लुम्बिनीमा आँखाको नानी प्रत्यारोपण निःशुल्क
खेमराज रिजाल
तुलसीपुर, २१ चैत । राप्ती आँखा अस्पतालमा निःशुल्क आँखाको नानी प्रत्यारोपण सेवा शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग एवम् नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, तुलसीपुर, दाङको प्राविधिक सहयोगमा निःशुल्क आँखाको नानी प्रत्यारोपण कार्यक्रमको शुभारम्भ स्वास्थ्य मन्त्री राजु खनालले मङ्गलवार गरेका हुन् ।
योसँगै लुम्बिनी प्रदेशमा रहेका आँखाका बिरामीले अब निःशुल्क आँखाको नानी प्रत्यारोपण सेवा पाउने छन् । यो सेवा तुलसीपुरको रक्षाचौर आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जबाट उपलब्ध हुने छ । यसैगरी प्रदेश सरकारले यही प्रयोजनका लागि फत्ते आँखा अस्पताल नेपालगञ्ज र आँखा अस्पताल भैरहवालाई पनि बजेट अनुदान दिएको बताइएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा बजेट तथा कार्यक्रम ल्याएसँगै लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले आँखाको नानी निःशुल्क प्रत्यारोपणसम्बन्धी कार्यविधि २०८० निर्माण गरेको थियो । आएको बजेटले आगामी असार १५ गतेसम्म अस्पताल आउने सेवाग्राहीले यो सेवा पाउने छन् । यहाँका अस्पतालमा नानी प्रत्यारोपण विरलै हुने गरेको थियो । कारण नजिकै आँखा बैंक नहुनु र राजधानीमा रहेको तीलगङ्गा आँखा अस्पतालबाट आँखाको नानी प्लेनमार्फत् लिएर त्यसलाई संरक्षण गरी आवश्यक प्रक्रिया पु¥याएर मात्रै प्रत्यारोपण गर्दा अस्पताल व्यवस्थापनले प्रतिव्यक्ति कम्तिमा २४ हजार रुपैयाँ बढी शुल्क लिन बाध्य थियो तर प्रदेश सरकारले दिएको अनुदानले यी सबै खर्च व्यवस्थापन गरेर अस्पतालले निःशुल्क रूपमा आँखाको नानी प्रत्यारोपण गर्ने छन् ।
प्रदेशका स्थानीयको आँखाको नानी (कर्निया)मा चोटपटक लागि वा सङ्क्रमण भई दृष्टि गुमाउने अवस्था भएका र आँखाको नानी प्रत्यारोपण गरी पुनःस्थापना गर्न आवश्यक भएका बिरामीको आँखाको नानी प्रत्यारोपण सेवाको शुभारम्भ भएको स्वास्थ्यमन्त्री राजु खनालले बताए । पछिल्लो समयमा सङ्घात्मक संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गराए पनि व्यवहारमा स्वास्थ्य सेवा महँगो भएको भन्दै उनले लुम्बिनी प्रदेशले आँखा रोगको उपचार सहित मृगौला प्रत्यारोपण गरेका बिरामी, मुटुको भल्भ फेरेका बिरामी तथा क्यान्सर रोग प्रमाणित भएका बिरामीलाई जनही दुई लाख रुपैयाँ अनुदान स्वरूप सहयोग गर्ने निर्णय गरेको पनि बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले राप्ती आँखा अस्पतालले दिएको सेवाको उत्कृष्ट मूल्याङ्कन गर्दै अस्पतालले नेपालीलाई मात्र नभएर छिमेकी देशका भारतीय नागरिकका लागि पनि सस्तो र सहज रूपमा आँखा स्वास्थ्य सेवा प्रदान गरेकोमा आफू गौरवान्वित भएको बताए । राप्ती आँखा अस्पतालको सेवालाई थप विशिष्टीकृत गर्न आफूले पनि तीनै तहका सरकारसँग समन्वय र सहजीकरण गर्ने उनको अभिव्यक्ति थियो ।
‘आँखा उपचार सेवा मात्र होइन, आँखा जाँच गर्ने दक्ष जनशक्ति उत्पादनमा पनि तपार्इँहरूको चासो रहेको देखेको छु, यो अस्पताललाई एउटा नेत्र चिकित्सा एकेडमी बनाउन पनि पहल गर्न आवश्यक छ’, विशिष्ट अतिथि शर्माले भने, ‘त्यसमा यहाँका स्थानीय सरकारको पनि साथ र सहयोग आवश्यक छ । साथै उनले भौतिक विकाससँगै मानव संसाधनको विकासलाई समायोजन गरे मात्र विकासले पूर्णता पाउने भन्दै स्वस्थ नागरिक र स्वस्थ जनशक्ति निर्माण गरे मात्र मुलुकको चौतर्फी समृद्धि हुने विचार व्यक्त गरे ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले राप्ती आँखा अस्पताललाई स्थानीय सरकारले सक्दो सहयोग गर्दै आएको बताउँदै यो सहयोगलाई थप प्राथमिकताका साथ निरन्तरता दिने बताइन् । ‘यो अस्पताल तुलसीपुरको मात्र नभएर समग्र पश्चिम नेपालकै गहना हो, यसमा थप विशेषज्ञ सेवाका लागि स्थानीय सरकार मौन बस्ने छैन, बजेटमा होस् वा सल्लाह सुझावमा’, उपप्रमुख चौधरीले भनिन् । कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव जनार्दन पन्थी, राप्ती प्रादेशिक अस्पतालका निमित्त मेसु पदमराज अधिकारी, राप्ती आँखा अस्पतालका नानी प्रत्यारोपण विज्ञ डा सुरेश रसाइलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा भएको निःशुल्क नानी प्रत्यारोपण कार्यक्रममा स्वागत मन्तव्य उपसभापति रेशमबहादुर खड्काले गरेका थिए भने कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए । कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष गिरीले आँखा बाका रूपमा चिनिने डा रामप्रसाद पोख्रेलको अभियानको स्मरण गर्दै राप्ती आँखा अस्पतालले विशिष्टीकृत सेवा प्रवाहका सन्दर्भमा सदैव प्रयास, पहल र समन्वय गर्दै आएको बताए । यही कर्तव्यनिष्ठताका कारण नेपाल नेत्रज्योति संघले चेत २३ गते लमही आँखा अस्पताललाई उत्कृष्ट सेवाप्रदायकका रूपमा पुरस्कृत गर्न लागेको उनले बताए ।
आँखाको नानी प्रत्यारोपणका लागि प्रतिव्यक्ति २४ हजार तीन सय १० रुपैयाँ स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले अस्पताललाई उपलब्ध गराउने छ । असार १५ गतेसम्म सेवा प्रदायक अस्पतालले सो सेवा दिने छन् । नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गतका अस्पताल राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलवस्तु र अन्य लुम्बिनी प्रदेशका दुई वटा आँखा अस्पतालबाट निःशुल्क आँखाको नानी प्रत्यारोपण सेवा पाउने छन् । नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत सञ्चालित आँखा अस्पतालमा विगत दुई वर्षदेखि कर्निया रोग विशेषज्ञ डा. ज्योति सापकोटाले आँखाको नानी प्रत्यारोपण सेवा दिइरहेकी छन् ।