Goraksha

National Daily

वडाका सिफारिस साइबरबाट !

देवेन्द्र बस्नेत
दाङ, २० चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १२ का एक स्थानीय केही दिन अघि श्रीमती तथा छोरासँगको नाता प्रमाणित प्रतिलिपीका लागि वडा कार्यालय पुगे । वडा कार्यालयका कर्मचारीले उनलाई सोधे, ‘अङ्ग्रेजीमा कि नेपालीमा ?’ वडा कार्यालयबाट नेपाली तथा अङ्ग्रेजी माध्यमबाट नागरिकले सिफारिस पाउने प्रावधान छ ।

अङ्ग्रेजी माध्यमबाटै नाता प्रमाणितको प्रतिलिपी माग गरेका ती सेवाग्राहीलाई वडा कार्यालयले भन्यो, ‘साइबरमा जानुस् ।’ ती कर्मचारीका अनुसार यो वडा कार्यालयमा अङ्ग्रेजी माध्यमबाट कागजात बनाउन सक्ने दक्ष जनशक्ति रहेनछ । फलतः वडाले अङ्ग्रेजी माध्यमबाट बनाउनु पर्ने हरेक कागजातका लागि साइबरमै जान भन्दो रहेछ । सोही अनुसार उनलाई पनि अङ्ग्रेजी सिफारिस लिन वडा कार्यालयबाट साइबरमा पुग्नु प¥यो । उनी मात्र होइनन्, यो वडामा अङ्ग्रेजी सिफारिस लिन आउने हरेक सेवाग्राहीले वडाबाट नभई साइबरबाट सिफारिस पाउँछन् । ‘हाम्रो वडा कार्यालयमा अङ्ग्रेजी माध्यमबाट सिफारिस वा कुनै पनि कागजातका लागि आउने हरेक सेवाग्राहीलाई हामीले वडाबाटै यो सुविधा दिन सकिरहेका छैनौँ’, यो वडाका वडाध्यक्ष द्रोण बहकरीले भने, ‘हामीले साइबरमा जान भनेर सल्लाह दिन्छौँ ।’

वडाध्यक्ष बहकरीका अनुसार वडा कार्यालयले वडाको लेटरप्याड सेवाग्राहीलाई दिन्छ अनि सेवाग्राही साइबरमा पुगेर अङ्ग्रेजीमा सिफारिसको बेहारो लेख्न लगाउँछन् । साइबरले तयार पारिदिने सिफारिसपत्र बोकेर सेवाग्राही पुनः वडा कार्यालय पुग्छन् र वडाध्यक्षले उक्त सिफारिसलाई प्रमाणित गरिदिन्छन् । ‘साइबरबाट सिफारिस लेखेर सेवाग्राहीले ल्याएपछि वडाले त्यसलाई प्रमाणित गरिदिन्छ’, वडाध्यक्ष बहकरीले भने, ‘के गर्नु वडाबासीलाई साइबरमा पठाउनु पर्ने हाम्रो बाध्यता नै हो ।’ यो वडाबाट अङ्ग्रेजी माध्यमको सिफारिस लेख्न पायक पर्ने थलो भनेकै नारायणपुर वा घोराही बजार हो । सुरुमा सिफारिसका लागि वडा कार्यालयमा पुग्ने सेवाग्राहीलाई त्यहाँबाट सिफारिस लेख्न लगाउनका लागि घोराही वा नारायणपुर पुग्नै पर्छ । ‘सिफारिस लेख्न लगाउनकै लागि घोराही या नारायणपुर पुग्नु पर्दो रहेछ’, सेवाग्राही भन्छन्, ‘एक दिनको पूरै समय त यताउता गर्दैमा सकिन्छ नि ।’

घोराही उपमहानगरपालिका वडा नं. ११ ले पनि अङ्ग्रेजी माध्यमबाट लेखिएको कुनै पनि सिफारिसका लागि साइबरमै पठाउँदै आएको छ । यो वडामा पनि अङ्ग्रेजी माध्यमबाट सिफारिस लेखेर दिन सक्ने दक्ष जनशक्तिको व्यवस्थापन हुन सकेको छैन । फलतः वडाले कार्यालयमा पुग्ने सेवाग्राहीलाई अङ्ग्रेजी सिफारिस लेख्नका लागि साइबर पठाउन करै लाग्छ । साईबरले सिफारिस तयार पारिदिएपछि मात्रै सेवाग्राहीले यो सुविधा पाउँछन् । ‘वडामा यो खालको जनशक्ति नहुँदा वडाबासीलाई सास्ती भइरहेको छ’, यो वडाका वडाध्यक्ष कूलबहादुर लामिछानेले भने, ‘यो हाम्रो बाध्यता हो, नागरिकलाई सास्ती दिन मन नभए पनि बाध्यताबस यसो गरिरहनु परेको छ ।’

वडा तहबाटै अङ्ग्रेजी माध्यमबाट सिफारिस दिने व्यवस्था नहुँदा नागरिकले स्थानीय तहबाटै अनावश्यक सास्ती बेहोर्नु परिरहेको छ । विकट वडाका नागरिकलाई त अझ बढी दुःख छ । घोराही उपमहानगरपालिका वडा नं. १९ सबैभन्दा विकट वडा हो । यहाँको वडा कार्यालयले पनि अङ्ग्रेजी सिफरिस आफैँले लेखेर दिन सकिरहेको छैन । फलतः यसले पनि सेवाग्राहीलाई साइबरमै पठाउँछ तर यो वडामा कतै पनि साइबर छैनन् । सिफारिसका लागि साइबर खोज्दै स्थानीयलाई घोराहीसम्मै पुग्नु पर्ने बाध्यता छ । सिफारिस लेखाउनकै लागि अटोमा आउनु पर्ने बाध्यता रहेका यहाँका स्थानीयको सिफारिस लेख्न लगाउनकै लागि थप पाँच सय रुपैयाँ अटो भाडामा खर्च हुन्छ । ‘हाम्रो वडामा अङ्ग्रेजी माध्यमबाट सिफारिस दिन सकिरहेका छैनौँ’, यो वडाका वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले भने, ‘सिफारिस लेख्नका लागि घोराहीमा रहेका साइबरमा सेवाग्राही पुग्नु पर्ने बाध्यता छ, आउँदा–जाँदा मात्रै झण्डै पाँच सय रुपैयाँ त भाडा नै खर्च हुन्छ ।’ वडाध्यक्ष रायमाझीले कतिपय वडाबासीको कागजात त आफू घोराहीमै पुगेर प्रमाणित गरिदिने गरेको समेत बताए ।

सिफारिसका लागि वडा कार्यालयमा पुग्ने सेवाग्राहीलाई अङ्ग्रेजी माध्यमका लागि फेरि साइबर धाउनुको सास्ती त छँदैछ, त्यसमा पनि स्थानीय तहकै कारण स्थानीयलाई आर्थिक भार समेत थोपरिएको छ । सेवाग्राहीले सिफारिसको दस्तुर वडा कार्यालयमा बुझाउँछन् तर अङ्ग्रेजीमा सिफारिस लेख्नका लागि साइबर पुग्ने सेवाग्राहीले सिफारिस लेखिदिएवापत साइबरलाई थप रकम तिर्नु परिरहेको छ । घोराही १४ का स्थानीय कूलराज पोख्रेलले भने, ‘हामीले वडा कार्यालयमा सिफारिस दस्तुर बुझाइसकेपछि त त्यही रकममै सिफारिस पाउनु पर्ने हो नि तर साइबरमा पुगेर थप रकम बुझाउनु पर्छ, यसले त स्थानीयलाई दोहोरो आर्थिक भार परिरहेको छ ।’ उनले केही दिन अघि मात्रै अङ्ग्रेजी माध्यमको सिफारिस लेख्न लगाएवापत थप एक सय ५० रुपैयाँ साइबरलाई तिर्नु परेको बताए ।

घोराही उपमहानगरका सबै वडामा रहेको यो समस्या उपमहानगरले समाधान भने गरेको छैन । उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले अङ्ग्रेजी माध्यमको सिफारिसका लागि धेरै समस्या रहेको स्वीकार गरे । ‘अङ्ग्रेजी माध्यमबाट पाउनु पर्ने सिफारिसका लागि नागरिकले सास्ती बेहोर्नु परिरहेको छ’, प्रमुख चौधरीले भने, ‘यो समस्यालाई कसरी समाधान गर्ने भनेर योजना बनाइरहेका छौँ ।’ प्रमुख चौधरी स्वयम् यो समस्या आफूले पनि भोग्नु परेको बताए । अमेरिकामा रहेकी छोरीका लागि अङ्ग्रेजी माध्यमको कागजात तयार गर्नु पर्ने थियो ।

‘यो असुविधाले मै आफैँ समस्यामा परेँ’, उनले भने, ‘मैले पनि एउटा सिफारिस बनाउनु पर्ने थियो, सिफारिसमा गलत लेखिदिए छन् ।’ उनले अब हरेक वडामा अङ्ग्रेजी माध्यमबाट दिइने हरेक सिफारिसको फम्र्याट तयार पारेर दिने र सोही आधारमा वडाबाटै नागरिकले सेवा पाउने वातावरण निर्माण गरिने बताए । ‘वडाबाट हुने सबै खाले सिफारिसको अङ्ग्रेजी फम्र्याट वडालाई दिइने र सोही फम्र्याटका आधारमा सेवाग्राहीलाई वडाबाटै सेवा प्रदान गर्ने गरी काम थाल्छौँ’, उपमहानगर प्रमुख चौधरीले भने । मूलतः विदेशमा अध्ययन गर्न जाने नागरिकलाई अङ्ग्रेजी माध्यमबाट लेखिएको सिफारिस आवश्यक पर्ने गरेको छ । यस्ता अङ्ग्रेजी सिफारिस वडाले नभइ साइबरले तयार पारिदिने गरेका छन् ।