Goraksha

National Daily

नेपाल–भारत धार्मिक सिद्धरत्ननाथ–देवीपाटन महायात्राको भव्य तयारी, चैत २३ गतेदेखि यात्रा सुरु हुने

घोराही, १९ चैत । नेपाल–भारत धार्मिक एवम ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा–२०८० को अन्तिम तयारीमा पुगेको छ । प्रत्येक वर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिरसम्म हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक महायात्रालाई भव्य बनाउँन दुवै देशमा तयारीलाई तीव्र बनाइएको हो ।

नेपालको तर्फबाट गोरक्षपात्र देवता सिद्धरत्ननाथ मन्दिर चौघेरा र भारतको तर्फबाट माँ पाटेश्वरी मन्दिर तुलसीपुरले महायात्रालाई भब्य बनाउन लागि परेका छन् । यस वर्ष यहि चैत २३ गतेदेखि महायात्रा सुरु हुन थालेको छ । वि.सं. ८०९ देखि प्रत्येक बर्ष हुँदै आएको नियमित धार्मिक यात्रालाई यस बर्षदेखि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको विशेष पहलमा प्रदेशको गौरवको यात्राका रुपमा अघि बढाइएको गोरक्षपात्र देवता सिद्धरत्ननाथ मठ महायात्रा मुल आयोजक समितिका अध्यक्ष सुरतनाथ योगीले जानकारी दिनुभयो ।

मुल आयोजक समितिका अध्यक्ष योगीका अनुसार यही चैत २३ गते गोरक्षपात्र देवता सिद्धरत्नाथ मन्दिर चौघेराबाट देवता लिएर शुरु हुने महायात्राको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । अध्यक्ष योगीले भन्नुभयो,‘प्राचिन समयदेखि चल्दै आएको यात्रा हो । समय परिस्थति अनुसार सानो तथा ठुलो रुपमा यात्रा गरियो । तर यस वर्ष यात्रालाई महायात्राको रुपमा अघि बढाएका छौं,तयारी अन्तिम चरणमा पुगेको छ ।’ उहाँका अनुसार धार्मिक महायात्राले नेपाल–भारतको सम्बन्धलाई थप उचाइ दिनेछ । उहाँका अनुसार करिव १ सय ७० किलोमिटर यात्रा १३ दिनसम्म चल्ने छ । महायात्रालाई यस बर्षदेखि विशेष बनाउनेदेखि गरि करिव विभिन्न समुदायको अग्रजसँगै नेतृत्यलगायतका सहभागीता गराइने भएको छ ।

सिद्धरत्ननाथ–देवीपाटन धार्मिक यात्रा मात्रै नभएर दुबै देशको सम्बन्धलाई बलियो बनाउने सांस्कृतिक यात्रा भएको भारतस्थीत माँ पाटेश्वरी मन्दिरका मठाधिश मिथलेशनाथ योगीले बताउनुभएको छ । मन्दिरका महाधिश योगीले भन्नुभयो,‘देवीपाटन यात्रा एउटा धार्मिक यात्रा मात्रै होइन । यो नेपाल र भारत दुबै देशको सम्बन्धलाई बलियो बनाउँने धार्मिक एवं साँस्कृतिक छ । यो यात्रालाई भब्य र वैभव बनाउन सबै तयारी पुरा भएको छ । शोभायात्रालाई भब्य स्वागत गर्नेछौं ।’ मन्दिर क्षेत्रमा रंगरोगनसँगै नेपालबाट जाने टोलीको स्वागतका तथा आवास,भोजनलगायतको तयारी भइरहेको जानकारी दिनुभएको थियो ।

यहि चैत्र २३ गते साँझ शुक्रबार दाङ घोराहीको सिद्धरत्ननाथ मठ चौघेराबाट रथ यात्रासहित महायात्रा शुरु हुनेछ । चौघेराबाट शुरु भएको यात्रा घोराही उपमहानगरपालिकाअन्तर्गत पर्ने चौपट्टामा केही समय पुजा आराधना र विश्रामपछि लमही नगरपालिका–६ देउपुर गोरक्ष धाममा पाँँच दिनको बसाइ गर्नेछ । त्यसैगरी चैत २८ गते देउपुरबाट कोइलाबासका लागि यात्रा निस्कनेछ । साविकको पुराना विश्रामस्थल जमुनीवासमा एकछिनको विश्रामपछि साँझ कोइलाबासमा एक रात विश्राम हुनेछ । चैत्र २९ बिहान ४ बजे कोइलाबासबाट भारतको जनकपुरका लागि यात्रा निस्कनेछ । २९ र ३० गते जनकपुरमा विश्राम हुनेछ ।

वैशाख १ गते जनकपुरबाट देवीपाटनका लागि गोरक्ष पात्रदेवताको रथ यात्रासहितको महायात्रा मा पाटेश्वरी मन्दिर प्रस्थान हुनेछ । नयाँ वर्ष २०८१ वैशाख १ गते बिहान ९ बजेसम्म देवीपाटन पुगिने कार्यतालिका रहेको महायात्रा मुल आयोजक समितिका अध्यक्ष योगीले जानकारी दिनुभएको छ । उहाँका अनुसार वैशाख ६ गतेसम्म देवीपाटनको बसाइपछि ६ गतेको रात्रिकालीन समयमा देवीपाटनबाट पुन रत्ननाथ मन्दिर चौघेराका लागि फिर्ती हुने कार्यक्रम रहेको छ ।

महायात्रामा करिव ४ सय बढीको सहभागीता हुने तयारी गरिएको बताउनुभयो । महायात्राको अन्तिम तयारीका बारेमा दुवै मन्दिरका टोलीले भारतको तुलसीपुरमा संयुक्त पत्रकार सम्मेलनमा प्रचारप्रसार समिति संयोजक लीला शाहले महायात्राका बारेमा जानकारी दिनुभएको थियो । त्यसैगरी उठेका विषयवस्तुमाथि भोलानाथ योगीले जानकारी गराउनुभएको थियो भने पत्रकार सम्मेलनको सहजीकरण पत्रकार केपी घिमिरे गर्नुभएको थियो ।