Goraksha

National Daily

मन्त्रालयद्वारा ८ महिने प्रगति सार्वजनिक

अमरराज आचार्य
दाङ, २१ चैत । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको ८ महिनामा गरेको कार्यबारे जानकारी गराएको छ । मन्त्रालयले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर ८ महिनामा भएका उपलब्धिबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा ८० वर्ष माथिका २० हजार ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा प्रदान गरिएको स्वास्थ्य मन्त्री राजु खनालले जानकारी दिए । स्वास्थ्कर्मीद्वारा क र ख वर्गका अपाङ्गता भएकाको घरमै गएर निःशुल्क उपचार कार्यक्रम गरिएको, समुदायमा पाँच वर्ष मुनिका कुपोषित बालबालिकाको खोजपड्ताल तथा व्यवस्थापन कार्यक्रम सुरुवात, सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीको निःशुल्क रगत परीक्षण गरी रक्तअल्पताको अवस्था पहिचान गरी रक्तअल्पता भएका किशोरीको उपचार तथा व्यवस्थापन गर्ने कार्य सुरु गरेको, प्रदेशका एक सय ९ वटा पालिकाका एक पालिकामा न्यूनतम दुई विद्यालयका दरले दुई सय ५० बढी विद्यालय कार्यक्रम सञ्चालन गरिएको मन्त्री खनालले जानकारी दिए ।
यस्तै सडक दुर्घटना न्यूनीकरण गर्न सडक सहायता कार्यक्रम सुरुआत, नेपालमा सबैभन्दा बढी मातृ मृत्युदर लुम्बिनी प्रदेशमा भएकाले यस प्रदेशमा मातृ मृत्युदर कम गर्न मातृ मृत्युदरको पहिचान, अध्ययन र अनुसन्धान गरी मातृ मृत्युदर उच्च भएका पालिकामा आमा सुरक्षा कार्यक्रम सुरुवात गरिएको, आयुर्वेद सेवाको विस्तारको लागि प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीलाई आयुर्वेद अनुसन्धान केन्द्र सञ्चालनको लागि कार्यक्रमको सुरुवात, लुम्बिनी आयुर्वेद चिकित्सालयलाई १५ श्ययामा स्तरोन्नति गरिएको लुम्विनी प्रदेश अस्पताललाई प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको बहुउपयोगी १२ तले भवन निर्माणको काम सुरु गरिएको, लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याव सेवा, अनलाइन नाम दर्ता र ल्याव रिपोर्टिङ सेवा, बर्थिङ सेवा स्थापना गरिएको मन्त्री खनालले बताए ।
विद्यालय नर्स कार्यक्रम अन्तर्गत १७ वटा विद्यालयमा सेवा सुरु गर्ने गरी विद्यालयको विवरण छनोटको प्रक्रियामा रहेको उनले बताए । भौतिक पूर्वाधार अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पतालको सुविधा सम्पन्न भवन निर्माण थालनी, प्युठान अस्पतालको भवन निर्माण, अर्घाखाँची अस्पताल भवन निर्माण, बाँकेमा टिभी अस्पताल भवन निर्माण, पृथ्वीचन्द्र अस्पताल भवन निर्माण, कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र भवन निर्माण, रुकुम पूर्वमा अस्पताल भवन निर्माण, एकीकृत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिक्षण अस्पताल बेलझुण्डीमा निर्माण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले तयारीको रूपमा प्रदेशभित्रका सबै अस्पतालको ओएनएम सर्भे गर्ने, प्रदेशका सबै अस्पतालको अनलाइन नेटवर्क गर्ने र यसले एक अस्पतालले रिफर गरेर पठाउने अस्पतालमा बेड भए नभएको तथा चिकित्सक भए नभएको जस्ता विषय सुनिश्चितता गर्न सहयोग पुग्ने मन्त्री खनालले बताए ।
यस्तै पाठेघरको परीक्षण तथा अपे्रशण शिविर सञ्चालन, प्रदेशमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालमा रहेको खाली दरबन्दीलाई व्यवस्थापन गरिने भएको छ । हाल अस्पतालमा एक सय पाँच जना विशेषज्ञ पद खाली रहेको छ । यसका लागि विज्ञापन प्रकाशित गरिएको समेत उनले बताए । पछिल्लो समय प्राविधिक जनशक्ति तथा विशेषज्ञ जनशक्ति पाउन समेत समस्या भएको उनको भनाइ रहेको छ । स्वास्थ्यकर्मीलाई थप सेवा सुविधा प्रदान गरेर भए पनि स्वास्थ्य संस्था तथा अस्पतालमा पठाउने योजना रहेको उनले बताए । धेरै अस्पताल निर्माण गरिए पनि जनशक्ति तथा सामग्रीको अभावमा सेवा प्रदान गर्न नसकेको उनको भनाइ रहेको छ । बजेटको समस्याका कारण पनि काम गर्न समेत समस्या भएको मन्त्री खनाल बताउँछन् ।