छोरा विवाह गरेर अलग भान्सा गर्न थाले । चार छोरी सबै घरगृहस्थीमा छन् । उनले ९७ वर्षीय आमालाई पनि स्याहारिरहेका छन् तर छोराहरू उनीसँग छैनन् । परिस्थितिले बृद्ध आमा र श्रिमतीको लागि बुढेसकालमा उनलाई थप जिम्मेवारी वहन गर्नु पर्ने अवस्था आइलाग्यो । फलतः उनको परिवारको सहारा ‘माहुरी’ बन्न पुगे । लमही–७ वन्गैँका शेरबहादुर बुढा बिहानैदेखि माहुरीको हेरचाहमा व्यस्त हुन्छन् । मह निकाल्ने, घार सफा गर्ने, माहुरीको आहरा राखिदिने गर्दैमा उनको दिनचर्या चल्छ । माहुरीलाई उनले आफ्नै घरको सदस्य सम्झिन्छन् ।

माहुरीले साह्रै मिहिनेत गरेर रस भर्छ है बुवा ? भन्ने प्रश्नमा उनले भने, ‘खासमा मान्छे पापी हुन्छ के तर माहुरीले मेरो परिवार पालेको छ, त्यसैले त माहुरी मेरो परिवारको एक अंश हो नि ।’ शेरबहादुरको परिवार दैनिक गुजारादेखि औषधोउपचार सबै माहुरीमै भर परेको छ । गह्रौँ काम गर्न नसक्ने शेरबहादुरले कम मिहिनेत लाग्ने माहुरी व्यवसायमा लागेको उनी बताउँछन् । ‘बुढो पनि भइयो, गह्रौँ काम गर्न सकिँदैन, दम बढिहाल्छ’, उनले भने, ‘आमा, श्रीमती अनि म– खान प¥यो, लाउन प¥यो, उपचार त छँदैछ, सबै माहुरीबाटै चलेको छ ।’

शेरबहादुरसँग अहिले ५० वटा माहुरीका घार छन् । त्यो घार पाँचवटाबाट बढेर ५० मा पुगेको हो । उनले सुरुमा पाँच वटा घारमा मात्रै माहुरी पालेका थिए । २०७४ मा माहुरी पाल्ने योजनामा रहेका शेरबहादुरलाई कृषि विकास कार्यालय घोराहीले पाँचवटा घार अनुदानमा दिएको थियो । त्यसबाट विस्तारै बढाउँदै ५० घार पु¥याएका छन् । शेरबहादुरले वार्षिक सरदरमा दुईपटक मह निकाल्छन् । उनले सरदरमै उत्पादन भएको पाँच सय किलो मह वार्षिक रूपमा दुई लाख ५० हजार बढी रुपैयाँमा बेच्दै आएको बताए । स्थानीय स्तरमा बेच्ने र बचेको मह घोराही डिलरलाई दिँदै आएकाले कहाँ बेच्ने भन्ने चिन्ता पनि उनलाई छैन । सुरुमा घार थोरै हुँदा उत्पादन पनि कम हुने र पारिवारिक खर्च चलाउन हम्मेहम्मे पर्ने गरेको थियो, शेरबहादुरलाई । ‘सुरुमा त खर्च धान्न गाह्रो भयो, घार पनि थोरै थिए, बिस्तारै घार बढाएँ’ शेरबहादुरले भने, ‘अब भने आम्दानी ठिकै छ, बर्सेनि केही रकम बचाउन पनि सकिएको छ ।’ आम्दानीको गत्तिलो स्रोत माहुरी बनेपछि शेरबहादुरको परिवारलाई अरूको भर पर्नु परेको छैन । यसरी नै माहुरी र मह शेरबहादुरको सहारा बनेको छन् ।