Goraksha

National Daily

प्रतिष्ठानबाट करोडौं रकम व्यवसायीले पाएनन्,प्रतिष्ठान भन्छ : बिमा रकम नआउँदा समस्या

अमरराज आचार्य
दाङ, २० चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उधारोमा स्वास्थ्य सामग्री दिएका औषधी व्यवसायीले करोडौँ रकम पाउन सकेका छैनन् । व्यवसायीले विगत दुई वर्षदेखि रकम पाउन नसकेको बताएका छन् । घोराही क्षेत्रका करिब २० जना व्यवसायीले रकम पाउन नसकेको गुनासो गरेका छन् । व्यवसायीले करिब २५ करोड रकम पाउन बाँकी रहेको रसायन तथा मेडिकल आपूर्ति संघ दाङका अध्यक्ष बालकुमार घर्ती मगरले जानकारी दिए ।
प्रतिष्ठानलाई औषधी, प्रयोगशालाको सामग्री, एक्स–रे सामग्री, सर्जिकल, केमिकल, दैनिक आवश्यक पर्ने सामग्री, डायलाइसिस सामग्रीलगायतका स्वास्थ्य सामग्री दिएका व्यवसायीले रकम पाउन नसकेको मगरले जानकारी दिए । पटक–पटक रकम माग गरे पनि पाउन नसकेको उनको भनाइ रहेको छ । लामो समयदेखि रकम पाउन नसकेपछि रकम माग गर्दै रसायन तथा मेडिकल आपूर्ति संघ दाङ र नेपाल औषधी थोक व्यवसायी संघ दाङले गत फागुन १३ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्ञापनपत्र बुझाएका थिए तर पनि मागको कुनै सुनुवाइ नभएको व्यवसायी बताउँछन् । माग सुनाइ नभएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे व्यवसायीहरूले रणनीति बनाउन थालेको बताउँछन् ।
उनीहरूले ज्ञापनपत्रमा प्रतिष्ठानलाई आवश्यक पर्ने औषधी तथा औषधीजन्य सामग्री, ल्याव केमिकल, एक्स–रे सामग्रीलगायत स्वास्थ्योपचारका लागि आवश्यक पर्ने अन्य विभिन्न सामग्री उपलब्ध गराएवापतको बिल अनुसारको रकम भुक्तानी समयमै नभएको विषयप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । देशमा उत्पन्न व्यावसायिक आर्थिक सङ्कटले स्वास्थ्य व्यवसायी पनि अछुतो रहन नसकेको विद्यमान परिस्थितिमा यसरी लामो समयसम्म भुक्तानी हुन नसक्दा व्यवसायी मारमा परी व्यवसाय नै सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको उनीहरूले बताएका छन् ।
बिल अनुसारको भुक्तानी यथाशीघ्र गरिदिन समेत उनीहरूले ज्ञापनपत्रमार्फत् माग गरेका छन् । ‘समयमै भुक्तानी हुन नसके हामी आन्दोलित हुँदै स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने समेत जानकारी गराउँछौँ’, ज्ञापन पत्रमा भनिएको छ । लामो समयदेखि पाउनु पर्ने रकम नपाउँदा व्यवसायी धेरै मारमा परेको अध्यक्ष मगर बताउँछन् । ‘प्रतिष्ठानबाट रकम पाइएको छैन अब कसरी व्यवसाय सञ्चालन गर्ने भन्ने समस्या भएको छ’, अध्यक्ष मगरले भने । रकम नपाएपछि व्यवसायीले बैंकको ब्याज, घरभाडा तिर्न नसकेको उनी बताउँछन् । ‘सामग्री खरिद गरेवापतको रकम उद्योग तथा डिलरलाई नपठाउँदा सामग्री मगाउन समेत सकिएको छैन’, उनले भने । खरिद निमावली २०६३ अनुसार बिल पेस गरेको ३५ दिनभित्र रकम भुक्तान गर्नु पर्ने व्यवस्था रहेको उनी बताउँछन् तर व्यवसायीले दुई वर्षसम्म पनि रकम पाउन नसकेको उनको भनाइ रहेको छ । यस प्रकारको अवस्थाले व्यवसायबाटै पलायन हुने अवस्था आएको अध्यक्ष मगर बताउँछन् । ‘हामीसँग न सामग्री छ न त पैसा नै आएको छ, कसरी व्यवसायमा टिक्ने ?’, उनले भने ।
बिमा बोर्डबाट रकम नआउँदा समस्या भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा बिमा वोर्डबाट चालु आर्थिक वर्षमा रकम नआएको प्रतिष्ठान स्रोतले जनाएको छ । लामो समयदेखि रकम आउन नसक्दा प्रतिष्ठान सञ्चालनमा समेत समस्या भएको बताइको छ । सरकारले सञ्चालन गरेको कार्यक्रममा प्रष्ठिानले पनि सहयोग गरेर बिमाको कार्यक्रम सञ्चालन गरे पनि समयमा रकम नआउँदा समस्या भएको प्रतिष्ठान स्रोत बताउँछ । कर्मचारीलाई समेत कसरी तलब खुवाउने भन्ने समस्या हुन थालेको प्रतिष्ठान स्रोत बताउँछ । प्रतिष्ठानमा बिमा बोर्डबाट साढे १० करोड रकम आउन बाँकी रहेको प्रतिष्ठानले जनाएको छ ।
रकमका लागि पटक–पटक ताकेता गर्दा समेत रकम आउन नसकेको प्रतिष्ठानका अधिकारी बताउँछन् । ‘हामी दैनिकजसो रकमका लागि पहल गरिराखेका छौँ तर पनि रकम आउन सकेको छैन’, एक अधिकारीले भने । समयमा बिमाको रकम आए प्रतिष्ठान सञ्चालनमा सहज हुने ती अधिकारीले बताए । नागरिकको सहजताका लागि सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो तर बिमावाफतको रकम समयमा अस्पतालमा नपठाउँदा भने समस्या उत्पन्न हुने र सेवा समेत रोक्ने परिस्थितिच सिर्जना भएको छ ।